जुम्ला ः जुम्लामा भिरबाट लडेर एक किशोरीको मृत्यू भएको छ । तातोपानी गाउँपालिका – ७ बाँरागाउँकी १८ बर्षीया सविता रावतको जडीबुटि कोर्न गएको बेलामा भिरबाट लडेर मृत्यू भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार उनको आइतबार बिहान मृत्यू भएको छ । अस्पतालका नर्सिङ निर्देशक सविना थापाका अनुसार आइतवार विहान किशोरी सविताको उपचारको क्रममा आइसियूमा मृत्यू भएको हो । उनलाई भिरबाट लडेर वेहोस अवस्थामा शुक्रवार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याएको थियो । होस नआएर मृत्यू भएको उनले जानकारी दिइन् ।
स्थानीय धनसिंह रावतका अनुसार शुक्रवार वनमा जडिबुटि कोर्न गएको समयमा भिरबाट लडेर रावत बेहोस भएकी थिईन् । उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लिएर उपचार आईसियूमा उपचार भएपनि होस नआएर मृत्यू भएको थियो । परिवार स्रोतका अनुसार किशोरी रावत चन्दननाथ माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थिइन् ।
अस्पताल प्रहरीका अनुसार आफन्तले मृतक किशोरीको अन्तिम सस्कार गरिएको बताएको छ । दुर्गममा भिरपाखामा घाँस, दाउरा र कृषि सहित विभिन्न काममा गएर धेरै महिलाको ज्यान जाने यस्ता घटना हुने गर्दछन् ।



