कोरोना कहरमै गुठीचौरमा जुस उद्योगको शिलान्यास, किसान खुसी

सागर परियार 

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकामा जुस उद्योगको शिलान्यास गरिएको छ । जुम्लामा पाइने स्याउ, आरु नासपती लगायतका फलफूलबाट जुस उत्पादन गर्ने लक्ष्यका साथ दुर्गम गुठिचौर गाउँपालिका ३ स्थित निधार डाँडामा बुधवार जुस उद्योगको शिलान्यास गरिएको हो ।
कोरोना कहरका बीच बुधवार गुठिचौर गाउँपालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले जुस उद्योगको शिलान्यास गर्नुभएको हो ।  ग्रामीण क्षेत्रमा उत्पादन हुने फलफूलबाट उत्पादन हुने जुसको बजारीकरण गर्ने लक्ष्यका साथ गाउँमै जुस उद्योग निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
उहाँले असार अन्तिम सातादेखि सञ्चालनमा आउने गरी उद्योगको निर्माण हुने र कोरोना कहरले रोजगारी गुमाएका स्थानीय युवाले निर्माण कार्यमा सहभागी भएर रोजीरोटी समेत जुटाउने बताउनुभयो  । साथै निर्माण अवधिभर कामदारलाई  स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न लगाइने छ ।
करिब १५ लाखको लगानीमा निर्माण हुने उद्योगमा ३० प्रतिशत स्थानीय सहकारीको लगानी हुने छ । भने बाँकी ७० प्रतिशत बजेट कृषि विकास कार्यालयले लगानी गर्ने अध्यक्ष भण्डारीले उल्लेख गर्नुभयो ।
अध्यक्ष भण्डारीले उद्योगबाट उत्पादित सबै वस्तुको बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । गाउँमै सडक पुगिसकेको र नेपालका विभिन्न बजारमा माग अनुसार विक्री गर्न आवश्यकता अनुसार पालिकाले समन्वय गर्ने भएको छ ।
कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले समूह सरकारी साझेदारी मोडेल अन्तर्गत जुस उद्योगको निर्माण भइरहेको बताउनुभयो ।
बाहिरी बजारमा जुम्ली अर्ग्यानिक फलफूलको जुसको माग बढिरहेकोले उत्पादित बस्तुको बजारीकरणमा समस्या नहुने समेत कृषि विज्ञहरूको भनाई छ । गाउँमै जुस उद्योग निर्माण हुने र स्याउ, आरु उद्योगीले गाउँमै खरिद गरी हातमै पैसा दिने कुराले गुठिचौरका किसान खुसी भएका छन् ।
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास कार्यालय जुम्लाको चालु आलु आर्थिक वर्षको स्वीकृत समूह सरकारी साझेदारी कार्यक्रम अन्तरगत १५ लाख लगानीमा गुठिचौरमा जुस उद्योग बन्न लागेको हो ।
यसअघि, जुम्ला सदरमुकाम आरके डिस्टिलरी तथा फलफूल जुस उद्योग सञ्चालनमा छ ।

प्रकाशित मिति : २०७८ बैशाख १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस