व्यक्ति नभइ मुलुक, व्यवस्था र जनता जोगाउन काम गर्दैछु : गृहमन्त्री

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ र उहाँका पुत्र रोहन श्रेष्ठले खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन माग गर्नुभयो । उहाँहरुले कुनैपनि राजनीतिक दलहरुको आग्रह र पूर्वाग्रहमा लागेर राजनीतिक उन्मुक्ति नदिन पनि गृहमन्त्री लामिछानेलाई खबरदारी गर्नुभयो ।

भेटमा रमिलाले अपराधीलाई राजनीतिक संरक्षणमा छोड्न नहुने बताउनु भयो । यसअघि पनि विभिन्न राजनीतिक दलहरुको संरक्षणमा पटकपटक छोडिएको भन्दै उहाँले अपराधीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले श्रीमान नपाए पनि अब न्याय पाउने आश लागेको बताउनु भयो ।

पीडित परिवारको भनाइ सुनिसकेपछि गृहमन्त्री लामिछानेले कुनै राजनीतिक दल र कुनै व्यक्तिको शक्ति हेरेर नभइ सत्यको आधारमा कारबाही गर्ने बताउनु भयो । उहाँले काम गर्न जटिलता भए पनि अपराधीलाई उन्मुक्ति नदिने बताउनु भयो । उहाँले कसैप्रति आग्रह, पूर्वाग्रह नराखिकन काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘हामीले कुनै राजनीतिक दल हेरेर, कुनै व्यक्तिको शक्ति कहाँ छ भन्ने हेरेर त्यो हिसावले होइन, हामीले न्याय के हो ? सत्य के हो ? त्यसमा काम गर्ने हो । केही जटिलता छ, काम गर्ने जटिलता छ, समाजमा जटिलता छ । एक जना फेरिने वित्तिकै सबै फेरिने त होइन । समय लाग्छ । इमान्दारीपूर्वक काम गरिरहेका छौँ । हामी सम्पूर्ण रुपमा अनुसन्धान गर्छौं । कसैप्रति आग्रह, पूर्वाग्रह छैन, हामीले सबैलाई कानुनको दृष्टिकोणबाट हेर्नेछौँ । हामीले व्यक्ति जोगाउने होइन, मुलुक र व्यवस्था जोगाउने हो । जनता, न्याय जोगाउने हो ।’’

गृहमन्त्री लामिछानेले व्यक्ति जोगाउने नभइ आफू मुलुक, व्यवस्था, जनता र न्याय जोगाउने काममा लागेको बताउनु भयो ।

गोरखापत्र अनलाइन
 

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस