तातोपानीका चार जना मानसिक रोगीको उद्धार

जुम्ला ः तातोपानी गाउँपालिकाले चार जना मानसिक रोगीको उद्धार गरेका छ । यहाँका विभिन्न स्थानमा घुमफुर गर्दै आएका मानसिक रोगीलाई उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रममा पठाएको तातोपानी गाउँपालिका – ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । उनले भने ५ नम्बर वडाका एक जना, ४ नम्बर वडाको एक जना र २ नम्बर वडाका दुई जनालाई उद्धार गरिएको हो । उनीहरुलाई बिहिबार विहानै उद्धार गरी सुर्खेततर्फ पठाएको छ ।
यस्तै दुई जनालाई काठमाडौँ रिह्रयाफ सेन्टरमा पठाएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए । उनले भने एक जना मानसिक रोगी महिलालाई औषधि उपचार गरी घरमा पुनःस्थापना गरेका छौँ । उनी अहिले घरपरिवारसँग बस्ने भएकी छन् । उनलाई राहतका लागि विपन्न आवास कार्यक्रममार्फत घर निर्माण गर्ने गाउँपालिकाले तयारी गरेका छ ।
गाउँ समाजमा यस्ता किसिमका रोगी धेरै देखिन थालेपछि उनीहरुको उद्धार तथा राहतका लागि गाउँपालिकाले आश्रम नै सञ्चालन गर्ने तयारी गरीको अध्यक्ष चौलागाईले बताए । उनले भने तातोपानी गाउँपालिका – १ राँका गाउँमा दुई वटा गाउँपालिकाकै ठुलो घर छन् । तिनै घरलाई सदुपयोग गर्ने गरी आर्थिक वर्ष ०८०÷८१ मा बजेट विनियोजन गर्ने तयारी गरेका छौँ ।
स्वास्थ्यकर्मीसहित आवश्यक कर्मचारीको व्यवस्थापन गरी पालिकाले नै मानव सेवा आश्रम सञ्चालन गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष चौलागाईले बताउनु भयो ।
चन्दननाथ नगरपालिका विपद् शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेका अनुसार १० जना मानसिक रोगी तथा सुस्तमनोस्थिति भएका व्यक्तिलाई यसअघि नै मानव सेवा आश्रम सुर्खेतमा पठाएको छ । चन्दननाथ नगरपालिकासहित अन्य पालिकाका पनि हुन् । उनले भने उनीहरु सवै जनालाई चन्दननाथ नगरपालिकाले उद्धार तथा राहत गरी मानव सेवा आश्रममा पठाएको हो ।
यस्ता किसिमका धेरै मानिसहरु गाउँठाउँ तथा समाजमा देखिन थालेपछि जिल्ला स्तरकै मानव सेवा आश्रम र हिंसा पीडित महिला तथा बालबालिकाको आश्रयसहितको सेफ हाउसको आवश्यकता देखिएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने यस विषयमा सवै स्थानीय तहका जनप्रतिनिधि, संघ प्रदेशका सांसद प्रहरी प्रशासनको ध्यानाकर्षण गरिएको हो । तर सुनुवाई भएको छैन ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस