रारातालमा पुगे विभिन्न प्रजातीका ३९२ वटा साईबेरियन चरा (फोटो फिचर)

पर्यटयकको आर्कषणकेन्द्रसंगै पन्छीको आश्रय स्थल बन्दै रारा

जम्ला । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको कर्णाली प्रदेशको मुगु स्थित रारा तालमा छ महिनामा मात्रै ६ हजारबढी पर्यटक पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुष मसान्तसम्म रारामा ६ हजार ५५७ जना आन्तरिक र १५६ जना बाह्य कुल ६ हजार ७१३ जना पर्यटकले अवलोकन गरेका हुन् ।

सडक समस्या तथा होटलबास अभावकै बीचपनि रारामा पर्यटकको संख्या बढ्दो मात्रामा छ । पर्यटन पूर्वाधार अभावका बीचपनि रारातालमा पर्यटकको आगमन बढ्दै गएको छ । विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको रारा मान्छे पर्यटकका लागि मात्रै आर्कषणको केन्द्र छैन् । रारा ताल चरा पर्यटकहरुका लागि पनि आर्कषण गन्तव्य बनेको छ ।

रारा तालमा हरेक हिउँदको पुष र माघको महिनामा सयौको संख्यामा साईबेरियन चरा राराताल पुग्ने गरेका छन् । अत्यधिक चिसोका कारण साईबेरियाबाट चिसो छल्न विभिन्न प्रजातीका चराहरु रारा पुग्छन् ।

रारा तालमा पुगेको चराको रारा राष्ट्यि निकुञ्जले गणना गर्ने गरेको छ । विभिन्न रंग बद्लेर पर्यटकलाई मनमोहक पार्ने राराको सुन्दरतामा साईबेरियन चराको आगमन पनि पर्यटकका लागि थप आनन्द लिने माध्यम बनेको रारा राष्ट्यि निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

रारा पुगे ३९२ साईबेरियन चरा
नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा तालमा तीन सय ९२ वटा साईबेरियन चरा पुगेका छन् । साईबेरियाबाट चिसो छल्न तीन सय ९२ वटा चराहरु रारातालमा पुगेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए । निकुञ्जमा रहेका नेपाली सेना सहितका २४ जना जनशक्ति खटिएर चराको गणना गरिएको थियो ।

उनले भने,“चराहरुलाई ए देखि डी गुरुपमा विभाजन गरी गणना गरेका थियौ । ३९२ वटा विभिन्न प्रजातीका चरा आएका छन् । चराहरुले पर्यटकको भ्रमण अवलोकनलाई थप आनन्दीत बनाएको छ । यतिबेला रारा ताल घुम्न आउने पर्यटकले राराको सुन्दरतासंगै साईबेरियन चराको समेत अवलोकन गर्न पाउँछन् ।”

गणनाको विवरणनुसार मरुल १७८ वटा,कालीजुरे हाँस ८१ वटा,हरियो टाउके हाँस १ वटा,खोया हाँस ३ वटा,सुनजुरे हाँस ११७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा ३ सय ९२ वटा साईबेरियन चरा रारातालमा पुगेको गणनाबाट पत्ता लागेको निकुञ्ज प्रमुख घिमिरेले जानकारी दिए ।

उनका अनुसार रारा ताल दिउँदको समयमा पर्यटक संगै चराहरुको लागि निकै उत्कृष्ट गन्तव्य बनेको छ । साईबेरियामा नेपालका हिमाली जिल्ला भन्दा अत्यधिक चिसो हुने भएपछि प्राय हिउँदमा विभिन्न प्रजाती चरा रारा आउने गरेका छन् । विगतका तुलनामा यो वर्ष धेरै संख्यामा चरा आएका हुन् ।


५ किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको रारा तालमा बाह्रै महिना पर्यटक पुग्ने गरेपनि पूर्वाधार अभावका कारण रारा तालमा अपेक्षित पर्यटकको आगमनमा बृद्धि हुन सकेको छैन् ।

सन् २०१२ मा पहिलो पटक रारा तालमा वरपर २७२ प्रजातिका चराहरू रहेको रेकर्डमा उल्लेख छ । जसमा ४९ प्रजातिका जल पक्षीहरू छन् । रारा ताल पर्यटकको आर्कषण केन्द्र भएपनि पन्छीकाहरुका लागि आश्रय स्थलका रुपमा समेत रहेको निकुञ्ज प्रमुख घिमिरेको भनाई छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस