महिनावारी विभेद अन्त्यका लागि सोच परिवर्तन आवश्यक : राधा पौडेल

साहित्यकार तथा सामाजिक अभियान्ता राधा पौडेलले जुम्लाका सञ्चारकर्मी हरुल्लाइ यौन तथा प्रजनन स्वास्थको लागी मर्यादित महिनावारी बिषयक अन्तरक्रिया कार्यक्रम दिएकी छ्न ।

महिनावारीलाई अझै पनि अन्धविश्वास, विभेद र सामाजिक बन्देजसँग जोडेर हेर्ने परम्पराले महिलाको सम्मान र अधिकारमा असर पुर्‍याइरहेको भन्दै महिला साहित्यकार तथा सामाजिक अभियन्ता राधा पौडेलले सोच र व्यवहारमा व्यापक परिवर्तन आवश्यक रहेको बताएकी छन्।

जुम्लामा सञ्चारकर्मी तथा अधिकारकर्मीहरूबीच आयोजित दुई दिने मर्यादित महिनावारी विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले महिनावारीलाई अपवित्रता वा कमजोरीको प्रतीकका रूपमा हेर्ने मानसिकता नै महिलामाथि हुने विभेदको प्रमुख कारण भएको बताइन्।

उनले महिनावारी प्रकृतिले दिएको सामान्य जैविक प्रक्रिया भएको उल्लेख गर्दै यसलाई गलत व्याख्या गरेर महिलालाई सामाजिक रूपमा पछाडि पार्ने अभ्यास अझै समाजमा विद्यमान रहेको बताइन्। “महिनावारी कुनै रोग, दोष वा अशुद्धता होइन, यो जीवनचक्रसँग जोडिएको प्रक्रिया हो,” पौडेलले भनिन्।

उनका अनुसार समाजमा महिलाको शरीर र अस्तित्वमाथि नियन्त्रण गर्ने सोचले महिनावारीलाई पनि विभेदको माध्यम बनाएको छ। महिनावारीका कारण महिलाले घर, विद्यालय र सार्वजनिक जीवनमा विभिन्न प्रकारका असहजता र बहिष्करण भोग्नुपरेको उनले उल्लेख गरिन्।

पौडेलले कर्णाली क्षेत्रमा मर्यादित महिनावारीका विषयमा पर्याप्त बहस, नीति र व्यवहारिक अभियानहरू अघि बढ्न नसकेको बताउँदै विद्यालय, परिवार, सञ्चारमाध्यम र स्थानीय सरकार सबैले जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याइन्।

उनले केवल स्यानिटरी प्याड वितरणलाई समाधानको उपाय मान्न नहुने धारणा राखिन्। महिनावारीसँग जोडिएका सामाजिक सोच, भेदभाव र भाषिक व्यवहार परिवर्तन गर्न सके मात्र वास्तविक सुधार सम्भव हुने उनको भनाइ थियो।

कार्यक्रममा सहभागीहरूले मर्यादित महिनावारीसम्बन्धी ११ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन्। प्रतिबद्धतामा समुदायस्तरमा सचेतना अभियान सञ्चालन गर्ने, सञ्चारमाध्यममा बहस र समाचार प्रवाह बढाउने, स्थानीय तहमा नीति तथा बजेट निर्माणका लागि पहल गर्ने, विद्यालयमा पाठ्यक्रम विकासमा सहयोग गर्ने लगायत विषय समेटिएका छन्।

सहभागी सञ्चारकर्मीहरुले आ-आफ्नै घरबाटै महिनावारी विभेद अन्त्यको अभियान सुरु गर्नुपर्ने, युवा तथा किशोरी समूह गठन गरी सामाजिक अभियान विस्तार गर्नुपर्ने तथा सम्मानजनक शब्दावलीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। र सम्पुर्ण सञ्चारकर्मीहरुलाई महिनावारी विभेद महिला हिंसा अन्त्यका लागि कलम चलाउन अनुरोध गरेकी छ्न ।

प्रकाशित मिति : २०८३ जेष्ठ १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस