कर्णालीमा अब आँखा उपचार सेवा विस्तार हुने

जुम्ला ः कर्णालीमा आँखा उपचार सेवा विस्तार हुने भएको छ । पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र तिलगंगा आँखा प्रतिष्ठानबीच समझदारी भएकोले आँखा उपचार सेवा विस्तार हुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा कर्णाली प्रदेशका नागरिकलाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगंगा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने उल्लेख छ । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा. सन्दुक रुइतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्र रोग उपचार विभागलाई सशक्त बनाउदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने समझदारी भएको बताए । आँखा उपचारका लागि अत्यावश्यक सबै प्रकारका आधुनिक स्वास्थ्य उपकरण र संरचना निर्माणमा सहयोग उपलब्ध गराउनेछौं,’ डा रुइतले भने, ‘कर्णाली प्रदेशका सवै नागरिकलाई सेवा उपलब्ध गराउने र त्यसमा पनि मोतिविन्दु, जलविन्दु तथा मधुमेहजन्य आँखाको समस्याको उपचारलाई सहज र सुलभ रूपमा सबैको पहुाचमा पु¥याउन हामीबीच सहकार्य हुनेछ ।’
स्वास्थ्यमन्त्री बस्नेतले उक्त समझदारीले कर्णाली प्रदेशकै जनताको आँखा उपचार सेवामा सहज पहुच पुग्ने विश्वास व्यक्त गरे । उनले आँखा उपचारका लागि रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता गरे ।
दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौ, स्वास्थ्यमन्त्री बस्नेतले भने,‘ मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा. मंगल रावलले तिलगंगा आँखा प्रतिष्ठानसँगको सम्झौताले आफूहरू उत्साहित भएको बताए । उनले भने सम्झौताअनुसार प्राप्त हुने आधुनिक स्वास्थ्य उपकरण उपलब्ध भए लगतै केही महिनामै सबै प्रकारका आँखासम्बन्धी उपचार सेवा सुरु गर्न प्रतिबद्ध छौँ ।
‘आँखासम्बन्धी उपचारका लागि अत्यावश्यक आधुनिक उपकरण खरिदका लागि पर्याप्त बजेट नहुनु र अन्य संघ संस्थासंग सहकार्य गर्ने अवसर नमल्निु नै ठुलो चुनौती थियो,’ उपकुलपति डा. रावलले भने, ‘तिलगंगासँगको सम्झौताले आँखा उपचारसँगै अध्ययन र अध्यापनका लागि अवसर सिर्जना गर्दै लग्ने अपेक्षा छ । ’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षदेखि आँखासम्बन्धी रोगको उपचार सेवा सञ्चालन भइरहेको छ । यद्यपि बजेट र विशेषज्ञ चिकित्सकको अभावमा सेवालाई विस्तार गर्न नसकिएको उनको भनाई छ ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस