जुम्लामा पनि मनाईयो ६६ औँ प्रहरी दिवस


जुम्ला ः ६६ औँ प्रहरी दिवसको अवसरमा विभिन्न आन्दोलनमा ज्यान गुमाउने अमर प्रहरी र उनका परिवारलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले ६६ औँ प्रहरी दिवसको अवसरमा सम्मान गरेको हो । प्रहरीले संगठनमा बलिदानी गर्नेका छोराछोरी दुई जनालाई छात्रबृत्ति उपलब्ध गराएको छ ।
उनिहरुलाई पाँच हजारका दरले सहयोग गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए । दिवसको अवसरमा अमर प्रहरी स्वर्गिय प्रहरी हवल्दार मोहनसिंह बुढाको छोरी ममता बुढा, स्वर्गिय जयबहादुर भण्डारीको सन्तती केशवबहादुर भण्डारीलाई छात्रबृत्ति प्रदान गरिएको हो ।
दिवसको अवसरमा अमर प्रहरीका परिवारलाई, संगठनमा अनुशासित भएर काम गर्ने प्रहरी र भुतपूर्व प्रहरीलाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाई, शशस्त्र प्रहरी बरिष्ठ प्रहरी उपरीक्षक गगन श्रेष्ठ सहितले सम्मान गरेको प्रहरीले जनाएको छ । । यसैगरी प्रहरीलाई जग्गा दान गर्ने व्यक्ति पनि सम्मानित भएका छन् ।
प्रहरी दिवसको अवसरमा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाई सहितले अमर प्रहरीको स्मारकमा फुलमाल गुच्छाले सम्मान गरेर सम्झना गरेका छन् । दिवसका प्रमुख जिल्ला अधिकारी प्रसाईले प्रहरी संघीयतासँगै झन बलियो र जनता प्रति उत्तरदायी हुदै आएको बताईन । उनले भनिन् प्रहरीको कामले जनतामा थप शान्ति सुरक्षाको ग्यारेन्टी तथा प्रेरणादायी भएका छन् ।
प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पठाउनु भएको शुभकामना पढेर सुनाउदै प्रहरी अमर प्रहरी र भुतपूर्व प्रहरीको योगदानले उभिन पाएकोमा खुशी व्यक्त गर्दै अमर प्रहरीका दुई जना छोरा छोरीलाई उत्कृष्ठ अंकको आधारमा छात्रबृत्ति शुरुवात गरिएको जानकारी दिए । यस्तै उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पनि सम्मान गरिएको छ ।

 

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार
प्रतिक्रिया दिनुहोस