जात्रामय बन्यो जुम्ला !

जुम्ला । कर्णालीकै लामो तथा ठुलो जात्रा सुरु भएसंगै जुम्ला जात्रामय भएको छ । गत मंगलबारदेखी जात्रा सुरु भएपछि जुम्ला जात्रामय बनेको हो । हाल कामको सिजन नभएकोले दैनिक जात्रा हेर्न हजारौको भिड लाग्ने गरेको छ । हरेक वर्ष जनैपूर्णिमाको भोलीपल्टदेखी कृष्णजन्माअष्टी सम्म मनाईने करिब एक हप्ता लामो जात्राले जुम्लामा मनोरञ्जन संगै आर्थिक गतितिविधि पनि बढाउने गरेको छ ।

जुम्लामा वि.सं १९५३ सालबाट निरन्तर मनाउदैँ आएको जात्राले अहिले सम्म पनि निरन्तरता पाईरहेको छ । भदौ कृष्ण प्रतिपदाका दिनदेखी सुरु भएको जात्रा श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट लाखे काटेपछि मात्रै सकिन्छ । जात्रा संचालनसंगै आर्थिक गतिविधि पनि बढेको थोक तथा खुद्रा व्यापारी बताउँछन् । होटल व्यवसायदेखी साना खाजा पसल तथा फेन्सीहरुमा जात्रालागेसंगै बाक्लो भिड देखिएको छ । तुलनात्मक रुपमा जात्राअवधिभर राम्रो व्यापार हुने उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउँछन् ।

उनले भने,‘कामको सिजन नभएकोले जात्रामा स्थानीयको बाक्लो उपस्थिती छ । यसले बजार चलायमान बनेको देखिन्छ । गाउँबाट आउजाउ गर्दा सवारी साधनले पनि कमाएका छन् । भने लत्ता कपडादेखी दैनिक उपभोग्य वस्तुको किनबेच बढेको छ । जात्राले व्यापारी पनि उत्साहित देखिन्छन् ।’

कोरोनाकालमा दुई वर्ष पूर्ण रुपमा बन्द भएको जात्रा गत वर्षबाट निकै उत्साहका साथ मनाईने गरिएको छ । जात्रा हेर्न जुम्ला सहित मुगु,कालिकोट,दैलेख सुर्खेत र जाजरकोट लगायतका जिल्लाबाट आउने गरेका छन् । सातदिन सम्म लाग्ने जात्रामा पहिलो दिन गाई जात्रा,सानो पल्टन जात्रा, मिम बादशाह जात्रा र ठुलो पल्टन तथा बाघ भालु जात्रा लगायतका स्थानीय भाषा सांस्कृति झल्कीने झाँक्री समेत प्रदेश गरिने जात्रा व्यवस्थापन समितिका महासचिव आनन्द अधिकारीले बताए । उनका अनुसार गाईजात्रा,रोपाई जात्रा र पल्टन जात्रा प्रदर्शन भईसकेको छ ।

लिच्छविकालमा राजा प्रताप मल्लले पुत्र शोकले भाव विह्वल भएकी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाईजात्रा निकालेपछि गाई जात्रा मनाउन थालिएको किंवदन्ती छ ।

यता जात्राको समयमा भिडभाड हुने भएकोले आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरी सुरक्षा व्यवस्थालाइ मजबुद बनाइएको डिएसपी छेदिलाल कामतीले बताए । मंगलबारदेखी सुरु भएको जात्रा आगामी भदौ ११ गते समापन हुने छ ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस