जुम्ला । आगाामी नयाँ आर्थिक वर्षका लागि स्थानीय तहमा नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी चलिरहेको छ । तातोपानी गाउँपालिकाले बजेट माथि राय सुझाब समेत माग गरेको छ । जुम्लाका आठै स्थानीय तह बजेट तर्जुमाको आन्तरिक तयारीमा जुटिरहँदा तातोपानी गाउँपालिकाका बालबालिकाले बाल विकासका क्षेत्रमा लगानी बढाउन माग गरेका छन् ।
पछिल्लो समयमा सामाजिक रुपान्तरणका संबाहकका रुपमा हेरिएका बालबालिकालाई तीनै तहका सरकारले उपेक्षा गर्दै आएको छ । गैरसरकारी संस्थाले बालबालिकालाई सामाजिक रुपान्तरणका विभिन्न अभियानमा सक्रिय गराएपनि सरकारी तबरबाट अपेक्षित सहयोग नपाएको बालबालिकाको गुनासो छ ।
अझै समाजमा बालविवाह,बहुविवाह,छुईप्रथा,छोराछोरी बीचको विभेद लगायतका कुरिति विद्यमान छ । यस्ता कुरितिी न्युनिकरण गर्न बालबालिकाहरु निर्सत रुपमा खटिएका छन् । गाउँमा हुने बालविवाहलाई रोक्न बाल सञ्जालहरु निर्मम रुपमै लागेको देखिन्छ ।
तर स्थानीय सरकारको लगानी बालबालिकाको संरक्षण,क्षामता विकास र सुरक्षामा भन्दा पनि भौतिक विकासतिरै बढी भएको देखिन्छ । भौतिक विकासले मात्रै समाज रुपान्तरण सम्भव नरहेको भन्दै तातोपानीका बालबालिकाले पालिकालाई आगामी नयाँ बजेटमा बाल बालबालिका सवालमा नीति निर्माण र लगानी बढाउन जोडदार माग गरेका छन् ।
तातोपानी गाउँपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष शुसील नेपाली भन्छन,“बढ्दो भौतिक विकासले गाउँगाउँमा संघियताको अनुभूति त भयो । गाउँगाउँमा सडक जोडिए,उत्पादनले बजार पाए । तर त्यो विकासले मात्रै समाज रुपान्तरण भयो त ? एक वर्ष नटिक्ने संरचना बन्न थाले,सरकारी काम भनेकै विकास भन्दा खाने हो भन्ने प्रबृत्तिको विकास भयो । त्यसैले अब सामाजिक रुपान्तरणका क्षेत्रमा लगानी बढाउन जरुरी छ ।”
१७ बुदेँ कार्ययोजना सहित माग पेश
तातोपानीका बालबालिकाले पालिकालाई १७ बुँदे माग पेश गरेका छन् । आगामी बजेटमा समेटीनु पर्ने र बाल सञ्जालले सामाजिक रुपान्तरणका लागि गर्न सक्ने कार्ययोजना सहितका १७ बुदेँ माग उपाध्यक्ष रेवती रावल,महिला शाखा प्रमुख शान्ति सेजुवाल लाई हस्तान्तरण गरेका हुन् ।
तातोपानी महिला शाखाको आयोजना र किर्डाक नेपाल र वल्र्डभिजनको सहयोगमा दुई दिन आयोजित पालिकास्तरीय बाल भेलाबाट बालबालिकाका आबश्यकता पहिचान,बाल सञ्जालले कुरिति अन्त्य गर्न सक्ने काम सहितको माग पेश गरिएको पालिकास्तरीय बालसञ्जालका अध्यक्ष सुशिल नेपालीले बताए ।
दुई दिने बाल भेलामा किर्डाकले बाल अधिकार,कर्तव्य र जिम्मेवारी लगायतका विषयमा सिकाएको थियो । बाल भेलाकै उपलब्धी स्वरुप तातोपानीका बालबालिकाले आगामी बजेटमा बाल विकासमा लगानी बढाउन कार्ययोजना सहित माग पेश गर्न सफल भएको अध्यक्ष नेपालीको भनाई छ ।
समाजमा विद्यमान बालबिवाह,छुईप्रथा,जातीय विभेद न्युनिकरण गर्न अभियान चलाउने,विभिन्न नीति कानुनबारे तालिम लिने,सामुदायिक विद्यालय सुधारका लागि खबरदारी गर्ने लगायतका काम गर्ने र त्यसका लागि बजेट छुटाउन माग गरिएको छ । किर्डाक नेपालले बालबालिकाका सवालहरु पेचिलो ढंगबाट पालिकामा उठान गर्न आबश्यक ज्ञान क्षामता प्रदान गरेकामा तातोपानीका बालबालिका खुसी छन् ।
तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले आगामी आर्थिक वर्षमा आबश्यकता,औचित्य र मागका आधारमा नीति निर्माण र बजेट लगानी हुने बताए । अनुउत्पादन क्षेत्र र वितरणमुखी बजेट विनियोजनमा रोक लगाईने भएकोले बालबालिकालाई उत्पादनसंग जोड्ने गरी नीति ल्याईने उल्लेख गरे ।
उपाध्यक्ष रेवती रावलले आगामी ५ वर्षमा तातोपानीलाई बालबिवाहमुक्त तथा बालमैत्री पालिका बनाउने लक्ष्य राखिएकोले बालबालिका सवालहरुलाई नीतिमा प्रथामिकता दिनुपर्ने उल्लेख गरिन् । भने प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले पालिकामा पञ्चवर्षिय रणनीतिक योजना निर्माण भएकोले सोहि अन्तरर्गत बालबालिकाका सवालहरुलाई प्रथामिकता दिएर कार्यान्वयन गर्न सकिने बताए ।
भविष्यको सक्षम जनशक्ति बनाउनका लागि पालिकाले बालबालिकाको विकासमा लगानी गर्न तयार रहेकोले कलम,कसम,कदम तीन (क)मा अबका बालबालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिने ।
बालबालिका,महिला सशक्तिकरणमा सामाजिक रुपान्तरणमा तातोपानीले प्रथामिकता दिने आशा गरिएको छ । अब विकाससंगै सामाजिक चेतना विकासमा लगानी माग भई आएका मध्य अत्याआबश्यक योजना कार्यान्वयन हुने छन् ।