कर्णाली प्रदेशको पत्रकारिताको इतिहास, विकासक्रम, योगदान तथा विभिन्न कालखण्डमा पत्रकारहरूले भोगेका अनुभवलाई समेटिएको ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ।
प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक विशेष कार्यक्रमबीच कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक, अनुसन्धानकर्ता तथा पत्रकारितामा सक्रिय व्यक्तिहरूको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो। पुस्तकले कर्णालीको पत्रकारिताको विगतलाई दस्तावेजीकरण गर्दै वर्तमान पुस्तालाई त्यसबारे जानकारी गराउनुका साथै भावी पुस्ताका लागि महत्वपूर्ण अभिलेखका रूपमा काम गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बालकृष्ण बस्नेतले नेपाली पत्रकारिताको इतिहास, अनुसन्धान तथा अभिलेखीकरणको महत्वपूर्ण काम कर्णालीबाट सुरु हुनु सकारात्मक विषय भएको बताए। कर्णालीजस्तो भौगोलिक रूपमा विकट क्षेत्रमा सीमित स्रोतसाधनका बाबजुद पत्रकारिता क्षेत्रको इतिहासलाई खोजी, अनुसन्धान र अभिलेखीकरण गरी पुस्तकका रूपमा ल्याउनु महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।
बस्नेतले कर्णाली केवल भौगोलिक विकटता र अभावको क्षेत्र मात्र नभई धर्म, संस्कृति, भाषा, परम्परा, इतिहास तथा सामाजिक जीवनका दृष्टिले समृद्ध क्षेत्र भएको उल्लेख गरे। यस्ता विषयलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी भावी पुस्तासम्म पुर्याउन पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए। उनका अनुसार कर्णालीको पत्रकारिताको इतिहासलाई दस्तावेजका रूपमा सुरक्षित गर्ने प्रयास भविष्यका अनुसन्धानकर्ता तथा पत्रकारका लागि समेत उपयोगी बन्नेछ।
पुस्तकका लेखक नवराज महताराले विभिन्न कठिनाइ, स्रोतसाधनको अभाव र अनुसन्धानका क्रममा आएका चुनौतीका बाबजुद पुस्तक तयार पारिएको बताए। कर्णालीको पत्रकारितासँग सम्बन्धित पुराना सामग्री, तथ्य, अनुभव र व्यक्तिहरूको योगदानलाई समेट्ने प्रयास गरिएको उल्लेख गर्दै उनले पुस्तकमा केही कमीकमजोरी रहन सक्ने स्वीकार गरे।
महताराले पुस्तक पहिलो प्रयास भएकाले यसमा रहेका कमीकमजोरीलाई आगामी संस्करणमा सुधार गर्दै लैजाने बताए। कर्णालीको पत्रकारिताको इतिहासलाई थप गहिराइमा पुगेर अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। उनले पुस्तक तयार पार्ने क्रममा सहयोग गर्ने अग्रज पत्रकार, लेखक, अनुसन्धानकर्ता तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरे।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य मनऋषि धितालले ‘कर्णालीको पत्रकारिता’ पुस्तकका विषयमा समीक्षात्मक टिप्पणी प्रस्तुत गरे। उनले कर्णालीको पत्रकारिताको विकासक्रमलाई बुझ्न पुस्तक महत्वपूर्ण सामग्री बन्न सक्ने बताए। पत्रकारिताको इतिहासलाई केवल व्यक्तिको स्मरणमा सीमित नराखी लिखित दस्तावेजका रूपमा सुरक्षित गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।
कार्यक्रममा कर्णाली क्षेत्रका अग्रज पत्रकार तथा लेखकहरूले समेत कर्णालीको पत्रकारितासँग जोडिएका आफ्ना अनुभव, संघर्ष र धारणा प्रस्तुत गरेका थिए। समीरजंग शाह, रुद्र खड्का, डा. मानबहादुर रोकाय, खेमराज वली, विद्याप्रसाद उपाध्याय, चेतनारायण पाण्डेय, मेगराज खड्का, चक्र दानी, लक्ष्मी केसी, राजबहादुर शाही र हरिहर न्यौपानेलगायतले कर्णालीमा पत्रकारिताको सुरुवात, विकास र त्यस क्रममा पत्रकारहरूले सामना गरेका विभिन्न चुनौतीका विषयमा आफ्ना अनुभव सुनाएका थिए।
वक्ताहरूले कर्णालीमा पत्रकारिता गर्न विगतमा स्रोतसाधन, सञ्चार प्रविधि, यातायात तथा सञ्चारमाध्यमको पहुँचलगायतका कारण अनेकौँ कठिनाइ रहेको स्मरण गरेका थिए। ती चुनौतीका बाबजुद कर्णालीका पत्रकारहरूले समाजका आवाजलाई सार्वजनिक बहसमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनीहरूको भनाइ थियो।
कार्यक्रमको सहजीकरण प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले गरेका थिए। उनले पुस्तक लेखन, सम्पादन तथा प्रकाशनका विभिन्न चरणमा संलग्न व्यक्तिहरूले गरेको मेहनतको स्मरण गर्दै पुस्तक प्रकाशनका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले पुस्तक प्रकाशनको सन्दर्भमा मन्तव्य राख्दै पत्रकारिता क्षेत्रको इतिहासलाई दस्तावेजीकरण गर्नु महत्वपूर्ण कार्य भएको बताए। उनले यस्ता प्रकाशनले पत्रकारिताको विगत बुझ्न र आगामी पुस्तालाई त्यसबाट सिक्न सहयोग पुग्ने धारणा राखे।
कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित कर्णालीका विभिन्न जिल्लामा पत्रकारिता गर्दै आएका पत्रकार, लेखक तथा कर्णालीको सामाजिक, सांस्कृतिक र ऐतिहासिक विषयमा कलम चलाउने व्यक्तिहरूको उपस्थिति रहेको थियो।
‘कर्णालीको पत्रकारिता’ पुस्तकले कर्णालीमा पत्रकारिताको सुरुवातदेखि यसको विकासक्रमसम्मका विभिन्न पक्षलाई समेट्ने प्रयास गरेको छ। कर्णालीका अग्रज पत्रकारहरूको योगदान, पत्रकारिताका क्रममा भएका संघर्ष, स्थानीय विषयवस्तुको उठान तथा समाजमा सञ्चारमाध्यमले खेलेको भूमिकालाई बुझ्न पुस्तक महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
कर्णालीको पत्रकारिताको इतिहास लामो समयसम्म व्यक्तिगत स्मृति र छरिएका सामग्रीमा सीमित रहँदै आएको अवस्थामा त्यसलाई पुस्तकका रूपमा अभिलेखीकरण गर्ने प्रयासले थप अनुसन्धानका लागि आधार तयार गर्ने देखिन्छ। पुस्तक सार्वजनिक भएसँगै कर्णालीको पत्रकारिताको इतिहासमाथि थप खोज, अध्ययन र अनुसन्धानका लागि समेत बाटो खुल्ने विश्वास गरिएको छ।




