गौमतबाडाका आगलागी पिडितलाई पालिकाद्धारा तत्कालिन राहत वितरण

जुम्ला ।  जुम्ला तातोपानी गाउँपालिका ४ स्थित गौतमबाडा निवासी कालि बहादुर खत्री र जीत बहादुर खत्रीको घरमा आगलागी भएको छ । खाना पकाउने ग्याँस लिक भएर आईतबार विहान साढे ५ बजे आगाली हुँदा काली बहादुर जीत बहादुरका ९ जना परिवार बस्दै आएको १८ कोठे घर जलेर खरानी भएको छ । आगलागी भएको पाँच घण्टापछि नियन्त्रणमा आएको थियो ।

पिडित काली बहादुर खत्रीका अनुसार घरमा भएको नगद १३ लाख सहित पाँच तोला सुन लत्ता कपडा, अन्नपात भाँडा कुडा सबै जलेर खरानी भएको छ । भने, पिडित जीत बहादुर खत्रीका अनुसार नगद ६ लाख सहित घरको अन्नपात,लत्ता कपडा सबै नष्ट भएको छ । एउटै घरमा छुटिएर बसेका जीत बहादुर काली बहादुरको ९ जना परिवार अहिले विचल्लीमा परेको छ । आगलागीले दुबैजनाको गरी झण्डै ६० लाख भन्दा बढीको क्षति भएको छ ।

नगद १९ लाख सहित घरको सबै अन्नपात,गरहना,भाँडाकुडा, लत्ताकपडा सबै गरी ६० लाख भन्दा बढीको क्षती भएको पिडित जीत बहादुर खत्रीले बताउनुभयो । जीत बहादुरका अनुसार अहिले आफन्तको घरमा बसेका छौ । रातभरी ग्यास लिक भएको र आईतबार विहान खाना पकाउने क्रममा सिधै आगलागी भएको प्रहरीको भनाई छ ।

पालिकाले दियो तत्कालिन राहत
आगलागी पिडित जीत बहादुर खत्री र काली बहादुर खत्रीलाई तत्कालीन आश्रयका लागि राहत उपलब्ध गराएको छ । साँझको लागि एक गाँस खाने र ओड्ने ओछयाउने नभएपछि तत्कालका लागि ७० हजार बराबरको लत्ता कपडा भाडा कुडा सहितको खाद्यन्न राहत उपलब्ध गराइएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताउनुभयो ।

उहाँले भन्नुभयो,“पालिकाले तत्काल पिडितको घाउँमा मलम लगाएको हो । घर निर्माणका लागि पनि संघ र प्रदेशमा पहल गर्ने छ । नियम अनुसार साढे ४ लाख संघ प्रदेशले दिने र पालिकाले ५० हजार घर निर्माणका लागि दिन मिल्छ । त्यसको पहल गर्छौ ।”

राहतमा दुईघरका लागि चार बोरा चामल,१० किलो दाल ४ पोका तेल २ थान कुकर,२ थान,डेक्ची कराई,२ थान पाल,८ थान कम्बल,१२÷१२ थाल गिलास,२ वटा बाकस,४÷४ वटा डस्ना र कम्बल लगायत करिब ७० हजारको तत्कालीन राहत दिईएको छ । आईतबार पालिका अध्यक्ष चौलागाई सहित ६ नम्बर वडाध्यक्ष विशाल खड्काको उपस्थितीमा पिडितलाई राहत उपलब्ध गराइएको हो ।

साँझ खाने र ओड्ने ओछयाउने समेत थिएन् । पिडित जीत बहादुर भन्नुभयो,“पालिकाले तत्काल राहत दिएको निकै खुसी छौ । कम्तीमा एक महिना पुग्ने खाद्यन्न पाएका छौ । स्थानीय सरकारको अनुभुति भयो । तर घर निर्माणको लागि पनि सहयोग हुने अपेक्षा छ ।”

प्रकाशित मिति : २०७९ भाद्र २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस