जुम्ला ः आगामी मंसिर ४ गने सम्पन्न हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जुम्लाबाट नेकपा एमालेका रतननाथ योगी, माओवादी केन्द्रका नरेश भण्डारी र राष्ट्यि प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाही भिड्ने संभावना देखिएको छ ।
नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य रतननाथ योगी प्रतिनिधि सभाको निर्वाचनका लागि एकल उम्मेदवार हुन् । एमाले पार्टी जिल्ला कमिटी जुम्लाले पनि उनको नाम मात्रै सिफारिस गरी प्रदेश कमिटीमा पठाएको छ । प्रतिनिधि सभाका लागि जुम्लाबाट तिला गाउँपालिका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य योगीले स्वात टिकट पाउने देखिन्छ । स्थानीय तहको पहिलो निर्वाचनमा तिला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका नेता योगीले स्थानीय स्तरका जनतामा राम्रो काम गर्ने नेताको रुपमा परिचित छन् ।
राप्रपा प्रवक्ता समेत रहेका नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा एकल उम्मेदवार हुन् । उनलाई पनि पार्टीले स्वात टिकट दिने अवस्था छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको निर्वाचन घोषणा गरेदेखि उनले आफ्नो चुनावी गतिविधि अगाडी बढाई सकेका छन् । जुम्लाका ८ वटै स्थानीय तहका विभिन्न गाउँमा चुनावी कार्यक्रम सञ्चालन गर्दै आएका नेता शाहीले ३१ हजार बढी मत ल्याएर निर्वाचन जित्ने दावी गरेका छन् । युवा जमातले रुचाएका नेता शाहीले सामाजिक तथा सुशासनको क्षेत्रमा निकै राम्रो भुमिका निर्वाह गर्दै आएका छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी प्रभावशाली नेता मानिन्छन् । काँग्रेस, माओवादी, समाजबादी र जसपाको गठवन्धनबाट संघको निर्वाचनमा नेता भण्डारीले नै टिकट पाउने संभावना देखिन्छ । नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभा निर्वाचनका लागि नेता भण्डारी, डाक्टर कलबहादुर रोकाया, गोमा कुवँर र मनऋषि धितालको नाम सिफारिस गरेको छ ।
गठवन्धनको केन्द्रीय निर्णय आउन बाँकी नै छ । तर पनि काँग्रेस र समाजवादी प्रदेश तिर जाने देखिन्छ । नेपाली काँग्रेस जुम्लाका प्रभावशाली नेता तथा काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले प्रदेशमै चुनाव लड्न खोजेका छन् । नेपाली काँग्रेस पार्टी जिल्ला कमिटीले पनि सभापति शाहीलाई प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।
०७० सालको संविधान सभाको निर्वाचन जितेर सांसद भईसकेका सभापति शाहीले ०७९ सालको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा प्रदेश तिर झरेका छन् । गठवन्धनबाट चुनाव जितेर कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री हुने संभावना देखिपछि सभापति शाही प्रदेश तिर झर्नुको बुझाई छ ।
यसले गर्दा पनि गठवन्धनबाट नेता भण्डारीले प्रतिनिधि सभा सदस्यको टिकट पाउने र चुनाव जित्ने माओवादीका नेता कार्यकर्ताले आँकलन गर्न थालेका छन् । पार्टीबाट अरु उम्मेदवारको सिफारिस भएपनि नेता भण्डारी जनताको माँझमा सफल नेताको रुपमा परिचित र शिर्ष नेताहरुको टचमा भएका कारणले पनि उनैले (भण्डारी) टिकट पाउने र एमालेका रतननाथ योगी, माओवादीका नरेश भण्डारी र राप्रपाका ज्ञानेन्द्र शाही भिड्ने संभावना देखिएको छ ।
संघको निर्वाचनमा नरेश, रतननाथ र ज्ञानेन्द्र भिड्ने संभावना
प्रकाशित मिति : २०७९ भाद्र २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस