जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं. ४ स्थित कर्णालीको नयाँ पर्यटकिय गन्तव्य गिडिदहलाई ‘पर्यटन सम्पदा’ सूचिमा समावेश गर्न मुख्यमन्त्री र पर्यटन मन्त्रीको ध्यानर्कषण गराइएको छ । शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री सुरेश अधिकारीलाई तातोपानी गाउँपालिका वडा नं. ४ का अध्यक्ष सहितको टोलीले ध्यानर्कषण गराएको हो ।
गिडिदह पर्यापर्यटन क्षेत्रलाई कर्णाली प्रदेश तथा संघिय सरकारको पर्यटन सम्पदा सुचिमा समावेश गर्न ध्यानाकर्षण गराइएको वडाध्यक्ष रोकायाले कर्णाली मिसनलाई बताए । वर्षौसम्म गुमनाम गिडिदहलाई बाहिर ल्याउन पालिकाले आफ्नो सक्ने जती गरिसक्यो ।
उनले भने,‘गिडिदहमा पर्यटक भित्रयाउन प्रयाप्त पूर्वाधार निर्माण तथा संघ र प्रदेशबाट विशेष प्रर्बद्धनको काम हुन आबश्यक छ । त्यसका लागि कर्णाली प्रदेश र संघिय सरकारले पर्यटन सम्पदा सूचिमा समाबेश गर्न माग सहित ज्ञापन पत्र बुझाएका छौ ।’
तातोपानीको मात्र नभई समग्र जिल्लाको आर्थिक समृद्धी,रोजगारी सृजनाको सम्भावना बोकेको गिडिदहको प्रर्बद्धनका लागि सबैको साँझा पहल तथा संघ प्रदेशको सकरात्मक सहयोग अपरिहार्य रहेको वडाध्यक्ष रोकायाले उल्लेख गरे । जुम्ला प्रदेश (क)बाट निर्वाचित सांसद देवेन्द्र बहादुर शाही,प्रदेश (ख)बाट निर्वाचित सांसद टेकराज पछाई,नेकपा एमालेका नेता धनकृष्ण पाण्डे,गैरसरकारी संस्था महासंघका अध्यक्ष टेक रावत लगायत जुम्लाका अगुवाहरुको सहभागितामा मुख्यमन्त्री र पर्यटन मन्त्रीलाई गिडिदह प्रर्बद्धनका लागि ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमा उल्लेख गिडिदहका मागहरु निम्मनुसार छन् ः
मुख्यमन्त्री र पर्यटनमन्त्रीलाई भेटेरै गिडिदहको प्रर्बद्धनका लागि वडाध्यक्ष अम्मर बहादुर रोकाया,सांसद टेकराज पछाई,देवेन्द्र बहादुर शाही सहितको टोलीले विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको छ ।
1.कर्णाली प्रदेशको पर्यटकीय सम्पदा सुचीमा पर्या पर्यटन स्थल गिडिदह लाई समावेश गरियोस ।
2.गिडिदह पर्यटकीय क्षेत्रको संरक्षणका लागि सो क्षेत्रलाई सिमसार क्षेत्रका रुपमा घोषणाका लागि पहल गरियोस ।
3.पानीको आयतन ७३,५०,३२३,९९ घन मिटर रहेको गिडिदह निकाशा क्षेत्रमा मेगावाट क्षमतामा बिद्युत उत्पादन को सम्भावना भएकोले सम्भाव्यता अध्यायन गरि बिद्युत उत्पादनको लागि गौरवको योजना बनाउन कर्णाली प्रदेश सरकारको ध्यान पुगोस ।
4.गिडिदह पर्या पर्यटकियको अवलोकनका लागि पुग्ने पर्यटकहरुको सहजकताको लागि हांकु त्रिवेणी हुदै गिडिखोला भलखोला–फुलचौल्या पाटन सम्म १० कि.मि. सडक बाटो निर्माणको लागि प्रारम्भिक वातावरणीय परिक्षण (आईई) अध्यायनको सहमती र आगामी आ.व.मा सडक निर्माणका लागि बजेटको व्यवस्थापन गरियोस ।
उल्लेखीत चार वटा मागको संबोधनका लागि प्रदेश सरकारको ध्यानर्कषण गराइएको छ । ज्ञापनपत्र बुझेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भनेको कुरालाई उद्रित गर्दै वडाध्यक्ष रोकायाले गिडिदहको पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकार सकरात्मक रहेको कुरा उल्लेख गरे ।
