
जुम्ला । कर्नाली प्रदेशको इतिहास अध्ययनले छाती धक्क फुल्ने थुप्रै ठाउँहरू छन् । योगी नरहरिनाथ, रत्नाकर देवकोटा र डाक्टर सौभाग्य शाहा जस्ता सशक्त अध्येताहरु कर्नाली क्षेत्रले नै जन्माएको हो ।
षडयन्त्र गरेर शक्तिशाली कर्नाली राज्यलाई हराएपछि यस राज्यका नागरिक र यहाँको भूगोललाई केन्द्र सरकारले कुदृष्टिले हेर्न थाल्यो । व्यवहारमा यस क्षेत्रका नागरिकलाई दोस्रो दर्जाको बनायो । जुन आज पर्यन्त कायम छ । यहि मानसिकता परिवर्तन गराउन आवश्यक छ । त्यसका लागि आलोचनात्मक चिन्तन जरुरी छ । आलोचनात्मक चिन्तनसहितका विषयवस्तुहरु कर्णाली मिसनका मुख्य सामग्री बन्ने अपेक्षा छ । पर्याप्त उपयोगी सामग्री सहित निरन्तर प्रकाशनको शुभकामना छ ।
तीन पटक जुम्ली राजाले धुलो चटाएर प्रतिरोध आन्दोलन गर्दा पनि षड्यन्त्र पुर्वाक चौथो पटक जितेका गोर्खालीहरुले दबाउने रणनीति लिए । परिणाम यस क्षेत्रमा गतिला स्कूल, कलेज, महाविद्यालयहरू खोलिएनन् । फलस्वरूप शैक्षिक र सांस्कृतिक स्तर निकै कमजोर हुन गयो ।
लामो समय गरिबी, भोकमरी र अशिक्षाको पर्याय बनाइएको यस क्षेत्रका नागरिकहरुको स्वाभिमान, ईमान, इज्जत र वैभवको कुनै मूल्य भएन । कला, संस्कृति जीर्ण बन्यो भने सृजनात्मक क्षमता समेत कमजोर भयो । परिणाम कर्णालीको कला र साहित्यले समेत स्थान पाएन । यसबारे न यहाँका टाठाबाठा भनिएकाले छलफल गरे न केन्द्र सरकार नै गम्भीर बन्न सक्यो ।
तसर्थ अहिलेको टट्कारो आवश्यकता भनेको इतिहासदेखि हालसम्मको लेखाजोखा र त्यसमाथिको औचित्यपूर्ण बहस हो । जुन यहाँको कला, संस्कृतिको संरक्षण तथा साहित्य र बौद्धिकताको विकासले मात्र सम्भव छ । यसका लागि अध्ययन, लेखन र चिन्तनमनन जरुरी छ । त्यसैले कर्नालीको ऐतिहासिक वैभवलाई कायम राख्न फरक बाटो कोशेढुंगा सावित हुने विश्वास छ ।
कर्नाली नेपाली भाषाको उद्गम थलो हो । सिंजाली खस भाषा वर्तमान नेपाली भाषाको मातृभाषा हो । नेपालको मध्यकालीन इतिहासमा महत्वपूर्ण स्थान ओगटेको कर्नाली अहिलेको नेपालको काठमाडौं भन्दा महत्वपूर्ण क्षेत्रको रुपमा चिनिन्थ्यो । मध्यकालमा आर्थिक र सैनिक शक्तिको दृष्टिकोणले सम्पन्न र बलियो कर्नाली गरिबीको रेखामुनि रहेको ठूलो जनसंख्याको हिस्सा ओगटेर पछाडि परेको देखिन्छ ।
साधन स्रोतले सम्पन्न र प्रचुर सम्भावना बोकेर पनि यो क्षेत्र पछाडि परेको तथ्यहरु छन् । के साँच्चै यो क्षेत्र पछि परेकै हो त रु वा पछि पारिएको हो रु उत्तर खोज्न जरुरी छ । यो खोजमा यस क्षेत्रमा विकासित हुँदै गएका संचार माध्यमहरुले महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास छ । कर्णाली मिसन त्यसका लागि नौलो आयाम बन्नेमा आशावादी छु ।
गोर्खाली सेनाले १८४५ मा पहिलो पटक जुम्ला राज्यमाथि आक्रमण गर्यो । तीन पटकसम्म लगातार हारेको गोर्खाली सेनाले चौथो पटक १८४६ मा विविध जालझेल र षड्यन्त्र गरेर जुम्ला राज्यलाई आफ्नो बनायो । त्यसयता कर्नाली राज्यलाई केन्द्रीय सत्ताले हेर्ने चस्मा फरक छ । गोर्खाराज्य विस्तार अभियानलाई अवरोध गरेकै कारण हारेको शक्तिलाई दबाउन गोर्खालीहरु सत्तामा रहुन्जेल लागे । युद्धमा हारेको शक्तिलाई जितेको शक्तिले सदैव दबाउँछ ।
यो युद्ध पछिको नियम जस्तै हो । देशमा गोर्खाली शाह वंशीय सत्ता गुमेको पनि १७ वर्ष भैसक्यो । १७ वर्ष सम्म पनि काठमाडौंको सत्ताले कर्नालीलाई गोर्खालीहरूकै पुरानो चस्माले हेर्यो । १२ वर्षमा खेला फिर्छ तर १७ वर्षसम्म पनि सत्ताको चरित्र फेरिएन । उसको नियत फेरिएन । सत्तासीनहरुको सोच फेरिएन ।
भारतमा लामो समय शासन गरेको बेलायती साम्राज्यवादले अन्ततः भारत छोड्नुपर्यो । त्यो अवधिमा बेलायतले भारतीय संस्कृतिमाथि हमला गरिसकेको थियो । परिणाम बेलायतीहरूको प्रभाव रहिरह्यो । आज भारत दक्षिण एसियामा त्यही बेलायती चरित्र देखाइरहेको छ । नेपालमा २३८ वर्ष शासन गरेको र कर्नालीलाई दबाउने मानशिकता भएको सत्ता समाप्त भैसक्दा पनि पुरानै नियति दोहोरिनुले राम्रो संकेत गर्दैन ।
शासक फेरिए पनि सत्ताको चरित्र पुरानै छ । श्रीपेच नभएपनि थुप्रै नयाँ राजाको उदय भएको छ । नयाँ शासकहरुका नियतमा गोर्खाली अवतार भएको जनताले महशुस गरिरहेका छन् । परिणाम कर्नालीलाई हेर्ने नजर परिवर्तन हुन सकेन । अब कर्नालीलाई राज्यले देख्ने गरि सत्ताको केन्द्रविन्दुमा ढ्याँग्रो ठोक्न जरुरी छ ।
कर्नालीलाई रोक, भोग, अशिक्षा, अभावको पर्याय बनाइएको छ । हिजोको शक्तिशाली राज्यका नागरिकलाई फोहारका पर्यायवाची बनाउन खोजिएको छ । यहँको प्राकृतिक सम्पदा, नदी नाला, वन सम्पदा, खनिज सबैमा कब्जा जमाउन चलखेल भइरहेको छ । यहाँको मौलिकपनलाई मास्न खोजिएको छ । मज्बुत उत्पादन प्रणालीबाट पर निर्भरतातिर उन्मुख बनाइएको छ । नागरिकलाई अत्मनिर्भरताको साटो मगन्ते बनाउन खोजिएको छ । यो सब अव्यवस्थाका जिम्मेवारसत्ता संचालक नै हुन भनी ठोकुवा गर्न ढिलो भइसकेको छ ।
यी र यस्ता गतिविधि बन्द हुन भएनन् भने, सत्ताको दोसी चस्मा फेरिएन भने, कर्णालीबासीले हिजोको इतिहासमा छाति चौडा बनाउन पाएनन् भने, शिर ठाडो पारेर हिड्न र बोल्न सकेनन् भने त्यसले एक दिन विद्रोहको जन्म गराउने नै छ । हिजोको शक्तिशाली राज्यको उत्तराधिकारी जन्मिन सक्छ, मध्यकालीन इतिहासको राज्य ब्यूताउन सक्छ । यस्तो सन्देश दिन यस क्षेत्रका संचार मध्यम तेख्रो आँखा बन्नेछन् भन्ने विश्वास छ । कर्णाली मिसन यसको सारथि बनोस शुभकामना ।