प्रकाशकीयः डिजिटल पत्रकारितामा‘कर्णाली मिसन’को प्रवेश

जुम्ला । मुलुकमा अहिले पनि एक नमिठो कथन छ, “२००७ सालमा आएको प्रजातन्त्रबारे कर्णालीका नागरिकले २००८ सालमा मात्रै थाहा पाए ।” यो एक कथन मात्र होइन,कर्णालीका नागरिक सदियौदेखि हालसम्म सूचना पाउनबाट बञ्चित गराइएको छ । मुलुकमा व्यवस्था परिवर्तन भएपनि कर्णालीको अवस्था उस्तै छ । यहाँका नागरिक अझै सहज रुपले सूचनाको पहुँचमा पूग्न सकेका छैनन् । यही नै यहाँको तितो सत्य हो ।

यो कथन आफैमा गलत भएपनि राज्यको मुल प्रवाहमा कर्णाली अझै पछि रहेको तथ्यलाई नकार्न सकिदैन । कर्णालीका नागरिकलाई सुसुचित गराउन र सूचनाको पहुँचमा ल्याउन अनलाईन पत्रकारिताको भूमिका महत्व रहेको छ ।
हाल आएर कर्णालीका दुरदराजमा प्रविधिको विकास नभएको होइन । हरेक नागरिकका हात हातमा स्मार्ट फोन पनि नभएको होइन । पल पलको सूचना थाहा पाउने चाहना त झन बेग्र रुपमा छ । तर विडम्बना, समयमै तथ्य सूचना र सत्य समचार नपाएरकै कारण कर्णालीका अधिकांश नागरिक विभिन्न अवसरबाट बञ्चित हुन बाध्य छन् । सूचना समचारको पहुँच नहुँदा नागरिक अबसरबाट बञ्चित मात्र भएका छैनन् । समाजमा गरिबी बढेको छ । सामाजिक कुरितीले जडा गाडेको छ । संविधान प्रद्धत सूचनाको हक, समानताको हक, अभिव्यक्ति स्वतन्त्रताको हक सबै कुण्ठित जस्तै छन् ।

तथापी, भित्ते पत्रिकाबाट सुरु भएको नेपाली पत्रकारिताले पछिल्लो समयमा अनपेक्षित रुपमा फड्को मारेको कुरालाई नर्कान सकिदैन् । बढ्दो अनलाईन पत्रकारिताको विकासले विश्वका हरेक सूचना नागरिकले एक बन्द कोठामा बसेर हेर्न पाएका छन् । अझ आम नागरिकमा पल पलको ताजा खबर, तथ्य सूचना, सत्य समचार सुन्ने र पढ्ने चाहना बढ्दो छ । पर्खिने फुर्सद कसैलाई छैन ।

त्यहि चाहना र भावनाको कदर गर्दै प्रविधिको सदुपयोग गरी अनलाईन पत्रकारिताको हुलमा गिडीदह मिडिया प्रा.ली.द्वारा सञ्चालित कर्णाली मिसन डटकम नामक अनलाइन पत्रिका आजदेखि तपाईंहरूको माझमा लिएर आएका छौँ । हाम्रो मिसन जुम्लाको आर्थिक, सामाजिक र साँस्कृतिक विकास केन्द्रित हुनेछ । अनियमितता रोक्न केन्द्रित हुने छ ।

अनलाईन मिडियाको हुलमा हाम्रो उपस्थिति एक संख्यात्मक उपस्थिति मात्र नभई पत्रकारिताका मूल्य मान्यतालाई आत्मसाथ गर्दै तथ्य सूचना, सत्य समचारका साथ समाज रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टचार निवारणका निम्ति हाम्रो उपस्थिति सधै गुणात्मक रहने दृढ संकल्प गर्दछौँ ।

आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, वातावरणीय पक्षका विभित सवालमा निर्मम भएर लेख्नेमा दुईमत छैन् । भनिन्छ, ‘पत्रकारिता हतारको साहित्य हो’ । तर हतारको साहित्य भन्दैमा पत्रकारिताको मुल मर्म र धर्मलाई बिर्सेर कसैको उस्काहटमा कोहि कसैलाई उचाल्ने र कसैलाई पछार्ने छुट हामीलाई कदापी छैन ।

त्यसैले मुलुकको समसामयिक विषयमा हाम्रो कलम चल्ने नै छ । मुलतः जुम्लासँगै हामी कर्णाली प्रदेशका दश जिल्लाको जल, जमिन, जडिबुटी, जंगलका सम्भवाना माथि बहसल गर्नुका साथै निरन्तर लेख्ने छौँ । पूर्वाधार विकास, स्थानीयतहका असल अभ्यासको चर्चा, संघीयतापछि बढ्दो भ्रष्टचार निवारणमा खबरदारी र आवाज विहिनका आवाजलाई बढीभन्दा बढी प्राथमिकता दिएर कर्णाली मिसनले आफ्ना दैनिक सामग्री पाठक माझ पस्किनेछ ।

पत्रकारिताको मूल मर्म र धर्मलाई हामीले कहिल्यै मर्न दिने छैनौँ । प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचार संहिताको पूर्ण रूपमा पालना गर्दै नेपाली अनलाइन पत्रकारितामा विकृतिका रुपमा मौलाएको कपि पेष्टका सवालमा पनि हामी सचेत हुनेछौँ ।

संघीयताको कार्यान्वयन पछि पनि कर्णालीमा दिनप्रतिदिन बढ्दै गएको परनिर्भरताको अन्त्य गर्न, जुम्लालाई आर्थिक समृद्धीको मार्गमा डो¥याउन, विकास निर्माण चुस्त बनाउन खबरदारी गर्ने, सत्य र निश्पक्षताका खातिर तथ्य सूचना र सत्य समचारका माध्यमबाट नागरिकलाई सक्षम बनाई सभ्य र शुसासनयुक्त समाज निर्माणको लक्ष्यका साथ ‘पलपलको तथ्य सूचना र सत्य समचारका लागि कर्णाली मिसन’ भन्ने सोलोगनका साथ आजदेखि हामी तपाईहरु माँझ आएका छौँ ।

२०७५ बैशाख १५ गते विमोचन भई कर्णाली पोष्ट दैनिक पत्रिका सञ्चालनको करिब पाँच वर्षको अनुभवबाट छापामाध्यमले अपेक्षित रुपमा नागरिकको सूचनाको भोक मेट्न नसकेको यर्थातलाई मनन गर्दै हामी अनलाईन पत्रकारिताको जग मजबुत गर्न आइपुगेका छौँ । सूचना तथा समाचारको सरल पहुँच नभएकै कारण हाम्रो समाजमा विभिन्न कुरिति विद्यमान छन् ।

जस्तो “बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन ।” भनेजस्तो नागरिक तहमा अझै अभिव्यक्ति स्वतन्त्रताको विकास हुन सकेको छैन् । त्यसैले पनि समाज रुपान्तरणका लागि सूचनाको पहुँच विस्तार गर्न तथा समृद्ध समाज निर्माणका लागि कर्णाली मिसनको उपस्थितिले एक इटा थप्ने हाम्रो विश्वास छ ।

तर्सथ यिनै समाजका बेथिती विरुद्ध वकालत गर्ने, आर्थिक, सामाजिक, राजनीतिक तथा विकास निर्माणलाई सहि मार्गमा ल्याउन निरन्तर खबरदारी गर्न कर्णाली मिसन एक बलियो माध्यम बनाएर हामी तपाईहरु माझ आएका छौ । कहिले पनि आग्रह र पुर्वाग्राहका रुपमा कलम चलाउने छैनौँ । अन्यायका विरुद्धमा बोल्दा हामीलाई कुनै पनि राजनीतिक दबाब र प्रभावले असर गर्ने छैन् । सधै आवाज विहिनका पक्षधर बन्नेछौँ ।

अन्तमा, पत्रकारिताका मूल्य, मान्यतालाई आत्मसाथ गर्दै सत्यलाई नलुकाई र तथ्य नछुटाई कर्णाली मिसनको अनवरत यात्रा जारी रहनेछ । प्रविधिको विकास सँगै संख्यात्मक रुपमा बढ्दै गएका अनलाईन संचार माध्यमको भिडमा कर्णाली मिसन डट कमको गुणात्मक उपस्थित हो । यो तथ्यलाई सार्थक तुल्याउनका निम्ति हामीलाई सहि मार्ग देखाउने, रचनात्मक सल्लाह सुझाब दिने, सम्पुर्ण जिम्मा आम पाठक वर्गलाई छोडेका छौँ ।

धन्यबाद ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस