सुत्केरी व्यथाले श्रीमती गुमाएका मुगुका लालबहादुर रावल लाई स्पेनबाट पुग्यो सहयोग

मुगु । भौगोलिक विकटता र स्वास्थ्य सेवाको अभावमा कर्णालीका ग्रामीण महिलाहरूले अझै पनि अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता कायमै छ। गएको भदौ महिनामा मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ८, रुमा गाउँका २९ वर्षीय लालबहादुर रावलको परिवारमा यस्तै एउटा कहिल्यै निको नहुने घाउ लाग्यो।

श्रीमतीलाई सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई बचाउन लालबहादुरले निकै ठुलो संघर्ष गर्नुभयो। विकट रुमा गाउँबाट सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल मुगु पुग्न झण्डै पाँच घण्टाको पैदल यात्रा गर्नुपर्छ। त्यो कहालीलाग्दो रात सुत्केरी व्यथाले छटपटाएकी श्रीमतीलाई स्टेचरमा बोकेर त्यहाँ नजिकैको तल तारापानी बजारमा ल्याइयो। त्यहाँबाट गाडीमा जिल्ला अस्पताल मुगु पुर्‍याइयो। तर, अस्पताल पुर्‍याए पनि अत्यधिक रक्तश्राव (PPH) का कारण डाक्टरहरूले बच्चालाई बचाउन सफल भए तर तर विडम्बना उहाँ आमा लाई बचाउन सकेनन् र उहाँको मृत्यु भयो।

श्रीमतीको असामयिक निधनपछि अहिले लालबहादुरको परिवारको बिचल्ली भएको छ। ११ महिनाको दुधे बालक, १४ वर्षका छोरा, १२ वर्षकी छोरी र घरमा वृद्ध आमाबुवाको पालनपोषणको जिम्मेवारी अहिले लालबहादुरको काँधमा छ। एकातिर श्रीमती गुमाउनुको गहिरो शोक, अर्कोतिर साना टुहुरा बालबालिका र वृद्ध आमाबुवाको व्यवस्थापनले रावल परिवार असाध्यै बेसहारा बनेको छ।

परम्परागत धार्मिक रीतितिथीका कारण लालबहादुर गाउँका ‘विजया धामी’ हुन्। सांस्कृतिक मान्यताअनुसार धामी भएपछि खोला तर्न नमिल्ने र मनलाग्दी एक घरबाट अर्को घर जान नमिल्ने जस्ता कडा नियमहरू छन्। कुनै रोजगारी नभएका र सामाजिक बन्देजका कारण गाउँघरमा श्रम गर्न समेत बाधा पुगेका लालबहादुर आफ्ना साना सन्तान र वृद्ध मातापितालाई कसरी पाल्ने भन्दै आँसु खसाल्छन्।

आफ्नो यो चरम संकटको बेला उनले सहयोगका लागि विभिन्न सङ्घसंस्था र आफ्नै ठाउँको स्थानीय गाउँपालिकासँग गुहार मागे। तर, कसैले पनि उनको पीडा सुनेनन्। अन्ततः उनले मुगुका पत्रकार रतन रावल लाई फोन गरेर आफ्नो अवस्था सुनाए। पत्रकार रावल स्वयं उनको घरमै पुगेर वस्तुस्थिति बुझे र एउटा भिडियो तयार पारे।

सोही दर्दनाक भिडियो सार्वजनिक भएपछि मुगु जिल्लाका समाजसेवी तथा अक्कल कोपिला फाउन्डेसनका संस्थापक अक्कल बहादुर बोहरा लाइ ध्यान आकर्षण भयो। हाल स्पेनको कोष्टा बलङ्कामा बस्दै आउनुभएका बोहरा यो दुःखद खबर सुन्नासाथ रावल परिवारको लागि भगवान् बनेर अघि सर्नुभयो।

फाउन्डेसनका तर्फबाट स्वयं घरमै पुगेर लालबहादुरको परिवारका ६ जना सदस्यहरूका लागि लत्ताकपडा, बालबालिकाका लागि शैक्षिक सामग्री, स्वास्थ्य सामग्री र खाद्यान्न लगायतका राहत सामग्रीहरू हस्तान्तरण गरिएको छ।

सहयोग पाएपछि भावुक बन्दै लालबहादुर रावलले भन्नुभयो, “कोही नहुनेको भगवान् हुन्छ भन्थे, हो रैछ। दुःखको बेला गाउँपालिका र संस्थाहरूले मेरो पीडा सुनेनन्, तर अक्कल बहादुर बोहरा ले मेरो घरमै राहत बोकेर उहाँका प्रतिनिधि पात्र हरुलाइ चाहिँ मेरो घरमा पठाउनुभयो। उहाँ मेरो र मेरा टुहुरा बालबालिकाको लागि साक्षात भगवान् बनेर आउनुभयो।”

कर्णालीका दुर्गम गाउँहरूमा अझै पनि समयमा उपचार नपाएर सुत्केरी आमाहरूले ज्यान गुमाउनुपर्ने र बालबालिकाहरू टुहुरा बन्नुपर्ने बाध्यतालाई यस घटनाले पुनः छताछुल्ल पारेको छ। यस्तो अवस्थामा अक्कल कोपिला फाउन्डेसनले गरेको यो मानवीय सहयोगले पीडित परिवारलाई ठुलो राहत मिलेको छ भने समाजमा ‘मानवता अझै जीवित छ’ भन्ने सन्देश दिएको छ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस