जुम्ला । पातारासी गाउँपालिका वडा नं ६ की चुकि महतारा तरकारी खेती गर्न लागेको ३० वर्ष भयो । विगतमा गरिने परम्परागत खेती भन्दा केहि वर्षयता गरिएको व्यवसायी खेतीले महताराको आयआर्जनमा बृद्वी भएको छ ।
जुम्लाको मौसम सुहाउँदो खेती, रोग किरा निवारण, नर्सरी व्यवस्थापन, गोडमेल देखि बजारीकरण र वित्तिय साक्षरताको सिप र आबश्यक प्रविधि प्राप्त गरेपछि व्यवसायीक रुपमा तरकारी खेतीमा होमिएको उनी बताउँछन् ।
उनी भन्छन,´आमा बुबाले जन्माए, सधै गोठाला पठाए तर पढ्न लेख्न पढ्न पठाएनन् । सानैमा विहे गरे । पहिला तमाखु रोप्ने खेतमा तरकारी रोपेका छन् । आफुले खाने र विक्री गर्ने गरेका छौ । किर्डाक नेपाल र वल्डभिजनले सहयोग गर्दा धेरै सहज भयो । गाउँमा कृषि क्रान्तिनै सुरु भएको छ ।`
घोडेसिमकै रामकली बोहोराले तरकारी बेचेरै छोराछोरी पढाउने, घर खर्च चलाउने गर्दै आएकी छन् । गाउँमै आलु, प्याज, टमाटर, गाँजर उत्पादन गरेर बजारमा पुराउने उनको दैनिक हो । धेरै वर्षदेखि तरकारी खेती गर्दै आएपनि उनलाई कसरी बेच्ने, मुल्य तोक्ने, हिसाब राख्ने ज्ञान थिएन् ।
तर किर्डाक नेपाल मार्फत वित्तिय साक्षरता तथा बजारीकरण सिप पाएपछि अहिले सबै हिसाब आफै गर्छन् । उत्पादन लागत कति लाग्यो, खर्च कति भयो, आम्दानी कति भयो ? बचत कति गर्ने लगायतका विषयमा धेरै कुराको ज्ञान मिलेको बोहोराले उल्लेख गरिन् ।

व्यवसायीक तरकारी खेतीले महिलालाई आत्मनिर्भर मात्र बनाएको छैन् । पुरुषसह्र सक्षम पनि भएका छन् । विगतमा सामान्य खर्चका लागि पनि पुरुषको मुखताक्ने महिलाले अहिले उल्टै कमाएर श्रीमानलाई दिन्छन् । महिला किसान चन्द्रा बुढाभन्छन,´पहिला सबथोक श्रीमानकै भरमा चल्थ्यो । हामीले कमाएर ल्याउँदा पनि श्रीमानलाईनै दिनु पथ्र्यो । तर अहिले पुरुषहरु हामीबाट खर्च माग्छन् । घोडेसिमका महिला पहिला खर्च माग्थेउ, अहिले दिन्छौ ।`
अधिकांश पुरुष घरमा नहुने घोडेसिम गाउँ महिलाकै भरमा छ । चुकि, रामकली र चन्द्रा मात्र होईनन्, सिंहो घोडेसिम गाउँ व्यवसायीक कृषिमा होमिएको छ ।
वल्डभिजन तथा किर्डाकको सहयोगमा फूलबारी तरकारी उत्पादन समुह मार्फत घोडेसिमका महिला सामुहिक उत्पादन गर्ने, विक्री गर्ने, मासिक बचत गर्ने, कसैलाई गाह्रो अप्ठ्यारो पर्दा सहयोग गर्ने काम गर्दै आएका छन् । मंगलबार जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायको नेतृत्वमा घोडेसिमका महिलाको व्यवसायीक कृषिको अनुगमन गरिएको थियो ।

अनुगमनमा तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई, प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई लगायत सहभागी थिए । घोडेसिमका महिलाको कृषि ईलम प्रेरणादायी रहेको बताएका थिए । समन्वय प्रमुख आर्चायले पातारासी जुम्लाको अन्न भण्डार भएपनि उत्पादनको बजारीकरण अझै प्रभावकारी रुपमा हुन नसकेको बताए ।
संकलन केन्द्र स्थापनाको माग
पातारासीका महिलाले बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेपनि उचित बजार र मुल्य अझै पाउन सकेका छैनन् । विहानको झिसमिसेमै डोकोमा बोकेर बजारका कुना कुना पुग्ने बाध्यता अझै उस्तै छ ।
स्थानीय सुनिता बुढा उर्थुचौतारामा एउटा संकलन केन्द्र अनिवार्य हुनु पर्ने बताउँछन् । लामोसमयदेखि किर्डाक र पालिकालाई अनुरोध गरेपनि संकलन केन्द्र स्थापना नभएको उनिहरुको गुनासो छ ।
उत्पादन धेरै हुने, बजारीकरणका लागि डोकोमै बोकेर बजार पुग्नु पर्ने स्थितीले महिलाको कार्यबोझ समेत बढेको छ । उनले भनिन,´गाउँमै संकलन केन्द्र नभई महिलाले सुविस्ता पाउदैनन् । सिप प्रविधि सबै पाईसक्यौ तर उत्पादन गरेको बस्तु एकै चोटी बजारमा जादैन् । संकलन केन्द्र भएपछि सहज रुपमा बजारमा पुराउन सकिन्छ । यसमा सहयोगको अपेक्षा राखेका छौ ।`

किसान गिता बुढाले तत्काल संकलन केन्द्र स्थापना संगै हातेट्याक्टर मर्मत तालिम दिन समेत अनुरोध गरिन् । समुहका प्राप्त भएको मिनिटिलर प्रयोग बिहिन छन । मर्मत गर्ने सिप नहुँदा मेसिन थन्किएकाले मर्मत तालिम दिन आग्रह गरिन् । साथै जैविक मल उत्पादन तालिम र भम्रण अवलोकन समेत गराउन समेत माग राखेकी छन्।
यता वल्डभिजनका प्रतिनिधि भेष बहादुर रावलले संकलन केन्द्र बनाउन कुनै कठिनाई र लगानी अभाव नरहेको बताए । ´भवन बनाएर मात्र छोड्ने तर संचालनमा स्थानीयतहले ध्यान नदिने हो भन्ने बनाउनुको अर्थ छैन्`उनले भने,´हामी संकलन बनाउन तयार छौ । घोडेसिमका महिलाले लामो समयदेखि माग पनि राखेका छन् । तर संकलन केन्द्र संचालन सम्बन्धि नीति बनाउन पालिकाले ढिलाई गरेका कारण हुन सकेको छैन् । अब छिट्टै संकलन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाउँछौ । पालिकाको साथ जरुरी छ ।`
मल बनाउने तालिम, मेसिन मर्मत तालिम तथा अनुभव आदान प्रदान भ्रमणका लागि थप कार्यक्रम गरिने समेत प्रतिबद्वता गरे ।




