प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएको छ । 

शुक्रबार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेश गर्ने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताएका हुन्।

उनले भने, ‘आज सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालको संविधान १०० को उपधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रस्ताव पेश गर्नुहुँदैछ। त्यसमा छलफल गर्‍यौँं। पार्टीबाट सरकारमा जानुभएका मन्त्रीज्यूहरूले आफ्ना काम कारबाहीबारे जानकारी गराउनु भयो। हामीले आज विश्वासको मत प्रस्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्यूको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्वीप पनि जारी गरेका छौं।’

बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल उनले जानकारी दिए।

देश सञ्चार

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस