कठ्याङरिदो जाडोबाट जोगाउन न्यानो कपडा


जुम्ला निकै चिसो छ । यहाँको तापक्रम माइनस् ७÷८ डिग्री पुग्दछ । अझै हिँउ पर्ने सकेको छैन । पानी छुन सकिदैन । पानी जमेर बरफ बनेका छ । मंसिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुन्छ । यहाँका हुने खाने र सुकिलामकिला जाडो छल्न सुर्खेत, नेपालगज्ज र काठमाडौँ जाने गर्दछन् । तर हुदा खाने विपन्न वर्गका नागरिक जाडोमा कठ्याङरिए पनि बस्न बाध्य छन् ।
जाडोका कारण यहाँका विद्यालय पनि बन्द हुन्छन् । घाम नलागुन्जेल घर बाहिर कोही पनि निस्कदैनन् । यहाँ हिउँ सिजनमा निकै चिसो हुने भएकाले सरसफाइ गर्न निकै असहज हुन्छ । हप्ता दिनमा नुहाउने र लुगाफाटो सरसफाइ गर्नु पर्ने हो । तर चिसोका कारण यहाँका नागरिकले महिना दिनको अन्तरमा शारीरिक सरसफाइ गर्ने गरेको पाइन्छ ।
विपन्न, जेष्ठनागरिक, एकल महिला र अपांगता भएका व्यक्तिहरुको जाडो छल्नका लागि तातोपानी गाउँपालिका – ६ वडापालिकाले न्यायो कपडा वितरण गरेको छ । वडाध्यक्ष विशाल खड्काको पहलमा वडामा रहेका विपन्न जेष्ठनागरिक, एकल महिलालाई चिसोबाट बचाउन न्यानो कपडा वितरण गरिएको हो ।
६८ वर्ष माथिका ४३ जनालाई न्यानो ज्याकेट, ६० वर्ष माथिका ६७ जनालाई न्यानो गलबन्दी र टोपी र २४ जना एकल महिला न्यानो स्वीटर गरी १३४ जनालाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष खड्काले बताए । उनले भने लक्षित वर्गलाई सम्मान कार्यक्रम अन्र्तगत न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालय खुलेपछि बालबालिकालाई खेलकुद र शुद्ध पानी पिउन प्रयोग गर्न मिल्ने फिल्टर र अपाङ्गता भएका व्यक्तिलाई पनि न्यानो कपडा वितरण गरिने छ ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले चिसो समयमा वडाले न्यानो कपडा वितरण गर्नु महत्वपूर्ण कार्यक्रम भएको बताए । उनले भने आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि यो कार्यक्रमले केही सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति : २०७९ पुष ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस