सुक्खा डाँडाँको ७७ रोपनीमा सिँचाई सुविधा

सामुहिक बगैचामा धाराबाटै सिचाई,उत्साहित किसान

जुम्ला । तातोपानी गाउँपालिका वडा नंं.७ ताम्तीका नर बहादुर रावतको एक दशक बगैचामा सिँचाईका लागि खोलाकै पानी बोकेर बित्यो । समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाईमा रहेको सुक्खा डाँडाँलाई हराभरा बनाउने,स्याउ फलाउने लक्ष्य लिएर गाग्रीमा पानी बोकेरै भएपनि बगैचामा सिँचाई गर्न बाध्य थिए ।

समय खेर जाने, विरुवालाई प्रयाप्त चिस्यान नपुग्ने,थकान लाग्ने समस्या त छदै थियो । तर स्रोत भएपनि परिचालन र सदुपयोग नहुँदा विरुवा हुर्काउन नर बहादुरलाई खोलाको पानी बोक्नुको विकल्प थिएन् । तर अहिले बगैचामा धाराबाटै सिँचाई गर्न पाउँदा निकै खुसी छन् । ग्रागीमा पानी बोकेर सिँचाई गर्नुपर्ने बाध्यता यति छिटै अन्त्य होला नसोचेका रावत बगैचामै धारा पुग्दा दंग छन् ।”

त्यस्तै ताम्तीकै खड्क रावत पनि बगैचामा सिँचाई सुविधा पुगेपछि खुसी छन् । खोलाको पानी बोकेका भरमा गरिएको सिँचाईले विरुवालाई नपुग्ने,उत्पादन राम्रो नहुने समस्या संगै सिँचाईका लागि भोग्नु परेका दुःख विर्सन नसकिने रावतको भनाई छ ।

अहिले सिँचाई सुविधा पुगेपछि खुसी नहुने कुरै छैन् । उनी भन्छन,“बाँझिन लागेको जमिनमा पनि सिँचाई पुग्ने छ । बगैचा विस्तार हुने छन् । समयको बचत,प्रयाप्त सिँचाई गर्न सहज हुने र उत्पादन बृद्धि हुने आशा छ ।”

सिँचाई सुविधा पुगेपछि नर बहादुर खड्क रावतजस्तै ताम्ती गाउँका २ सय ६ वटै घरधुरीका एक हजारबढी नागरिक उत्साहित भएका छन् ।

कृषि उत्पादनको प्रचुर सम्भावना भएर पनि सिँचाई नहुँदा उब्जनी घट्दै गएको ताम्तीमा अब कृषि क्रान्ती सुरु हुने तातोपानी ८ का वडाध्यक्ष तिलक रावतको दाबी छ । पानीको अभावले सूक्खा हुदँै बाँझिएको जमिन,नांगिएका डाँडामा प्रयाप्त सिँचाई पुग्ने,ताम्तीलाई कृषिमा आत्मनिर्भर गाउँ बनाउन नागरिक जुट्ने वडाध्यक्ष रावतको भनाई छ ।

करिब १२ वर्ष अघि नेपाल रेडक्रसले चामल दिएर निर्माण गरिएको शिलधारा सामुहिक स्याउ बगैचामा प्रयाप्त सिँचाई नहुँदा विरुवा सुक्दै गएका थिए । तर अब बगैचानै ताम्ती गाउँ समृद्धीको आधार बन्ने आशा गरिएको वडाध्यक्ष रावतले उल्लेख गरे ।

१४ लाखमा सिँचाई पोखरी,७७ रोपनीमा सिँचाई

तातोपानी-७ को करिब ७७ रोपनी सुक्खा डाँडाको जमिन सिँचाई हुनेगरी १४ लाख बढी लगानीमा सिँचाइ पोखरी निर्माण गरिएको छ । अमेरीकी जनताबाट आर्थिक सहयोग र मर्सीकोर नेपालको अगुवाई तथा किर्डाक नेपालको सांझेदारीमा संचालित भकारी परियोजना मार्फत सिँचाई पोखरी निर्माण गरिएको हो ।

परियोजनाको ११ लाख ६६ हजार ३४२ रुपैया र ताम्तीबासीको २ लाख ८७ हजार ३१४ रुपैया जश्रमदान गरी जम्मा १४ लाख ५३ हजार ६५६ रुपैया लागतमा २० घनमिटर क्षमताको सिँचाई पोखरी निर्माण भएको किर्डाकका विपद् व्यवस्थापन अधिकृत पविना खड्काले बताईन् । उनका अनुसार खेर गएको स्रोतलाई सदुपयोग गर्न अध्यायन गरी निर्माण गरिएको सिँचाई पोखरी मार्फत ताम्ती गाउँको सुक्खा डाँडाँको ७७.७ रोपनी जग्गमा सिँचाई पुगेको छ ।

पोखरीबाट बगैचामा सिँचाई गर्न लाईन विस्तार,८ वटा धारा निर्माण,बोट बोटमा सिँचाई गर्न ३२ रोल गार्डेन पाईप समेत स्थानीयलाई दिइएको परियोजनाका ईन्जिनियर रघुनाथ रिमालले जानकारी दिए । उनले भने,“ताम्तीमा सिँचाई पोखरी मात्रै निर्माण भएको छैन् । ताम्ती गाउँ समृद्धीको योजना बनेको छ । खोलाको पानी बोक्ने कष्ट हटेको छ । भने उत्पादन बृद्धि हुने,आयआर्जनमा सुधार हुने आशा गरिएको छ । तर संरचनाको दिगो संरक्षणमा ध्यान दिनुपर्छ ।”

सिँचाइ पोखरी योजना हस्तान्तरण गर्दै तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले सुक्खा डाँडाको ७७ रोपनीमा सिँचाई सुविधा पुग्नु खुसी कुरा भएपनि संरचनाको दिगो व्यवस्थापनमा ध्यान दिन सुझाब दिईन् । समृद्ध तातोपानी बनाउन विकास साझेदार संस्था किर्डाकले ईट्टा थप्दै आएकोमा उत्पादीत वस्तुको बजारीकरण,निर्माण भएको संरचनाको संरक्षणमा पालिकाले लगानी गर्ने उल्लेख गरिन् ।

तातोपानीका निमित्त प्रमुख प्रशासकिय अधिकृत विष्णु रावलले सिँचाई पोखरी किसानको आयआर्जन,स्याउ यत्पादन बृद्धि र पालिकाको समृद्धीसंग जोडिएको संरचना भएकोले संरक्षणमा स्थानीय जुट्नु पर्ने बताए । पालिकाको भौतिक र सामाजिक विकासमा समेत भकारी परियोजनाको महत्वपुणर् योगदान रहेको उनको भनाई छ ।

शनिवार सिँचाइ पोखरी हस्तान्तरणसंगै सुर्किको एकिकृत शत्रुजीवन व्यवस्थापन सिकाई केन्द्र,रारालिहिको क्रिपपर्खाल,कुडारीको वर्षा पम्पको समेत अनुमगन गरिएको छ । अनुगमन पश्चात परियोजनाले भौतिक तथा सामाजिक विकासका क्षेत्रमा गरेको अनुशरण योग्य कामको निरन्तरता र भौतिक संरचनाको संरक्षणमा स्थानीयतहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस