पातारासीमा जल कचहरी: जलस्राेतकाे संरक्षणमा जाेड

जुम्ला ।संघियतापछि बढ्दाे डाेजरे विकासकाे असरले संकटमा परेमा जलस्राेतकाे संरक्षण र प्रयाेगमा जाेदिन पातारासी गाउँपालिकामा ‘जल कचहरी’ काे आयाेजना गरिएकाे छ । जलस्राेतकाे संरक्षणका लागि हाल सम्म भएका अभ्यास,आगामी रणनीति तथा पातारासीमा रहेका स्राेतकाे विषयमा छलफल गर्न जल कचहरीकाे आयाेजना गरिएकाे हाे ।

कार्यक्रमका सहभागीले डाेजरे विकासलाई निरुत्साहित गर्दै जलस्राेतकाे संरक्षण र परिचालनमा जाेड दिएका छन् । अव्यवस्थित विकासका कारण पानीका मुहान सुक्ने समस्या चुलिदै गएकाेले मुहान संरक्षण,बृक्षाराेपण,वातारबण संरक्षणकाे कार्यमा जाेड दिन स्थानीयतहलाई नागरिकले सुझाएका छन् ।

किर्डाक नेपालद्वारा पातारासीमा संचालित सुमत्रा परियाेजनाले जलस्राेतकाे संरक्षणका लागि काम गर्दै आएकाे छ । परियाेजनाले गरेकाे अध्यायननुसार पालिका भित्र  ४ सय ९५ वटा पानीका स्रोत रहेका छन् । जसमध्ये ३ सय ६५ वटा पानीका स्रोत संचालनमा छन् । अव्यवस्थित विकास,वन फडानी वृक्षाराेपणकाे अभाव लगायतका कारणले पानीका मुहान सुक्न थालेकाेले केही वर्षमा पातारासीमा पानीकाे अभाव हुने संकेत देखिएकाे छ ।

त्यस्ताे समस्या निम्तिन नदिन र जलस्राेतकाे संरक्षण गर्न पातारासी गाउँपालिकाले  वातावरण ऐन ल्याईएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।

छलफलमा उठेका प्रश्नकाे जवाफ दिदैँ अध्यक्ष बाेहाेराले भने,’हाम्राे विकासले गतिविधिले पनि वातारबण मासिएकाे छ । अब सजग हुने बेला आएकाे छ । पानीका मुहान बचाउन ऐननै ल्याएका छाै । साथै  हिउँदे गाउँसभाबाट जलस्रोत तथा वन संरक्षण सम्बन्धि नीति ल्याईने छ । पातारासीमा कृषि जडिबुटिसंगै पानीका स्रोतबाट समृद्द बन्न सक्ने सम्भावना छ।’

त्यस्तै पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाले वनजंगलमा मानविय गतिविधि संगै डाेजर आतंक राेक्न पालिका सक्रिय हुनु पर्ने बताईन् ।  जलस्राेतकाे संरक्षणका लागि जल कचहरी जस्ता कार्यक्रम निरन्तर रुपमा हुनु पर्नेमा उनले जाेड दिईन् ।

पातारासीमा गत वर्षबाट सुमात्रा परियाेजनाले जल कचहरी गर्दै आएकाे छ  । सुमात्रा परियोजनाले जलस्रोत व्यवस्थापनका लागि सन् २०२३ फेब्रअरीबाट पातारासीमा परियोजना संचालन गरेको छ । पातारासी गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा जल उपभोग, मुहान संरक्षण, सरसफाई र स्वच्छताका क्षेत्रमा नीति निर्माण र दिगो व्यवस्थापनका क्षेत्रमा काम भएको किर्डाक नेपालका विनु चित्रकारले बताईन ।

सुमात्राकोे तथ्यांक अनुसार ७ वटा वडा भएको पातारासी गाउँपालिकमा पानीका स्रोत ४ सय ९५ वटा छन् । जस मध्ये १ सय २९ वटा मात्रै प्रयोगमा छन् । तर, ३ सय ६५ वटा मुहान प्रयोगमा छैनन् । 

कुल ४ सय ९५ पानी स्रोत भएको पातारासी भित्र २ वटा नदि २ सय ४१ वटा मुल, २ सय ३३ वटा साना खोल्सा र १९ वटा ठुला खोल्सा रहेका छन् । पातारासीमा कतिपय मुहान सुकेको र कतिपय सुक्दै गएको चित्रकारले बताउनु भयो । जल कचहरीमा सहभागि पातारासीका स्थानीयले ढल निकास र पानी ट्याङ्किको मर्मत गरिदिन माग गरेका छन् ।

पालिकामा निर्माण हुने खानेपानी, सिंचाईका आयोजनालाई दिगो बनाउनु पर्नेमा उनिहरुले जोड दिइएका छन् । खानेपानी तथा स्वच्छताका समस्या समाधान गर्दै पातारासी गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख पालिका बनाउन स्थानीयले सुझाव समेत दिएका छन् । जल प्रयोगसँग सम्बन्धित एकिकृत योजनाहरु निर्माणमा सहयोग गर्न सुमात्रा परियोजना पातारासीमा संचालन भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले वातावरण संरक्षण बिना जलस्राेतकाे संरक्षण गर्न मुस्किल हुने भएकाेले त्यसतर्फ पालिकाले ध्यान दिनु पर्ने बताए ।कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष चाैलागाईले अबकाे विकास वाताबरणमैत्री हुनु पर्नेमा जाेड दिए । पातारासीले जल,जमिन,कृषि र जडिबुटिमा लगानी गरे समृद्द पालिका बन्ने उल्लेख गरे ।

प्रकाशित मिति : २०८१ पुष १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस