जुम्ला । मार्सीधानको संरक्षण,उत्पादन बृद्धि तथा किसानलाई मार्सीधान खेतीमा आर्कषित गर्न जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित छुमज्युलोमा रोपाई महोत्सव गरिएको छ । विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने परिचय पाएको छुमज्युलोमा मार्सीधानको संरक्षण,उत्पादन बृद्धि तथा खेतीमा किसानलाई हौस्याउन वर्षेनी रोपाई महोत्सव हुदैँ आएको छ । विहिबार जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा छुमज्युलामै सरोकावालाले रोपाई महोत्सव मनाएका हुन् ।
किसानको निष्क्रीयताले माग र महत्व बढेपनि पातारासी ३ छुमज्युलोमा मार्सीधान खेती घट्दै गएको छ । खेती गर्ने समय जेठमा अधिकांश महिला पुरुषहरु पाटनतिर जडिबुटि संकलन गर्न जाने र खेतीमा चासो नदिने समस्याले मार्सीधान संगै अन्य रैथानेबालीको उत्पादन घट्दै गएको हो ।
कर्णालीका ४० पर्यटकीय गन्तव्यभित्र सूचीकृत भएको, विश्वकै अग्लो स्थानमा मार्सीधान उत्पादन हुने छुमज्युलोमा पछिल्लो समय मार्सीधान खेती घट्न थालेपछि खेतीमा किसानको आर्कषण संगै उत्पादन बढाउन तथा खेती विस्तार गर्न रोपाई महोत्सव गरिँदै आएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बताए ।

उनले भने,‘छुमज्युलो विश्कै अग्लो स्थानमा धानखेती हुने क्षेत्रका रूपमा गिनिज बुकमा समेत रेडर्क कायम भएको छ । सदरमुकामबाट सबै सरोकारवाला छुममा पुगेर रोपाँई महोत्सव गर्नुको अर्थनै किसानलाई खेतीमा प्रेरित गर्ने,मार्सीधानको संरक्षण तथा प्रर्बद्धन गर्ने हो । अझै खेतीमा आर्कषण नहुँदा छुमज्युलो बाँझिदै गएको छ । तर मार्सीधान,स्याउ,सिमि,ओखर लगायतका रैथानेबालीको संरक्षण र उत्पादन बढाउने हाम्रो प्रयास जारी छ ।’
मार्सीधानको संरक्षणका लागि कृषि विकास कार्यालयले वर्षेनिक महोत्सव गर्नुका साथै आबश्यक मल विउ,सिप,प्रविधि लगायतको सहयोग गर्र्दै आएको छ ।
समुद्री सतहदेखि २ हजार ८५० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलो विश्वकै अग्लो स्थानमा धान फल्ने एकमात्र क्षेत्र हो । उक्त ज्युलो ३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ एग्रो टुरिजमको प्रचुर सम्भवाना रहेको छ । तर खेती प्रति किसानको घट्दो आर्कषणले खेतीनै लोपहुने अबस्था पुगेकोले संरक्षणमा जुट्नु पर्ने कार्यालय प्रमुख देवकोटाको भनाई छ ।

करिब दुई तीन दशक पहिलासम्म पातारासी–३ छुम र हुरी महरी गाउँका करिब तीन सय ६४ घरधुरीका मुख्य आयस्रोत नै छुमज्युलो थियो । अहिलेको जस्तो बजारको खाद्यन्नमा आश्रित थिएनन् । तर पछिल्ला समयमा बजारको खाद्यन्न गाउँमै पाउने र जडिबुटि प्रतिको मोहले खेती गर्न अधिकांशले छोडेको छुम गाउँका स्थानीय कालो महतराले बताए ।
उनले भने,‘बजारमा सस्तो खाद्यन्न,जडिबुटि मोहले मात्र धानखेती घट्दो अबस्थामा छैन् । ज्युलोको उचित घेराबार छैन् । प्रयाप्त सिँचाई छैन् । उन्नत विउ विभजन मलको उस्तै अभाव छ । उत्पादित वस्तुको बजारीकरणमा उस्तै झमेला छ । सबै समस्याले गर्दा धानखेती घटेको हो । तर खेतीलाई बढाउन सबै जुट्नु पर्छ ।’
करिब ३६ हेक्टरमा फैलिएको छुमज्युलोबाट किसानको निष्क्रीयताले झण्डै ७० प्रतिशत भाग बाँझिँदै छ । हरेक वर्ष हुने रोपाई महोत्सव,जिल्लाका सरोकारवालाको भेला र कृषि कार्यालयको पृष्टपोषणले मार्सीधान खेती गर्न हौसला मिलेको किसान कलिमान महतारा बताउँछन् । छुम ज्युलोमा २०१४ सालदेखि धानखेती सुरु भएको हो ।

उनले भने,‘२०२१, ०२८ र २०३५ सालमा रोपनी दर्ता भएको थियो । २०३५ मा अन्तिम रोपनी दर्ता भएपछि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने क्षेत्रका रूपमा छुमचौर ज्युलो गिनिज बुकमा रेकर्ड कायम भएको हो । अहिले पूस्ताले वास्ता नगरेपनि पुरानो पुस्ता मार्सी खेतीमै निर्भर छ ।’
पातारासी–३ मा पर्ने छुमगाउँका २६० र हुरी गाउँका १०४ गरी ३६४ घरधुरीका किसानले छुमज्युलो भोगचलन गर्दै आएका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मार्सीधान सिंजा सभ्यता हुदैँ जुम्लाको एतिहासिक महोत्वसंग जोडिएकोले खेती विस्तार तथा उत्पादन बृद्धिमा लाग्नु पर्ने बताए । मार्सीधानको संरक्षण तथा किसान आर्कषित गर्नेखालका नीति निर्माणमा जुम्लाका आठै पालिकाले प्रथामिकता दिनुपर्ने प्रअिज घिमिरेको भनाई छ ।

यदपी,पातारासी गाउँपालिकाले करिब ११ करोड खर्चेर छुमचौर ज्युलोको दिगो विकास तथा मार्सीधान संरक्षणका लागि (डिपिआर) समेत तयार गरेको छ । डिपिआरमा छुमज्युलोमा सिँचाइ आयोजना, मन्दिर, होमस्टे २ वटा, हेलिप्याड र ४ वटा गेड निर्माण गर्ने उल्लेख छ । तर संघ प्रदेशबाट छुमचौर ज्युलाको संरक्षणमा बजेट विनियोजन नहुँदा ओझेलमा परेको स्थानीयको गुनासो छ ।



