राष्ट्रियसभा उपचुनावको लागि आज हेटौँडामा मनोनयन दर्ता हुँदै

मकवानपुर । बागमती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ ।
हेटौँडामा खोलिएको निर्वाचन आयोगको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले प्रवेश गरेका रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उत्त पद रिक्त छ । उत्त रिक्त पदमा माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको माधव नेपाल पक्षले डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका छन् । एमालेले भने रामबहादुर थापालाई नै उम्मेदवार बनाउने भने पनि टुङ्गो लगाएको छैन ।
एमाले बाहेकका दल र माधव नेपाल पक्ष एकैतिर हुँदा आफू पराजित हुन सक्ने भन्दै थापाले उम्मेदवारी दिन रुचि देखाउनुभएको छैन । तर ओली पक्षले भने माधव नेपाल पक्षको मत पनि आउने भन्दै थापालाई नै फकाउने कोसिस गरिरहेको छ । बागमतीमा हुने राष्ट्रियसभा उपचुनावमा एक सय १० जना प्रदेशसभा सदस्य र पालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरेर तीन सय ४८ मतदाता रहेका छन् । प्रदेशसभाका एक जना सदस्यको ४८ र पालिकाका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस