जुम्ला – छायाँनाथ रारा नगरपालिका–६, मुन्दुकी ३२ वर्षीया चुनमति शाही दुई बालबच्चासहित जुम्ला पुगेकी छन् । उनी गत साउन महिनादेखि जुम्लामा बस्दै आएकी छन् । उनको साथमा पाँच वर्षीया छोरी खुशी शाही र चार वर्षीय छोरा लक्की शाही रहेका छन् । उनका पति ३२ वर्षीय गोर्खराज शाही छायाँनाथ रारा नगरपालिका–६, मुन्दुका गाउँको एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा ०८० कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेपछि दैलेख कारागारमा छन्
चुनमतिका पति हत्या आरोपमा दैलेख कारागारमा बन्दीमा परेपछि पत्नि चुनमति, छोरी खुशी र छोरा लक्की विचल्लीमा परेका छन् । गत साउन जुम्ला पुगेका चन्दननाथ नगरपालिका–४ जुम्लास्थित सिंगाचौरमा मन्नु सार्कीको घरमा आश्रय लिएर बस्दै आएका छन् । छोराछुरीको जन्मदर्ता र आफ्नो नागरिकता पनि नभएको चुनमतिले गुनासो गरिन् । उनले भनिन् – ’लामो समयदेखि भारतमा बस्दै आएका थियौँ । त्यसपछि बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, चिसापानीमा बस्दै आएको थियौँ । गत वर्षको कात्तिक २० गते पति पक्राउ परेपछि हामी यो स्थितिमा आइपुगेका हौँ । पति पक्राउ परी कारागार गएपछि बालबच्चाले पढ्न लेख्न त परै जाओस् राम्रोसँग खाना र लत्ताकपडा पनि पाएका छैनन् ।’ अहिले जुम्लाको एक होटलमा मजदुरी गर्दै आएको छु । सामान्य ज्याला मजदुरीको खर्चले बालबच्चालाई पालनपोषण लत्ताकपडा गर्न पनि मुस्किल भएको उनले गुनासो गरिन् ।
जुम्लास्थित कानुनी सहायता केन्द्रका वकिल नन्दबहादुर खत्री र इन्सेक जिल्ला प्रतिनितिले बालबच्चासहित विचल्लीमा परेको थाहा पाएपछि आवश्यक सहयोगका लागि चन्दननाथ नगरपालिका जुम्लाको महिला तथा बालबालिका शाखामा पहल गरेको छ । महिला बालबालिका शाखाका प्रतिनिधि कमला कठायतका अनुसार नगरपालिकामा बाल कोषमा रकम छ । सहयोगका लागि बैठक बस्ने र बैठकको निर्णय अनुसार आवश्यक सहयोग गर्ने कठायतको भनाइ छ ।
हत्या घटनाका आरोपित शाहीलाई ०८० कात्तिक २० गते सुर्खेतबाट र छायाँनाथ रारा नगरपालिका–६, मुन्दुका ३१ वर्षीय गोपाल बहादुरलाई कात्तिक २१ गते मुगुबाट गिरफ्तारपछि पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा रहेका छन् । मुद्दा फैसला हालसम्म भएको छैन । जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाकका अनुसार छायाँनाथ रारा नगरपालिका–६, मुन्दुका गाउँको २८ वर्षीया श्रीदेवी बोहरा, ११ छोरा वर्षीय मनोज बोहोरा, छोरी सात वर्षीया अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै ०८० कात्तिक १० गते हत्या भएको थियो ।



