हिउँपन्छाए लगत्तै जुम्लामा हवाई सेवा संचालन


जुम्ला ।  जुम्लामा दुईदिन देखि अबरुद्ध हवाई सेवा सञ्चालनमा आएको छ । हिमपातका कारण मंगलबारदेखि अबरुद्ध हवाईसेवा विहिवार विहानदेखि संचालनमा आएको हो । नेपाली सेना,शसस्त्र प्रहरी र नेपाल प्रहरीले धावन मार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा संचालन भएको जुम्ला विमानस्थलका निमित्त प्रमुख राजिव श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार धावनमार्गको हिउँ पन्छाए लगत्तै तारा र समिट यएरले उडान गरेका छन् ।

मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको थियो । जसका कारण नेपालगन्ज र जुम्ला विमानस्थलमा यात्रु अलपत्र अबस्थामा थिए ।
विहिबार रातीदेखिनै मौसममा सुधार आएपछि विहान ७ बजेनै नेपाली सेना लगायत सुरक्षा निकाय पुगेर धावन मार्गको हिउँ पन्छाइएको नन्दा वक्स गण जुम्लाका गणपति रविन थापाले बताउनुभयो ।

हिमाली जिल्ला जुम्लाको वैकल्पीक भरपर्दो हवाई सेवा ठप्प हुँदा सास्ती खेपेका नागरिकको समस्यालाई मध्यनजर गर्दै तत्काल विमानस्थल खुलाइएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताउनुभयो ।

यता लगातारको हिमपात र वर्षाले आएको पहिरोले अबरुद्ध कर्णाली राजमार्ग पनि संचालनमा आएको सडक डिभिजन जुम्लाले जनाएको छ । पहिरोले तिला गुफा नगरपालिका ४ राँचुलीमा राजमार्ग अबरुद्ध भएको थियो । कार्यालयको जनशक्ति र मेसिन प्रयोग गरी हिजो रातीनै सडक संचालन भईसकेको थियो ।

प्रकाशित मिति : २०७९ माघ १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस