जुम्ला । जुम्लामा उपचारका लागि अस्पताल भर्ना भएका एक बिरामी मृत फेला परेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएर उपचार गराई रहेका बिरामी सोमबार विहानै अस्पतालको आडमै बग्ने जुगाडखोलामा मृत भेटिएका हुन् । विगत ६ दिनयता अस्पताल भर्ना भई उपचार गराईरहेका तातोपानी गाउँपालिका ५ लाम्राका ७३ वर्षीय लल्लु सार्की जुगाड खोलामा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आइतबार राति साढे १२ बजेतिर बिरामी अस्पतालको कम्पाउन्डदेखि बाहिर निस्किएका थिए । बिरामीको हातमा क्यानलग समेत थियो । प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन,“बिरामी अस्पताल बाहिर निस्केर खोलामा लडेको र पानीमै लामो समय बेहोस भएर मृत्यु भएको हुन सक्ने अनुमान छ । बिरामी हराएको खबर प्राप्त हुने बित्तिकै जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी टोलि परिचालन भएको थियो । तथापी राती विरामी भेटिएनन् ।”
यता बिरामीका आफन्तले भर्ना भएको बिरामी अस्पताल बाहिर निस्किएर खोलामा मृत भेटिनु अस्पताल प्रशासनकै गम्भीर लापरबाहि भएको बताएका छन् । वार्डको विरामी निष्कीएर अस्पतालको कम्पाउण्डभन्दा बाहिर जाँदा,घण्टौ सम्म नफर्किदा सम्म पनि कुनै चाँसो नदेखाउनु वार्डमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुदेखि गेटमा लागेका सुरक्षागार्डहरुले समेत वास्ता नगर्नु गम्भीर लापरबाहि भएको आफन्त बताउँछन् । ड्युटिमा खटिएका स्टाप नर्सदेखि सेक्युरिटि गार्ड लगायतका संयन्त्रलाई कारबाहिको माग गर्दै विरोधमा उत्रिएका छन् ।
बिरामी लल्लु सार्की अस्पतालको दुई तलामा रहेको ४ नम्बर बेडमा भर्ना भएका थिए । लल्लु अस्पताल बाहिर निस्केको कुरुवा रहेकी उनकी श्रीमतीले समेत थाहा पाइनन् । अस्पतालको बिरामी कसरी बाहिर निस्कियो ?, कहाँबाट खोलामा पुग्यो ? भन्ने विषयले अस्पतालको व्यवस्थापनमा प्रश्न चिह्न खडा भएको स्थानीयले बताएका छन् । घटनाबारे वास्तविकताबारे पत्ता लगाउन साेमबारदखिनै पिडितका आफन्त र प्रतिष्ठानकाे टाेली निरन्तर दाेहाेराे संवादमा छन् ।