
जुम्ला । राज्यले छोरा छोरी बीच विभेद गर्न नपाईने कानुनी व्यवस्था गरेको छ । छोरीलाई पनि छोरा स्रह सम्मान हक अधिकारको संवैधानिक व्यवस्था छ । तर कागजी कानुनमा अन्त्य भएको छोराछोरी बिचको विभेद समाज अझै ज्युँका त्युँ छ ।
छोरी पराई घर जाने जातको भन्ने संकिर्ण सोचले अझै कायम छ । भने छोराले वंश जोगाउछ,भविष्यमा पाल्छ,बुढेसकालको साहारा बन्छ भन्ने परम्पराबादी सोच र चिन्तन अझै कायम छ । तर छोरा छोरी दुबै बुढेसकालको साहरा बन्छन भन्ने तथ्यलाई समाजले अझै स्विकार गर्न सकेको छैन । जसका कारण छोरा जन्माउनै पर्ने बाध्यता वा संस्कार समाज छ ।
छोरीले पनि बाबू आमा पालेको र छोराहरुका बाबू आमा बाध्यता वा परिस्थितिले बृद्दाश्रम जानू परेको,बेसाहरा हुनु परेको उदाहरण हरु पनि धेरै छन । बुढेसकालको साहारा मानेको छोरानै अशक्त भएपछि बेसहारा बनेकि चन्दननाथ नगरपालिका १ कि बैशाखी कामीका दिनहरु अभाव र संघर्षमै बिति रहेका छन ।
छोरि पराई घर जान्छन,छोरा घरको साहरा हुन्छन भन्ने मानसिकताबाट हुर्केकि वैशाखीलाई आजभोली छोरा मात्रै दुखको साहरा हुने कुरा गलत रहेको बल्ल बुझेको बताउँछन । छोराको कमाई खाने अबस्थामा विहान बेलुका चुलो बाल्नकै लागि वैशाखी दमाई भौतारिन थालेको १ वर्ष बढि भयो । दुई छोराकी धनी बैशाखी छोराहरुको दयनिय अबस्था घरको परिस्थितिले निकै गरिव छन ।
उमेरले करिब साढे ५ दशक नाघिसकेकि उनको अघिपछिको साहरा,सारो गारो पर्दा मछुनि भन्ने कोहि छैन । हुनलाई घरमा दुई छोरा छन । छोरा भएर मात्र साहरा हुन्छन भन्ने छैन । बैशाखी भन्छन, “३० वर्षीय जेठो छोरा कृष्ण दमाई र १५ वर्षीय कान्छो छोरा चक्र दमाई छन ।बुढेसकालको सहारा बन्नुपर्ने छोराको उल्टो मैलेनै पालन पोषण गर्नु पर्ने अबस्था छ । जेठो छोरा बिरामीले थला परेपछि हिड्डुल गर्न सक्दैनन ।”
जेठो छोरा करिब १ वर्ष पहिले भारतमा कामको सिलसिलामा गएका थिए । एकदिन काम गर्ने क्रममा ढुङ्गा आएर पछाडिको कम्मर तिरको भाग भाँचियो । उपचारमा भाँचिएको ठाउँमा रड हाल्नुपर्ने भयो । रड हालेपछि उनलाई व्हील चेयरमा बस्ने बाहेक अरु विकल्प भएन । रड हालेपनि उनले हिँडडुल गर्न सक्दैनन ।
अहिले एक बर्ष पूरा भयो उनको दैनिकी व्हील चेयरमै बसेर बितेको छ । बैशाखी दमाईले भनिन, “मेरा लोग्न्या पुनी वित्याको चार पाँच वर्ष जति भैग्या,जेठो छोरो उठ्न सक्तैन बैन पुनि सक्तैन दे क्यारु १ यइथो हालत भयो । काण्ठो छोरो नानो छ । भक्खर पुन्न वर्षा भयाछ,ताहि इंडिया छ । पुइँसा सुइसा क्यै पठाउन्न । घर दुब्बै मा छोरा मात्तै छु । दैनिकी चलाउनै मुस्किल छ । छोरो त्यैथै भइयो मो दिनभरि माग्दछु कोही पान दस रूपियाँ दिनान जम्मा गद्दछु अनि दुईतीन सय रुपैयाँ जम्मा हुन्छ । बासपल्टी नापा नापा चामल किन्नछु कहिले आलुवा तिउनसित कहिले त्यतीकै खान्छु ।” वैशाखीले दुखेसो पोखिन ।
उनको कान्छो छोरा १५ वर्षको उमेरमा भारतमै छन । पढ्ने लेख्ने उमेरमा उनले घर छोडेर परदेशिन बाध्य भएका छन । सानो उमेरको कारण खासै काम गर्न नसकिने पैसा कमाएर घर चलाउने सक्ने परिपक्व उमेर छैन ।
बैशाखी दमाई शारीरिक रूपमा स्वस्थ छैनन । बुढो शरिर भएपछि लठ्ठीको भरमा उनी हिढडुल गर्छिन । उनको जग्गा जमीन पनि छैन । उनले छर छिमेकमा मागेर दैनिकी चलाउने कुरा बताइन । आज एक ठाउँमा माग्ने र भोलि अर्को अनि पर्सी अर्को ठाउँमा गएर लठ्ठी टेकेर दिन भरी मागेर बेलुका खाने हुने अवस्था छ । कमाउने जेठो छोराको त्यस्तो अवस्था आएपछि उनको दैनिकी यसरीनै गुज्रिएको छ ।
घरमा आयस्रोतको कुनै माध्यम नभएपछि विहान खाए साँझ के खाने,साँझ खाए विहान के खाने अबस्था भएकोले सहयोगी हातको प्रतिक्षामा छन ।