तातोपानीका २६ सय विद्यार्थीलाई स्वअध्ययन पुस्तिका


जुम्ला ः कोरोना माहामारीका कारण विद्यालय वन्द भए । दुई शैक्षिक सत्र पठनपाठन प्रभावित भयो । कोरोना संक्रमणले विद्यालय वन्द हुदा सवै भन्दा बढी विद्यार्थीको भविश्व अन्यौल भयो । पहिलो र दोस्रो लहरको कोरोना संक्रमणले धरासयी भएको बेलामा बालकालिकालाई आफैले अध्ययन गर्न सकिने स्वअध्ययन पुस्तिका वितरण गरिएको छ ।
जुम्लाको तातोपानी गाउँपालिका भित्रका २५ वटा विद्यालयका २ हजार ६०२ जना बालबालिकालाई स्वअध्ययन पुस्तिका वितरण गरिएको हो ।
कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकालाई स्वअध्ययन पुस्तिका सामग्री र अभिभावकलाई सन्देश मुलक सामग्री वितरण गरिएको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जेआइसीए) का कार्यक्रम अधिकृत दीपराज रावतले बताए । उनले भने तातोपानीका बालबालिकालाई गणित विषयमा विद्यार्थीको सिकाइ क्षमतालाई सुदृढ गर्नका लागि यो कार्यक्रम लागु गरिएको हो ।


‘विद्यार्थीले विद्यालयमा मात्र नभइ घरमा समेत अभिभावकको सहयोगमा पढ्न सक्ने अवस्थाको पुस्तिका छ उनले भने, ‘घरमा विद्यार्थीको गणित सिकाइलाई बढुवा दिने उद्देश्यले कक्षा १–३ मा अध्ययनरत विद्यार्थीलाई गणित विषयको विकासका लागि स्वअध्ययन सामग्री परियोजनामार्फत वितरण गरिएको हो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगीले स्वअध्ययन पुस्तिकाले विद्यार्थीको पठन संस्कृतिको विकास हुने अपेक्षा गरिएको बताए । उनले भने यो पुस्तिका अभिभावक, शिक्षक र विद्यार्थीको हितमा रहेको छ ।
तातोपानीका सबै सामुदायिक विद्यालयमा कक्षा १–३ सम्म अध्ययनरत विद्यार्थीलाई उक्त सामाग्री वितरण गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने बताए । ‘यो सामग्रीले गणित विषयको शैक्षिक सुधारमा महत्वपूर्ण भूमिका खेल्न सक्ने छ’ न्यौपानेले भने ।
शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मक्करबहादुर भण्डारीले बालबालिकाको बिकासका लागि अभिभावकले घरमा सिकाई सहजिकरण गरी गणित विषयको शैक्षिक उपलब्धिमुलक बनाउन आग्रह गरे । उनले भने, ‘शिक्षकको सहयोगका साथै बालबालिकालाई घरमै सिक्नका लागि आफ्नो व्यस्तता बाबजुद पनि घरमा अभिभावकहरूले सहजिकरण गर्नुपर्छ’ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले वितरण गरेको सामग्री आपतकालिन मात्रा नभएर सबै नियमित अवस्थामा समेत प्रयोग गर्न सकिने अपेक्षा राखिएको छ । यस परियोजनाको समग्र उद्देश्य प्रारम्भिक कक्षा एकदेखि तीनसम्मका विद्यार्थीको गणित विषयको आधारभूत दक्षता सुधार ल्याउनु रहेको परियोजनाको दाबी छ ।

परियोजनाले गणित विषयको पाठ्यक्रम तथा पाठ्य सामग्री तयारीमा पाठ्यक्रम विकास केन्द्र तथा शिक्षक पेशागत विकास, प्रधानाध्यपक नेतृत्व क्षमता विकास तालिम, स्थानीय शिक्षा योजना तयारी तथा गणित शिक्षाको प्रवर्द्धनका लागि स्थानीय निकायको क्षमता अभिवृद्धी कार्यक्रमहरु सञ्चालनमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई आवश्यक प्राविधिक सहयोग प्रदान गर्दै आइरहेको बताएको छ ।
जापान अन्तराष्ट्रिय विकास नियोग (जाईका) सहयोगमा नेपाल सरका, शिक्षा, विज्ञान र प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यन्वयनमा कार्यक्रम सञ्चालन गरिएको हो ।
यो कार्यक्रमका मुख्य लक्षित वर्ग प्रधानध्यापक, शिक्षक र विद्यार्थी हुन् । आधारभूत तह कक्षा १–३ सम्म गणितीय शिक्षा सुधार गर्नको लागि परीक्षण कार्यक्रम सञ्चालन भएका स्थानीय तह महोत्तरीको पिपरा गाउँपालिका, भक्तपुरको चाँगु नारायण नगरपालिका, तनहुको बन्दिपुर गाउँपालिका र जुम्लाको तातोपानी गाउँपालिका हुन् । यो परियोजना जनवरी २०१९ देखि जनवरी २०२४ पाँच वर्षसम्म सञ्चालन हुने जनाएको छ ।

 

 

प्रकाशित मिति : २०७८ असोज १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस