जुम्ला । पातारासी गाउँपालिका वडा नं.७ का टेक बहादुर बुढाले लम्पी स्कीन रोगले सबै गाईगोरु मरेपछि गतवर्षबाट मौरी पालन थालेका थिए । ४० हजार लगानी गरेर ५ वटा मौरीका घार खरिद गरेका उनीसंग अहिले एउटा घार पनि छैन् । उमेरले पाँच दशक नाघिसकेका बुढाले दुहुना गाई र खेत जोत्ने गोरु मरेपछि सहज व्यवसायका रुपमा मौरीपालन गरेपनि उनलाई फापेन् ।
लम्पी स्कीन रोगले गाई गोरु सखाप गर्यो,चरण क्षेत्र अभाव र अज्ञात रोगले मौरी । उनी भन्छन,‘सहज होला भनेर मौरीपालन गरे । तर एक वर्ष नबित्दै ५ वटै घार रित्तिएर आम्दानी मात्र खोसिएको छैन् । अब केही गर्ने जाँगरनै हराएको छ । रोग किरा संक्रमण हुँदा,आपत विपद् पर्दा सहयोग गर्ने,सल्लाह सुझाव दिने कुनै सहयोगी निकाय नहुँदा व्यवसायमा फाईदा भन्दा जोखिम बढी छ ।’
त्यस्तै चन्दननाथ नगरपालिका–३ का बालकृष्ण उपाध्याय संग पनि एक वर्ष पहिले सम्म २५ वटा मौरीका घार थिए । मह बेचेर वार्षिक मनग्य आम्दानी पनि गर्दै आएका थिए । तर चरण क्षेत्र अभावले होकी,कुनै रोग लागेर १८ वटा घारका मौरी एकाएक मरेर अहिले ७ वटा घार मात्रै बाँकी छन् ।
उनी भन्छन,‘अज्ञात रोगले मौरी पालनमा ठुलो क्षति गरेपछि आम्दानी खोसिएको छ । २५ घार मौरीमध्य अहिले ७ वटा मात्रै छन् । मौरी निस्क्रीय हुदैँ जाने,मौरी र पोला दुबै कालो हुदैँ जाने जस्ता लक्षण देखिएका छन् । कसरी रोग निवारण गर्ने होला ? केही थाहा छैन् । व्यवसायबाट हात धुनुको विल्कप रहेन् ।’
टेक बहादुर बुढा र बालकृष्ण उपाध्याय जस्तै जुम्लाका सयौ मौरीपालन कृर्षक मौरी धमाधम मर्नथालेपछि चिन्तीत बनेका छन् । मौरीले परागशेचन गर्ने अर्थात फूल फूल्ने सिजनमै मौरी मर्न थालेपछि जुम्लामा मौरीपालन किसान र सरोकारवालाबीच बुधबार बृहत्त छलफल गरिएको छ ।

जुम्लामा हिउँदको समय प्राय चिसोले मौरी मर्ने गरेका छन् । तर पछिल्लो वर्षमा सबैभन्दा परागशेचन गर्ने मौरीले मह बनाउने सिजन जेठ देखी साउनको अवधिमा मर्न थालेपछि छलफल गरिएको हो ।
छलफलमा मौरी विज्ञ सत्तानन्द उपाध्यायले जुम्लामा अरुभन्दा चरण क्षेत्र अभावकै कारण मौरीपालन संकटमा परेको बताए । उनले भने,‘जुम्लामा मौरीका लागि प्रयाप्त चरण क्षेत्र छैन् । स्थानीयले फलफूल जन्य बाली रोप्नै छोडी सकेका छन् । हामीले मह निकाल्दा मौरीलाई चाहिने आहारनै नछोड्ने रित्याउने गर्दा पनि मौरीपालन संकटमा छ । साथै रोगको संक्रमण पनि देखीन्छ । यसको निवारण गर्न विज्ञ टोली ल्याउनै पर्छ ।’
केही वर्ष अघि जुम्लामा आएको एक विज्ञ टोलीले पनि जुम्लामा चरण क्षेत्र अभावकै कारण मौरी पालन संकटमा परेको बताएका थिए । किसान भने चरण क्षेत्र अभावले मात्रै मौरी मरेका हुन भन्ने पक्षमा छैनन् । विज्ञ टोली ल्याएर अध्यायन तथा हरेक वर्ष मौरी मर्ने रोगको निवारण हुनुपर्ने बताउँछन् ।
जुम्लामा वार्षिक २४ करोड भित्रिदै
जुम्लामा मौरीपालनबाट वार्षिक २४ करोड भित्रिने गरेको छ । मौरीपालन निरन्तर संकटमा परेपनि वार्षिक २४ करोड रुपैया मह बेचेर मात्रै जुम्लाको आम्दानी हुने गरेको छ । जुम्लामा २०६३ सालदेखी कर्णाली मौरीपालन सहकारी संस्था छ । जसले मौरीपालक किसानको हक हितमा काम गर्दै आएको छ ।
मौरी पालनबाट वर्षेनी करोडौ आम्दानी गर्दै आएको जुम्लाले महलाई लेवलिङ प्याकेजिङ गरेको खण्डमा विश्व बजारमा माग बढ्ने देखिन्छ । हाल प्रतिमानाको १५ सय सम्म विक्री हुने गरेको छ । माग बढेपनि उत्पादन घट्दै गएको छ ।
तर जुम्लामा हाल सम्म एकिन मौरी पालक किसान मौरी घार कति छन् भन्ने तथ्यांक छैन् । तर अनुमानित जुम्लाका आठै पालिकामा ८ हजार मौरीका घार रहेका छन् ।
जुम्लामा रहेका ८ सय मौरी घारबाट उत्पादित महको विक्रीबाट वर्षमा अनुमानित सरदर २४ करोड आम्दानी हुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव नायारण चौलागाईले बताए । उनका अनुसार मौरीपालनमा ७५ प्रतिशत क्षति हुँदा पनि बार्षिक रुपमा मह बेचेर जुम्लामा २४ करोड भित्रिने गरेको छ ।
मौरीपालनबाट वर्षेनी करोडौ भित्रिदै आएको र अझै आम्दानी बढाउने सम्भवाना भएपनि चरण क्षेत्र अभावले समस्या निम्तीदै गएको कृषि विकास कार्यालयका योजना अधिकृत लछिराम महतले बताए । मौरीपालनलाई बढवा दिन हरेक किसानले अनिवार्य ढटेलोको विरुवा लगायत अन्य फूल फल्ने अन्न लगाउन जरुरी रहेको छ ।
कर्णाली मौरीपालन सहकारी संस्थाले जिल्लाभरी मौरीपालन बढाउन स्थानीयतहलाई दबाब दिने सहकारीका अध्यक्ष दिप बहादुर मल्ले बताए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखीएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गर्ने बताए । साथै छलफलबाट जुम्लामा विज्ञ बोलाउने,आठै पालिकामा मौरी पालन क्षेत्रमा लगानी गर्ने नीति बनाउन दबाब दिने लगायतका निर्णय भएका छन् ।



