बजेट भूगोल र जनसंख्याका आधारमा विनियोजन हुन सकेन्ः सांसद सेजुवाल

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् कान्तिका सेजुवालले सरकारले भूगोल र जनसख्ंयाका आधारमा बजेट ल्याउन नसकेको बताएकी छन् । आईतबार संसद् बैठकमा बोल्दै बजेट कार्यान्वयनमुखी नभएको भन्दै टिप्पणी गरिन् । साथै उनले राष्ट्रिय योजना आयोग खारेज गर्न प्रस्ताव राखेकी छिन् । योजना आयोग सरकारलाई निजी तर्जुमामा सघाउने उपल्लो निकाय हो ।

प्रतिनिधि सभामा भएको बजेट छलफलमा बोल्दै सांसद् सेजुवालले आगामी बजेटमा उल्टो यात्रा तय गर्ने थुप्रै विषयवस्तु रहेको तथा जनसंख्या र भूगोलको आधारमा विनियोजन नभएको दाबी गरिन् । यसैकारण अब नेपालमा राष्ट्रिय योजना आयोग किन राख्ने भनी सेजुवालले प्रश्न गरिन् ।

‘जनसंख्या र भूगोलको आधारमा राष्ट्रिय योजना आयोगले बजेट विनियोजन गर्नुपर्छ । तर खै त भूगोलको आधारमा बजेट विनियोजन भएको ?,’ सेजुवालले भनिन्, ‘त्यसैले अब नेपालमा राष्ट्रिय योजना आयोग किन राखिराख्नु प¥यो ? राष्ट्रिय योजना आयोग खारेज गर्दा हुन्छ । किन तलब खुवाइरहने ?’

आगामी बजेटले दिगो विकास लक्ष्य र नेपालको विकास अभियानमा योगदान गर्न नसक्ने तर्क गरेकी सांसद् सेजुवालले सस्तो लोकप्रियताका लागि बजेटमा मीठो फूलबुट्टा भरिएको टिप्पणी गरिन् । बजेट निर्माण गर्दा परिस्थितिको सामान्य विश्लेषण समेत गरेको नपाइएको उनको भनाइ छ ।

‘चालू आर्थिक वर्षमा राजस्व संकलनमा राखिएको लक्ष्य १४ खर्ब ७२ अर्ब मध्ये आज (आइतबार) सम्म ६०.८६ प्रतिशत अर्थात् ८ खर्ब ९६ अर्ब रुपैयाँमात्र उठेको छ । यसमा पनि वैदेशिक अनुदान लक्ष्यको ५.५ प्रतिशत मात्र उठेको छ । यसको अर्थ अहिले सरकारले ऋण लिएर ऋण तिर्ने अवस्था छ,’ सेजुवालले थपिन्, ‘यस्तो कठिन अवस्थामा सस्तो लोकप्रियताका लागि विभिन्न नाराहरूले भरिएको बजेट कार्यान्वयन हुने कुनै पनि स्पष्ट आधार छैन ।’

सरकारले बजेट र कार्यक्रममा राम्रो नारा दिएको, तर महत्वपूर्ण क्षेत्रमा उल्टै बजेट कटौती गरेको सेजुवालले बताइन् । एकातिर कृषि दशक घोषणा गर्ने र अर्कातिर कृषि मन्त्रालयको बजेट चालू आर्थिक वर्षका भन्दा २ अर्ब रुपैयाँले घटाइएको भन्दै उनले आक्रोश पोखिन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस