एसईईमा जुम्लाका २८ सय विद्यार्थी सहभागी हुदैँ

फाईल तस्बिर

जुम्ला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाका २८ सयबढी विद्यार्थी सहभागी हुने भएका छन् । जुम्लाका आठ स्थानीयतहका २ हजार ८ सय ७७ जना विद्यार्थी आगामी चैत १७ गतेबाट हुने एसईईमा सहभागी हुने भएका हुन् ।

परीक्षाका लागि आवश्यक हाजिरी पुराएका नियमित तर्फ २ हजार ६ सय ९९, ग्रेड वृद्धिमा ४९ र प्राविधिक धारका १ सय २९ जनागरी २८ सयबढी विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाई जुम्लाका प्रमुख मक्कर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत दिन विद्यार्थी अनिवार्य हाजिरी हुनुपर्ने प्रावधान छ । शिक्षा विकास तथा समन्वय एकाइको तथ्यांक अनुसार जुम्लामा मावि स्तरका ५० वटा सामुदायिक रहेका छन् ।

परीक्षा सञ्चालनका लागि गत वर्ष जुम्लामा १६ वटा परिक्षा केन्द्र तोकिएकोमा यस वर्ष भने एउटा थपेर १७ वटा परिक्षा केन्द्र तोक्ने तयारी भईरहेको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैत १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । पहिलो दिन १७ गते अनिवार्य अग्रेजी रहेको छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस