प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी कात्तिक २३ देखि २६ गतेसम्म भारत प्रस्थान गरेका हुन् । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि सोमबार नै विदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ । उनलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ । नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा पहिलो पटक भारतीय सेनाको मनार्थ महारथीको दर्जाबाट विभूषित गरेको अभिलेख रहेको जनाएको छ ।

नयाँ दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति शर्माले समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग समेत भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस