जुम्ला : हिमा गाउँपालिका – ६ पाथरखोला गाउँका ७३ वर्षीय पद्म खत्रीको १० वर्षको उमेरमा विवाह भयो । सानै उमेरमा भएको विवाहले घरबार बन्न सकेन । उनले पछि दोस्रो विवाह गर्नुपर्ने अवस्था आयो । सानै उमेरमा भएको विवाह सफल नभएपछि २५ वर्षको उमेरमा दोस्रो विवाह गर्नु परेको उनले बताए ।
। उनले भने, अहिले तीन छोरा, तीन छोरी छन् । त्यतिबेला यो बालविवाह कुरै हुने गरेको थिएन । सानै उमेरमा विवाह गर्ने चलन थियो । कुनै केटीलाई केटाले मन परायो भने केटीलाई मरे पनि मन नपरेपछि सिधै केटाहरुको समुह गएर रक्चेर (उठाएर) ल्याउने चलन थियो । त्यतिबेला ऐन कानुन भन्दा पनि समाजका चेन ठुला भन्ने गरिन्थ्यो । ऐन कानुनको प्रवाह नै हुदैन थियो ।
त्यतिबेला भएको बालविवाहको पश्चताव अहिले हुने गरेको उनले बताए । बालविवाहले शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने रहेछ । विग्री सकेपछि अहिले चेत आएर गर्नु । बालविवाहले जीवनका असरका विषयमा छोराछोरी, नातीनतिना र छरछिमेकीमा सिकाउने गरेका छौँ, उनले भने । बालविवाह गर्नु नहुने रहेछ ।
सोही वडा पाथरखोला गाउँकी ४६ वर्षीया सम्झना शाहीले १५ वर्षको उमेरमा मेलामा घास काट्न गएका अवस्थामा त्यहीबाट छोपेर ल्याएर विवाह भएको हो । उनका दुई छोरा, एक छोरी छन् । उनले भनिन्, त्यतिबेला कुनै जानकारी थिएन । १५ वर्षको उमेरमा बालविवाह भएकै हो । बालविवाह गर्नु नहुने रहेछ । अहिले बालविवाहका असार र प्रभावका विषयमा थाहाँ पायौँ । छोराछोरीलाई बालविवाह नगर्न भनेर सुझाउने गरेका छौँ ।
पाथरखोला गाउँस्थित भानु माध्यामिक विद्यालय कक्षा ८ मा अध्ययनरत १२ वर्षीया स्वष्तिका शाहीले भनिन्, बालविवाह गर्न नहुने कुरा बुझेका छौँ । बालविवाहले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्य र शिक्षामा असर पर्ने भएकोले गर्न नहुने कुरा बुझेका छौँ ।
पहिलो पुस्ता र दोस्रो पुस्ताले बालविवाह गर्दा उहाँहरुले भोग्नु भएको दुख्ख पीडालाई पनि हामीले बुझेका छौँ । कानुन रुपमा पनि २० वर्षदेखि माथि पुगेपछि मात्रै विवाह गर्नु पर्दछ भन्ने बुझेका छौँ । बालविवाह गर्न नहुने कुरा सवै गाउँबस्तीमा पुगेर सचेतीकरण गर्नुपर्ने उनले बताइन् ।
‘बिहेबारी २० वर्षपारि’ भन्ने नारा नेपाल सरकारको नारा रहेको छ । यही नारालाई प्राथमिकतामा राखेर नेपाल सरकारले सन् २०३० सम्म बालविवाह मुक्त समाज बनाउने लक्ष्य लिएको छ । लक्ष्यमा पुग्नका लागि नेपाल सरकारका विभिन्न निकाय, गैरसरकारी संस्था र सामाजिक अभियन्ताले काम गर्दै आएको पनि देखिन्छ ।
२० वर्षमुनि विवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि समाजमा बालविवाह भइरहेको विभिन्न तथ्यांकले देखाउँछ । स्वास्थ्य संस्थामा २० वर्षमुनिका किशोरी गर्भजाँच तथा प्रसुति हुन आउने गर्ने भएकाले बालविवाह समाजमा हुने गरेको बुझिन्छ ।
यस अघि क्याड नेपाल जुम्लाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार तीन वर्षयता हिमा गाउँपालिकामा मात्रै एक हजार एक सय सात जनाको विवाह भएकोमा सात सय ५५ जनाको बालविवाह भएको देखिन्छ । कुल विवाहको ६८.२० प्रतिशत बालविवाह भएको तथ्यांकले देखाउँछ ।
यस्तै सिँजामा तीन सय एकजनाले विवाह गरेकोमा एक सय ८४ जना (६१.१२ प्रतिशत) ले बालविवाह गरेका छन्। कनकासुन्दरीमा तीन वर्षमा एक हजार ५३ जनाले विवाह गरेकोमा पाँच सय ७१ जना अर्थात् ५४.२२ प्रतिशतले बालविवाह गरेका छन् । प्लान नेपाल र क्याड नेपालले संयुक्त रूपमा सन् २०२० देखि बालविवाहको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आएका छन् । समाजमा बालविवाह भइरहे पनि न्यायिक निकायमा उजुरी आउने गरेको पाईदैन ।
प्लान नेपालको सहयोगमा हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह न्यूनिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गर्दै आएको आत्म सम्मानका लागि सहकार्य (क्याड) जुम्लाका सामाजिक परिचालक अधिकृत देवेन्द्र आचार्यले बताए । उनले भने, बालविवाह न्यूनिकरण गर्नका लागि अन्तर पुस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।



