
जुम्ला । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध दुव्र्यसनी विरुद्ध प्रहरी अभियान थालेको छ । सडकको विकास संगै लागु औषध दुव्र्यसनीको प्रयोग बढ्दै गएपछि प्रहरीले सचेतना अभियान थालेको हो ।
विभिन्न माध्यमबाट लागु औषध ओपार पोसार हुन थालेपछि कुलतमा फस्ने यूवाहरु दैनिक बढ्दै गएका छन् । अभिभावकको निगरानीको कमीले यूवायुवती कुलतमा फस्दै गएकोले जिल्लाका विद्यालयमा प्रहरीले सचेतना अभियान थालेको डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।
उहाँले भन्नुभयो,“पछिल्लो समय प्रविधिको दुरुपयोगले पनि बालबिवाह,लागु औषध दुव्र्यसनीको प्रयोग बढेको छ । गएको साता लागु औषध सहित २ जनालाई पक्राउ समेत गरिएको थियो । २० वर्षमुनीका बालबालिका कुलतमा बढी फस्ने भएकोले लागु औषध दुव्र्यसनी विरुद्ध विद्यालयस्तरमा सचेतना कार्यक्रम शुरु गरेका छौ ।”
यसैबीच शुक्रबार जिल्ला प्रहरी कार्यालय,सरकारी वकिल कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा कर्णाली प्राविधिक शिक्षालय जुम्लामा लागु औषध तथा दुुव्र्यसनी,महिला हिंसा,साइबर अपराध विरुद्ध सचेतना तथा मुलुकी अपराध संहित २०७४, का कानुनी प्रावधान,बाल बिवाह,महिला हिंसा विरुद्ध कसुरका विषयमा अभिमुखीकरण गरिएको छ ।
प्रहरीको अगुवाईमा जिल्लाका सम्पुर्ण विद्यालयामा सेचता कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी यौवनकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अपराध नियन्त्रणमा सचेत नागरिकको साथ आबश्यक रहेको छ ।
प्रमुख जिल्ला अधिकारी वियजाकुमारी प्रसाईले जिल्लाको शान्ती सुरक्षा तथा अपराध नियन्त्रणका लागि सुरक्षा सयंन्त्र मजबुद रहेको बताउनुभयो । प्रविधिको दुरुपयोग,सडक सञ्जालको विकासले लागु औषध दुव्र्यसनी बढेकोले नाकामा कडाई देखि प्रहरी निगरानीलाई बढाईने उहाँको भनाइ छ ।



