यार्चा खोजीमा लेक लागेर सात जनाको मृत्यु

कालिकाेट । यार्चा टिप्न डोल्पा आएकी रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ४, गोतामकोटकी २२ वर्षीया जमुना विष्टको जेठ १४ गते डोल्पो बुद्ध गाउँपालिकामा पर्ने पाखापानीको यार्चा पाटनमा मृत्यु भयो। लेक लागेर बिरामी भएकी उनको समयमै उद्धार र उपचार हुन नसक्दा मृत्यु भएको हो।

जेठ १४ गते नै शे–फोक्सुन्डो गाउँपालिकाको नाउरे पाटनमा जाजरकोटको बारेकोट गाउँपालिका– ७ का बमबहादुर बस्नेतको पनि लेक लागेर मृत्यु भयो। बस्नेतको पनि समयमै उद्धार हुन नसक्दा मृत्यु भएको थियो।

यार्चा टिप्न मुगुको मुगमकार्मारोङ गाउँपालिकाको पाटन पुगेका चारजनाको अघिल्लो साता लेक लागेर ज्यान गयो, जसमा छायानाथ रारा नगरपालिका–१२ शोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा र २४ वर्षीय राजबहादुर सावत थिए। जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुकै पाटनमा पुगेका जुम्लाको पातारासी गाउँपालिका– ३ का २६ वर्षीय सुर्ज रावतको पनि लेक लागेर ज्यान गएको थियो।

उल्लिखित घटना मात्र होइन, यार्चा टिप्न पाटन पुगेका नागरिकमध्ये हरेक वर्ष दर्जनौंको लेक लागेर मृत्यु हुने गरेको छ। तराई, पहाड र बेंसीमा बसोबास गर्ने नागरिकलाई हाइअल्टिच्युटका कारण पाटनमा लेक लाग्ने उच्च जोमिख हुन्छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यस वर्ष यार्चा टिप्न गएकामध्ये मुगुमा ६ र डोल्पामा ६ गरी १२ जनाले ज्यान गुमाएका छन् भने झन्डै एक सय यार्चा संकलक बिरामी परेका छन्।

प्रदेश प्रहरीका अनुसार तीन वर्षको अवधिमा यार्चा टिप्ने क्रममा कर्णालीमा ३९ जनाले ज्यान गुमाइसकेका छन्। कोरोना महामारीका बेला झन्डै दुई वर्ष यार्चा संकलनमा प्रतिबन्ध लगाइए पनि त्यसअघि बर्सेनि १५ जनासम्मको ज्यान गएको प्रहरी तथ्यांक छ।

तीन वर्षको अवधिमा यार्चा संकलनका क्रममा जाजरकोटका ८, मुगुका १०, डोल्पाका ९, रुकुम पश्चिम र जुम्लाका ६–६ जनाले ज्यान गुमाइसकेका छन्। सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा पनि मृतकको संख्या उत्तिकै छ।

दार्चुला र बझाङमा गत वर्ष मात्रै यार्चा संकलन गर्न गएका आठजनाको हिमपहिरोमा परी मृत्यु भएको थियो।

दार्चुलाको व्यास गाउँपालिकामा गत वर्षको वैशाख १९ मा गएको उक्त हिमपहिरोमा परी दार्चुला र बझाङका २–२ जना र डोटीका एकजनाले ज्यान गुमाएका थिए भने बझाङको सुर्मा गाउँपालिकाको धानसेरी हिमालमा गएको पहिरोमा परी तीनजनाको मृत्यु भएको थियो।

यार्चा संकलन गर्न पाटन पुगेकाहरूको मृत्यु भएका कैयौं परिवारको बिचल्ली त्यस्तै छ।गत वर्ष रुकुम पश्चिम आठबिसकोट– १ खदीका १९ वर्षीय कृष्ण नेपाली जेठ पहिलो साता यार्चा खोज्न डोल्पा पुगेका थिए। घर खर्च र पढाइ खर्च जुटाउन पाटन पुगेका कृष्णले त्यहीं ज्यान गुमाए। जेठो छोराको मृत्युपछि यतिबेला शारीरिक रूपमा अशक्त बाबु वीरजित र तीन भाइको बिचल्ली छ।

यस वर्ष डोल्पाका कागमारा, फूलबारी, धो, ताक्सी, सिसोल, नावरपानी, मुगुको कोइकी, रिमार, टाँकेलगायत पाटनमा झन्डै १५ हजार यार्चा संकलक पुगेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ।

नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार आर्थिक वर्ष २०७०/७१ मा नेपालका ११ जिल्लामा चार अर्ब ९२ करोडको यार्चा संकलन भएको थियो। यार्चाको बिक्रीवितरण र कारोबारको रकमको रेकर्ड विभिन्न निकायमा भेटिने गरेको भए पनि यार्चा संकलनका क्रममा ज्यान गुमाएकाहरूको हिसाब भने कसैले राखेका छैनन्।

आम्दानीको मुख्य स्रोत

मुगु र डोल्पाका बासिन्दाका लागि आम्दानीको मुख्य स्रोत मानिने यार्चा छिमेकी जिल्लाका नागरिकका लागि पनि मौसमी आम्दानीको बलियो माध्यम हो। यही कारण ज्यानको बाजी थापेर रुकुम पूर्व र पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, जुम्ला र हुम्लाका नागरिक यार्चा संकलन गर्न डोल्पाका उच्च हिमाली पाटनमा आउने गरेका छन्।

प्रहरीका अनुसार यो वर्ष मात्रै लेक लागेर सातजना यार्चा संकलकको मृत्यु भएको छ, जसमध्ये बाह्य जिल्लाका पाँचजना र डोल्पाकै दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

मानव स्वास्थ्यका लागि अमृतसमान मानिने र बहुमूल्य औषधि उपचारका प्रयोग हुने यार्चा कर्णाली प्रदेशको मुगु र डोल्पाका पाटनमा पाइन्छ। यो वर्ष मुगुको मुगुमकार्मारोङ गाउँपालिकाका २४ भन्दा बढी र डोल्पाका १०० भन्दा बढी पाटनमा यार्चा संकलन भइरहेको छ।

बहुमूल्य जडीबुटी यार्चागुम्बा डोल्पाली जनताको मुख्य आम्दानीको स्रोत हो।नेपालमै गुणस्तरीय र धेरै परिमाणमा यार्चागुम्बा पाइने क्षेत्रका रूपमा समेत डोल्पा चिनिन्छ।डोल्पाली जनताको जीवनस्तरसँग जोडिएको यार्चागुम्बाको संकलनका लागि बर्सेनि दशौं हजार सर्वसाधारण बन्दोबस्तीका सामानसहित डोल्पाका उच्च हिमाली यार्चागुम्बा पाटनमा पुग्ने गर्दछन्। प्रत्येक वर्षजस्तै यस वर्ष पनि डोल्पामा यार्चागुम्बाको महाकुम्भ मेला सुरु भएको छ।

यार्चागुम्बा संकलन गरी वर्षभरिको खर्च जुटाउने लक्ष्यसहित डोल्पाबाट मात्रै नभई छिमेकी जिल्ला रुकुम जाजरकोट, जुम्लालगायतका विभिन्न जिल्लाबाट पनि सर्वसाधारण डोल्पाका उच्च हिमाली भू–भागमा पुगेका छन् ।

नागरिक दैनिक

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस