पत्रकार तथा मानवअधिकारकर्मी रावल पुरस्कृत

जुम्ला – पत्रकार तथा मानवअधिकारकर्मी मानदत्त रावल पुरस्कृत भएका छन् । विगत डेढ दशकदेखि मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेर कलम चलाउदै आएका रावललाई स्व. दीपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार ०८१ ले सम्मान गरिएको हो ।

मानवअधिकारकर्मी तथा पत्रकार रावल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र नयाँ पत्रिका दैनिकमा आवद्ध छन् । यस्तै कर्णाली पोष्ट दैनिक र कर्णाली मिसन अनलाइन पत्रिकामा पनि आवद्ध छन् । उनी महिला बालबालिका, आर्थिक सामाजिक तथा सास्कृतिक अधिकारका साथै आधारभुत मानवअधिकारका सवालमा कलम यात्रा गर्दै आएका छन् । स्वस्थ्य सरसफाई, विकास निर्माणलगायतका क्षेत्रमा कलम चलाउदै आएका छन् ।

लामो समयदेखि भुईमान्छेका कथा व्यथा लेख्दै निमुखाहरुको आवाज बुलन्द गरेर आवाज विहीनहरुको अधिकार स्थापित गर्नको लागि भुमिका रहेकोले रावललाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए । उनले भने, उहाँलाई १० हजार रुपियाँ नगद राशीसहित सम्मान पत्र प्रदान गरिएको छ । थप क्रियाशिलताको प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

पछिल्लो समयमा यस्ता पुरस्कार तथा सम्मान गर्नका लागि निवेदन माग गरिन्छ । त्यो गलत भई रहेको छ । यो संगठन र त्यो संगठन भन्ने गरिन्छ । त्यसलाई चिर्दै हाम्रै गाउँ समाज काम गर्दै आएका व्यक्तिहरुलाई स्वमुल्यांक गरी मानवअधिकारकर्मी तथा पत्रकार रावललाई सम्मान गरिएको विश्लेषक तथा पुरुस्कार छनोट समितिका सदस्य रामसिंह रावलले बताए ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले भने, यस्ता सम्मान तथा पुरस्कारले पत्रकारिता क्षेत्रमा क्रियाशिलता ल्याउने गर्दछ । पत्रकारिता क्षेत्रमा काम गर्ने व्यक्तिहरुलाई यस्ता सम्मानले थप उर्जा मिल्छ ।

गाउँपालिका महासंघका केन्द्रीय उपाध्यक्ष तथा हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण शाहीले भने, लामो समयदेखि निश्पक्ष रुपमा मानवअधिकार तथा पत्रकारिता क्षेत्रमा रावल काम गर्दै आउनु भयो । यो सम्मान तथा पुरस्कारले थप क्रियाशिलता ल्याउने अपेक्षा गरिएको छ ।

यो पुरस्कार तेस्रो सस्करण हो । यसअघि जुम्लाका पत्रकार सागर परियार, विजय रावत, बाँकेमा अनिता विश्वकर्मा र कल्पना शाही पुरस्कृत भएको प्रतिष्ठानले जनाएको छ । स्वर्गीय दीप बहादुर स्मृती प्रतिष्ठानको अक्षयकोष स्थापनाका लागि आबश्यक सहयोग गर्ने चार जनालाई सम्मान गरिएको छ । जसमा प्रतिष्ठानको बृद्धि विकासमा उल्लेखीय भुमिका निर्वाह गर्ने पत्रकार सागर परियार,महेश नेपाली,समाजसेवी भरत नेपाली र विश्लेषक रामसिंह रावललाई प्रशंसापत्र प्रदान गरिएको हो ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस