विधिवत पुजागरी जुम्ला प्रशासन आफ्नै नयाँ सुविधायुक्त भवनमा

जुम्ला । द्धन्द्धकालपछि निर्माण भएकै पुरानो भवनबाट जसोतसो सेवा प्रवाह गर्दै आएपनि वर्षौपछि जिल्ला प्रशासन कार्यालय जुम्ला आफ्नै सुविधायुक्त नयाँ भवनमा सरेको छ । विधिवत पुजा गरी भर्खर निर्माण सम्पन्न सुविधायुक्त भवनमा बुधबारदेखि जुम्ला प्रशासन सरेको हो ।

बुधवारदेखि कार्यालय विधिवत रुपमा सरेपनि नयाँ भवनबाट औपचारिक सेवा केहि दिनमा प्रवाह गरिने छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले भन्नुभयो,“दैनिक सयौ नागरिकको भिड हुने प्रशासन कार्यालय अब नयाँ भवनबाट संचालन हुने छ । अब नागरिकले छिटो छरितो र सहज रुपमा सेवा पाउने छन् । भने विभिन्न फाँटका अभिलेखहरु सुरक्षित व्यवस्थित ढंगले राख्न सहयोग पुग्ने छ ।”

दैनिक सयौ नागरिकको भिड हुने जिल्ला प्रशासन कार्यालय जुम्ला दशकौदेखि साँघुरो भवनबाट सेवा दिन बाध्य थियो । साँघुरा कोठाले विभिन्न फाँटका अभिलेख राख्न पनि उस्तै समस्या थियो । भने,दैनिक सभा बैठक,छलफल भईरहने प्रशासनमा एक बैठक कक्ष (सभाहल) नहुँदा झन कठिनाई हुन्थ्यो ।

नयाँ भवनमा फराकिलो फाँटका कोठादेखि सभाहल समेत रहेको छ । सबै तलमा मैत्रीपुर्ण शौचालय छन् । केहि दिनमा व्यवस्थापन गर्न लाग्ने भएको छ । २०७४ सालबाट निर्माण सुरु भएको दुई तले २४ कोठे प्रशासनको सुविधायुक्त भवन सम्झौता भन्दा करिब १० महिना अघिनै निर्माण कम्पन्नीले काम सकेर बुधबार हस्तान्तरण गरिएको हो ।

संघन सहरी विकास तथा भवन निर्माण आयोजना जुम्लाका प्रमुख प्रदिप कुमार सिंहले लागत अनुमान ९ करोड १६ लाख भएपनि सम्झौता रकम ७ करोड ६९ लाख १६ हजारमा सुविधायुक्त भवन निर्माण भएको बताउनुभयो ।

उहाँका अनुसार ‘च्याङमिल एडी जेभी’ निर्माण कम्पन्नीले सम्झौता भन्दा १० महिना अघिनै गत भदौ ३० गते निर्माण सम्पन्न गरेको हो । आयोजनाको सरकारी भवन निर्माण कार्यक्रम अन्तरर्गत प्रशासनको भवन बनेको हो ।

२०७४ साउन १० गते सम्झौता भई ०८० असारमसान्तमा सकिनुपर्ने सम्झौता भएको थियो । यदपी कोरोना कहरका बीचपनि निर्माणकार्य गतीदिँदा निर्धारित समय अगाबै काम सम्पन्न भएको ठेकेदार भिम थापाले बताउनुभयो । समयै अगाबै सकेर हस्तान्तरण गर्दा खुसी भएको उहाँको भनाई छ । नयाँ सुविधायुक्त भवनमा जिल्ला प्रशासन सरेसंगै छिटो छरितो र सहज रुपमा सेवा पाउने जुम्ली नागरिकको आशा छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस