अतिक्रमण हटाउने अभियान जारीःसडक मिचेर २४ वटा संरचना निर्माण,हटाउन अल्टीमेटम

सागर परियार जुम्ला ।


कर्णाली राजमार्गको जुम्ला खण्डको जिरो प्वाइन्ट देखि बसपार्क क्षेत्रमा मात्रै सडक अतिक्रमण गरेर करिब दुई दर्जन संरचना निर्माण गरेको भेटिएको छ । सडक डिभिजनले चिन्ह लगाएर छोडेको जग्गाा समेत अतिक्रमण गरी स्थानीयले घर टहरा,पर्खाल सेफ्टी टंयाकी लगायतका संरचना निर्माण गरेको भेटिएको हो ।
नापी कार्यालय र सडक डिभिजनले सडकको क्षेत्र नाप्दा घर टहरा,पर्खाल सेफ्टी टंयाकी गरी २४ वटा संरचनाले सडक मिचेर निर्माण गरेको भेटिएको सडक डिभिजन जुम्लाका सव–ईन्जिनियर विरेन्द्र रावलले बताउनुभयो ।

उहाँका अनुसार अतिक्रमण हटाउन अभियान अन्तरर्गत गरिएको नापी नक्साबाट २ वटा पक्की घर,४ वटा जस्तावाला घर,४ वटा पक्की सेफ्टी ट्यांकी,८ वटा तारजाली एंगल सहितका पर्खाल,१ वटा ढुंगाको पर्खाल र ५ वटा टहरा गरी २४ वटा संरचना सडक अतिक्रमण गरेर निर्माण भएका छन् ।
सडक अतिक्रमण गरी निर्माण भएका २ वटा पक्की घर र ४ वटा सेफ्टी ट्यांकीलाई आफ्नै तरिकाले हटाउन १५ दिने अल्टीमेटम दिइएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पक्की घर मालिक र सेफ्टी मालिकलाई अतिक्रमण हटाउन पत्र समेत दिएका छौ । पत्र लिन नमान्नेको घरमै सूचना टाँस गरेका छौ । १५ दिन नहटाए,सम्पर्कमा नआएपछि सडक ऐन २०३१ अनुसार भत्काइने छ । भने,घरको आँगन,निर्माण सामाग्री भत्काउने र हटाउन काम जारी छ ।”

त्यस्तै जस्तावाला घर हटाउन ७ दिनको समय दिइने र सो अवधिमा नहटाए डोजर प्रयोग गरि हटाईने भएको छ । भने, तारजाली पर्खाल,ढुंगाको पर्खाल र टहरालाई शुक्रबार डोजर प्रयोग गरेर हटाईने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

साथै,बजार क्षेत्र पछि सडक अतिक्रमण गरेर तातोपानी २ जर्मीमा निर्माण गरिएका करिब साढे दुई दर्जन टहरा हटाइने भएको छ । सडक मिचेर घर टहरा निर्माण गरेका जर्मीका २८ जनालाई चाडै हटाउन समेत पत्राचार गरिएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

यता बसपार्क क्षेत्रमा सडकको क्षेत्र नाप्ने क्रममै अमिनलाई एकजना घरधनीले ज्यान मार्ने धम्की दिएका छन् । सडक अतिक्रमण हटाउन जुटेका कर्मचारी माथि दिएको धम्कीप्रति नागरिक समाज,प्रहरी प्रशासन,सडक डिभिजनले खेद प्रकट गरेको छ । नापी नक्साप्रति चित्त नबुझे कानुनी हुँदाहुदै पनि अतिmक्रमण पनि गर्ने,कर्मचारीलाई उल्टै धम्काएर घरधनीले देखाएको कुरुर व्यवहार प्रति सरोकारवालाको ध्यानकर्षण भएको छ । बढ्दै गएको अतिक्रमण हटाउन तथा सडकको क्षेत्र नापिरहेका अमिनलाई एक घरधनीले ज्यान मार्ने धम्की दिएका हुन् ।

व्यापारी प्रयोजनका लागि सडक प्रयोग गर्ने तर अतिक्रमण हटाउन खटिएका कर्मचारीलाइ धम्की दिनु स्वभनिय नभएको नागरिक अगुवा राजबहादुर महतको भनाई छ ।कसैका धम्की,अबरोधले अतिक्रमण हटाउने अभियान नरोकिने र सहमती वा बल प्रयोग गरेर भएपनि अतिक्रमण हटाएरै छाड्ने नागरिक अगुवा महतको अडान छ ।

अतिक्रमण हटाउने बहस चलेको दशकपछि बल्ल सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाई,सुरक्षा निकाय,नागरिक अगुवा राजबहादुर महत लगायतको टोली अतिक्रमण हटाउन दैनिक आक्रामक भएर सडकमा उत्रिएपछि आम जुम्ली नागरिक खुसी भएका छन् ।

 

प्रकाशित मिति : २०७८ पुष २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस