बजेटको सिलिङ घटाउनेतिर नसोचौं : सांसद पौडेल

काठमाडौँ — माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ घटाउन नहुने बताएका हुन् ।

सांसद पौडेलले बजेटको सिलिङ घटाउनुभन्दा सम्भावना खोज्नुपर्ने बताए । उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भए पनि बजेटको सिलिङ घटाउन नहुने बताएका हुन् । उनले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए ।

‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायरालाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा, अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरूले अरु देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडि बढाएको हामी पाउँछौँ,’ उनले भने, ‘वैदेशिक अनुदान ल्याउने, करको दायरा बढाउने, कतिपय अप्ठ्यारोमा परेर अल्झेका कर तथा बेरुजुलाई नियमन गर्ने, भ्रष्टाचारलाई न्यूनीकरण गर्ने र अर्थप्रणालीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्नेकुरा ठूलो होइन ।’

सरकारले गत वर्षभन्दा १ खर्बभन्दा कममा बजेट ल्याउन लागेको भन्ने कुरा आफूले सुनेको उल्लेख गर्दै सांसद पौडेलले विकल्प खोज्न सुझाए । ‘मन्त्रीज्यूहरूले हामी जाँदाखेरि पैसा छैन मात्रै भन्नुहुन्छ । अर्थमन्त्रीलाई मेरो अनुरोध के छ भने तपाईंले आँट गर्नुस् । संसारभरीका सम्भावना भएका खोजौँ । नेपालभित्रका सम्भावना पनि हामीले खोजौँ । त्यसो गरियो भने सम्भव छ,’ उनले भने ।

सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई-दुईवटा भए पनि राम्रो काम अगाडि बढाउनुपर्ने धारणा राखे । उनले ठूला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभूत गर्नेखालका काम हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस