जुम्लामा मनाइयो ५० औँ विश्व वाताबरण दिवस


जुम्ला ।  जुम्लामा सोमबार ५० औँ विश्व वाताबरण दिवस मनाइएको छ । वन डिभिजन कार्यालयको परिसरमा वृक्षारोपण, सहित कर्णाली प्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयको संयुक्त रयालीपछि आयोजित अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको छ ।

वन कार्यालय द्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले डोजरे विकास र प्लाष्टीक प्रयोगमालाई निरुत्साहित गर्दै वाताबरण संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

उनले भने,“वाताबरणमैत्री नीति निर्माण र वाताबरणिय प्रभाव मुल्यांकनको कार्यान्वयन गरी पूर्वाधार विकास गर्न जरुरी छ । जल,जमिन,जंगलको संरक्षण विना विकासको अर्थ छैन । वाताबरण संरक्षणका क्षेत्रमा समेत स्थानीयतहले लगानी बढाउन जरुरी छ ।”

चन्दननाथ नगरपालिकाका प्रमुख राजसिंह कठायतले नागरिककै असहयोगका कारण फोहोर व्यवस्थापन तथा वाताबरण संरक्षणको विषय चुनौतीपुर्ण बन्दै गएको बताए । चन्दननाथलाई सफा शहर बनाउन सबैको सहयोगको खाँचो रहेको उल्लेख गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अब तीनै तहका सरकारल विकास आर्थिक,सामाजिक र वाताबरणीय विकासमा जोड दिनुपर्ने बताए । डोजरे विकासको अन्त्य,प्लाष्टीकजन्य वस्तुको प्रयोगमा रोक,वृक्षारोपण कार्यक्रममा लगानी जस्ता विषयमा ध्यान दिनुपर्ने उल्लेख गरे ।

सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाका अध्यक्ष गार्कण चौलागाईले वाताबरण संरक्षणका लागि सरकारी निकायसंगै स्थानीय नागरिकको सक्रियता पनि जरुरी रहेको बताए । वनमा आगो लगाउनु हुदैन्,एक रुख काटे कम्तीमा ५ विरुवा रोप्नु पर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको उनको भनाई छ ।

हरेक वर्ष जेठ २२ गते औपचारिक रुपमा मनाईने विश्व वाताबरण दिवस वाताबरण संरक्षणका चिल्ला कुरा मात्र गरेर सम्भव नभएकोले नीतिगत रुपमै जुम्लाले काम गर्नुपर्ने अबस्था आएकोमा सरोकारवालाको जोड छ ।

साथै प्लाष्टीक प्रयोगलाई न्युनिकरणका लागि आफैबाट सुरुवात गर्न र स्थानीयतहले डोजरे विकासमा नियन्त्रण गर्न समेत सुझाब दिएका छन् । वाताबरण दिवसका अबसरमा वन कार्यालयले वन जंगलमा आगलागी नियन्त्रणमा योगदान गर्ने तीनवटै सुरक्षा निकायालाई नगद सहित सम्मान गरेको छ ।

यसैबीच तातोपानी गाउँपालिकाले पनि विभिन्न कार्यक्रम गरी वाताबरण दिवस मनाएको छ । रयाली सहित सरसफाई गरेर दिवस मनाइएको प्रमुख प्रशासकिय अधिकृत चिर्थ बहादुर कठायतले बताए । भने हिमा गाउँपालिका पनि सरसफाई गरेर वाताबरण दिवस मनाइएको छ । भने उता कनकासुन्दरीले पनि औपचारिक कार्यक्रम गरी वाताबरण दिवस मनाएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस