तातोपानीका नमुना महिला पुरुष र पातारासीका खेलाडी गायक सम्मानित


जुम्ला । तातोपानी गाउँपालिकाले नमुना महिला पुरुषलाई सम्मान गरेको छ । ११३ औँ अन्तराष्ट्यि महिला दिवसका अबसरमा ६ जना महिला र पुरुषलाई सम्मान गरेको हो । घरेलु हिंसा नगर्ने,जाड रक्सी नखाने,छुईप्रथा नमान्ने,लैगिक विभेद नगर्ने पुरुष र महिलालाई दिवसका अबसरमा सम्मानित गरिएको तातोपानीका महिला शाखा प्रमुख शान्तिम महत सेजुवालले बताईन् ।

उनका अनुसार वडा नं. १ का हरि बहादुर कठायत,वडा नं. २ का सन्त बुढा,वडा नंं. ३ का धर्मकृष्ण उपाध्यायलाई ढाका टोपी सहित पछ्यौरा ओडाएर सम्मान गरिएको छ । साथै वडा नं. ४ का नमुना एकल महिला जयकली सार्की,वडा नंं. ५ का रामकृष्ण चौलागाई र वडा नंं. ६ का देवीचन्द्र आर्चायलाई सम्मानित गरिएको महिला शाखा प्रमुख सेजुवालको भनाई छ ।

वडा ४ कि जयकली सार्कि एकल महिला भएर पनि समाजमा एक सफल महिलाकाे भुमिका निर्वाह गर्नु भएकाेमा सम्मानित हुनु भएकाे हाे ।

साथै दिवसका अबसरमा महिला अधिकारका बारेमा देउडा गित प्रतियोगिता समेत गरिएको छ महिलाको शसक्तिकरण,जीविकोपार्जन,अधिकार प्रत्याभुति र महिला उद्यमशीलता विकासका लागि पालिकाले आबश्यक नीति लिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

संविधानले महिलाका अधिकारका थुप्रै व्यवस्था गरेपनि,शिक्षा,स्वास्थ्य,रोजगार,विकासमा सम्मान सहभागिता लगायत अधिकार कार्यान्वयनको सवाल अझै पेचिलो बन्न नसकेको तातोपानीकी उपाध्यक्ष रेवती रावलले बताईन् । उनले पुरुषबादी चिन्तन अझै समाजमा विद्यमान रहेकोले अधिकार प्राप्तीका लागि स्वयम महिलाहरु एकजुट हुनुपर्ने उल्लेख गरिन् ।

नमुना महिला पुरुष समनीत कार्यक्रमले महिला पुरुष बीचको विभेद घटाउने,समानता,समावेशीता कायम गर्ने अपेक्षा छ । जिल्लामै नमुना कार्यक्रमका रुपमा रहेकोले आगामी दिनमा पाि यस्ता कार्यक्रमलाई निरन्तरता दिन घोषणापत्रमा हस्ताक्षर अभियान थालिएको तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए ।

त्यसका साथै जुम्लाकै पातारासी गाउँपालिकाले महिला दिवसका अबसरमा क्षेत्रिय,राष्ट्यि र अन्तराष्ट्यि स्तरमा विभिन्न पदक जितेका पालिकाका खेलाडीलाई सम्मान गरेको महिला शाखा प्रमुख भगवती गिरीले बताईन् । पातारासी गाउँपालिकामा उपाध्यक्ष जनमाया रोकायाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष पूर्णसिंह वोहराको प्रमुख आतिथ्यतामा महिला दिवश भब्य मनाईएको छ ।

कार्यक्रममा राष्ट्रिय अन्तरािष्ट्रय स्तरमा विजेता प्राप्त खेलाडीहरु, गायक तथा विभिन्न क्षेत्रमा सृजनात्मक काम गर्ने सृजनशिल महिलाहरुलाई सम्मान गरिएको छ । सहायक महिला विकास निरीक्षक भगवति गिरीका अनुसार खेलाडी सुनमाया बुढा, विश्वरुपा वुढा, रेजिना भण्डारी राममाया सविता बुढाललाई रु नौ हजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
उहाँका अनुसार क्षेत्रिय खेलाडी कमला बुढा, कालिका रावतलाई रु ६ हजार रुपैया नगद सहित सम्मान गरिएको छ । यसैगरी तेक्वान्दो खेलाडी २ जनालाई रु ६ हजारको दरले, गायक पञ्चकली बुढालाई समेत रू ५ हजार नगद सहित सम्मान गरिएको छ ।

लैगिक समानता अनुसार पालन गरे अनुसार छोरी भएपनि दुई सन्तान जन्माउने १४ जोडीलाई   ५ हजारका दरले दोसल्ला सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।यसैगरी गिनिज वुक रेकडर अन्तराष्ट्रिय  धावक हरिबहादुर राेकाया र   अटाे चालक  कल्पना बुढालाई पनि दाेसल्ला र प्रमाणपत्रले  सम्मान गरिएकाेछ।जुम्लाका आठै पालिकाले बुधबार विभिन्न कार्यक्रम महिला दिवस मनाएका छन् ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस