गण्डकीका मुख्यमन्त्री पाण्ड‍ेले पाए विश्वासको मत

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभा बैठकमा पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत  खसेको थियो। बैठकमा ५९ जना सहभागी थिए।

सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएको घोषणा गरे। मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका थिए। 

मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेस, राप्रपा, नेपाल समाजवादी पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए। 

सर्वोच्च अदालतको परमादेशअनुसार यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिएका हुन्। ६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ (सभामुखबाहेक),राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन्।

अन्नपूर्ण

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस