
जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाले टुक्रे योजनाको अन्त्य गर्दै बहुवर्षिय योजना निर्माणमा प्रथामिकतामा दिएको बताउनु भएको छ । मन्त्री पदवहाली भएपश्चात गृह जिल्ला जुम्ला पुगेका मन्त्री रोकायाले पत्रकार सम्मेलनमा बोल्दै बहुवर्षिय योजना निर्माण बिना कर्णालीको पूर्वाधार विकासले गती नलिने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“एक निर्वाचन क्षेत्र एक बहुवर्षिय योजनाको प्रावधान छ । तर पहुँच अभावका कारण कर्णालीका सबै निर्वाचन क्षेत्रमा बहुवर्षिय योजना निर्माण हुन सकेनन् । अहिले म भौतिक मन्त्रीका रुपमा आइसकेपछि कर्णालीका १० वटै जिल्लामा बहुवर्षिय योजना निर्माणको प्रक्रिया थालेको छु ।”
यसअघि जुम्ला दानसाँघु,चोत्रा सडक बहुवर्षि आयोजना मात्रै भएकोमा हाल जुम्लामा थप दुईवटा बहुवर्षिय योजना निर्माण हुन थालेको मन्त्री रोकायाले उल्लेख गर्नुभयो । जसमा जुम्ला एयरपोर्ट हुदै उर्थुु पटमारा न्याउरीघाट बुलबुले पर्यटकिय सडक र जलजला थालाचौर गोठेलबाडा बुडु कालाकाँडा सडक बहुवर्षिय योजनाका रुपमा टेण्डर भइ निर्माण तथा स्तरबृद्धि अघि बढेका छन् ।
त्यस्तै,सल्यान,दैलेख,सुर्खेत र जाजरकोटमा भौतिक मन्त्रालयबाट विभिन्न बहुवर्षि योजना कार्यान्वयनमा रहेको र अन्य जिल्लाका बहुवर्षिय योजना प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेशको कुल पँुजिगत बजेट २१ अर्बको ५० प्रतिशत बजेट भौतिक तथा पूर्वाधार मन्त्रालयमा रहेकोले पूर्वाधार विकासका लागि बजेटको अभाव नरहेको मन्त्री रोकायाको भनाई छ ।
ढिलासुस्ती गर्ने निर्माण व्यवसायी,ठग्ने उपभोक्ताकै कारण पूर्वाधार विकास सुस्त भएको भन्दै आफ्नो पालामा देखिनेखालका केहि मात्र बहुवर्षियोजनाको टुंगो लगाउने मन्त्री रोकायाको प्रतिबद्धता छ ।
पूर्वाधार विकासमा पनि दुर्गमलाई प्रथामिकता दिने लक्ष्य अनुसार हुम्ला र डोल्पामा सडक तथा पुल निर्माण प्रक्रियालाई विशेष प्रथामिकता दिइएको छ । हाल सञ्चालन भईरहेका योजनाहरुको अनुगमन नियमित भईरहेकोले गुणस्तरमा कुनै तलमाथि भए निर्माण व्यवसायी सिधै कारबाहीको भागेदार हुनुपर्ने मन्त्री रोकायाको चेतावनी छ ।
साथै नाग्म–गमगडी सडक खण्ड चाडै कालोपत्रे हुने भन्दै निर्माण तथा स्तरबृद्धिबा लागि १ अर्ब २० करोड विनियोजन भएको जानकारी दिए । साथै त्रिबेणी टोप्ला हुदै जाजरकोट जोड्ने सडक निर्माणलाई पनि बहुवर्षिय योजनाका रुपमा अघि बढाइने भएको छ । भने पत्रकार महासंघ जुम्लाको भवनको तला थप्ने सहयोग गर्ने आश्वासन दिनुभयो ।
बहुवर्षिय योजनालाई पहिलो प्रथामिकता दिएर अधुरा योजना निर्माणका साथै एकिकृत बस्ती निर्माण जनता आवास निर्माण लगायतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन कार्यविधि निर्माण भईरहेको मन्त्रीका प्रमुख स्वकीय सचिव अमर रोकायाले बताउनुभयो ।
पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले महासंघको भवन निर्माणका आबश्यक रकम सहितको फाइल हस्तान्तरण गर्नु भएको छ । भने मन्त्री रोकायाकै पालामा भवन निर्माण हुने अध्यक्ष शाहीको अपेक्षा छ ।

जुम्ला रारा जाड्ने पर्यटकिय मार्ग अनुगमन
एयरपोर्ट उर्थु पटमारा खाली न्याउरीघाट हुदै बुलबुले सडक अर्थात जुम्ला हुदै मुगु राराताल जोड्ने पर्यटकिय मागको अनुगमन गरिएको छ । कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाको नेतृत्वमा उक्त सडकको चार खण्डनै अनुगमन गरिएको हो ।
एयरपोर्टदेखि उर्थु,उर्थुदेखि पटमारा,पटमारादेखि न्याउरीघाट,न्याउरीघाटदेखि बुलबुले सम्म चार फेजमा निर्माण भईरहेको सडकको हाल सम्मको अबस्था सन्तोषजन रहेको रहेको मन्त्री रोकायाले उल्लेख गरे ।
पर्यटकिय गन्तव्य रारा ताल जाने सबैभन्दा छोटो मार्ग भएकोले पनि पर्यटक हरुको सहजताका लागि जुम्ला रारा जोड्ने सडकको बाँकी सबै काम छिटै सम्पन्न गर्न मन्त्री रोकायाले निर्देशन दिए ।
जुम्लाका तीनवटै बहुवर्षिय योजना पूर्वाधार विकास कार्यालयले निर्माण गरिरहेको छ । आफ्नो दक्षता र क्षामता अनुसार विकास निर्माणलाई चुस्त रुपमा अगाडी बढाउने प्रमुख पूर्वाधार विकास कार्यालयका प्रमुख हरि बहादुर ओलीको प्रतिबद्धता छ ।

जुम्ला रारा जोड्ने सडक मात्र नभइ कार्यालयलाई जिम्मेवारी प्राप्त सबै योजनाहरुलाई पुर्णता दिन कार्यालयका सबै जनशक्ति निरन्तर खटेर लाग्ने प्रमुख ओलीको भनाई छ ।
प्रमुख ओलीले भन्नुभयो,“भौगोलिक हिसाबले विकट कर्णालीमा टुक्रे योजनाकै कारण पूर्वाधार विकासले फड्को मार्न सकेको छैन् ।
तीनै तहका सरकारबाट पूर्वाधार विकासमा वर्षेनि अर्बौ रकम छुटाएपनि टुक्रे योजनामा लगानी गर्दा प्रतिफल नदेखिएको हो । भौगोलिक रुपमले विकट कर्णालीमा अन्तरजिल्ला,अन्तरपालिका र अन्तरप्रदेश जोड्ने बहुवर्षिय सडक योजना आबश्यक हो । जुम्लामा अन्तरजिल्ला जोड्ने सडक र पुलहरु निर्माण गर्दैछौ ।”