कर्णालीको समृद्धी पर्यटनबाटै सम्भव रहेको तथ्यलाई आत्मसाथ गर्दै नयाँ पर्यटकीय गन्तव्य गिडिदहको प्रर्बद्धनका लागि नीतिगत पहलदेखि बजेट विनियोजन गर्ने कुरामा कन्जुसाई नहुने मूख्यमन्त्रीको आश्वासन छ । पर्यटन सम्पदा सूचिमा समावेश गर्न प्रदेशको सबै सहयोग रहने र संघिय सरकारसंग पहल गर्ने मुख्यमन्त्रीले बाचा गरेका छन् ।
मुख्यमन्त्री कँडेलले स्थानीयतहले सक्ने काम स्थानीयतहले गर्नुपर्ने र प्रदेशको सामाथ्र्यले हुने काम आफुहरु गर्ने भन्दै सबै कामको लागि प्रदेशको मुख ताक्न नहुने उल्लेख गरे । साथै जुम्लामा कर्णालीकै तेस्रो ठुलो ताल गिडिदह रहेको कुरा समेत मुख्यमन्त्री,पर्यटन मन्त्री लगायत प्रदेश सरकारले थाहा पाएको छ । भने प्रर्बद्धनका लागि प्रदेश सरकार सकरात्मक रहेको समेत बताएका छन् ।
यस्तो छ गिडिदहको पुष्ठुभमिः
तातोपानी ४ को सिरानमा अबस्थित गिडिदह जुम्ला जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य र कर्णाली प्रदेशमा स्थित ताल, दहहरु मध्ये नापजाँचको आधारमा तेस्रो गहिरो दह मानिन्छ । गिडिदहको प्रमुख स्रोत भनेको बिष्टज्यू, बजेडीखोला, दुधवाडीखोला र दह भित्रबाट निस्कने मूलहरु हुन् भने समुद्री सतह देखी करिव ३४८५ मिटर उचाईमा अवस्थित गिडिदह कर्णाली राजर्माग ऐरेनी देखीको दूरी अनुमानित २९ कि.मि. रहेको छ ।
टाढाबाट दृष्यावलोकन गर्दा गिडिदह नेपालको राष्ट्रि झण्डा आकार जस्तै दुई भागमा विभक्त रहेको र वरिपरि घना वन जंगलले ढाकेको देखिन्छ । फुलचौल्या, लामाचौर, पानसय पाटन, माझपाटन, विष्टज्यू, हाँका बजेडी, धप्के धौलिगाढ, आदी यस क्षेत्रका प्रमुख पाटन तथा धार्मिक क्षेत्रहरु रहनुको साथै यार्चागुम्वा, पाँचऔले, जटामसि लगाएत विभिन्न प्रजातिका जडिबुटीहरु, खसु, भोजपत्र, लौठसल्ला, गोब्रे सल्ला जस्ता विभिन्न प्रजातीका बोटविरुवा र डांफे, कालिज, काडेभ्याकुर जस्ता चराहरु तथा लोपउन्मूख रेडपाण्डा, कस्तुरी, कालो भालु, थार, घोरल लगाएत प्रजातीका जंगली जनावरहरुको बसोवास भएकोले गिडिदह क्षेत्र प्राकृतिक छटा र जैविक सम्पदाको दृष्टिकोणले पर्या–पर्यटन क्षेत्रको रुपमा मानिने गिडिदहको उचित प्रर्वद्धन, संरक्षण र विकास हुन नसकि गुमनाममा रहेको अबस्था छ ।
गिडिदहको पहिचानका लागि तातोपानी गाँउपालिका जुम्लाले श्री राष्ट्रिय ताल संरक्षण विकास समिति, को सहकार्यमा काठमान्डौँ विश्व विद्यालयका वातावरण विज्ञ डा. सुबोधराज श्रेष्ठ, डा. रामदेवी ताजमो, (शाह) र डा. दिपनारायण शाह को टिमलाई परिचालन गरि गिडिदह क्षेत्रका क्षेत्रफल मापन कार्य गरि स्थानीय राजपत्रमा प्रकासन समेत भैसकेको छ ।
नापंजाच टोलीले पेश गरेको प्रतिवेदनका आधारम सो गिडिदह को अधिकतम् लम्बाई १५१० मिटर, सतहको क्षेत्रफल २९११ हेक्टर, अधिकतम् चौडाई ३१० मिटर, गहिराई ४२.८ मिटर, परिधि ६,४३० मिटर देखिनुको साथै पानीको आयतन ७३,५०,३२३,९९ घन मिटर र बार्षिक औषत वर्षा १३४३ मिलि मिटर र न्यूनतम् तापक्रम १४ डिग्रि सेल्सियस, अधिकतम् तापक्रम ८ डिग्री सेल्सियस भएको पाईएको छ ।
स्थानीय तहले गिडिदह पर्या पर्यटकीय क्षेत्रको पहिचान, प्रर्वद्धन, संरक्षण र विकासका लागि केही ईट्टा थप्न प्रयत्न गरेता पनी प्रदेश र संघिय सरकारको उचित ध्यान पुग्न नसकेको र कर्णाली प्रदेश भित्र रहेको प्राकृतिक छटालाई हाल सम्म प्रदेश सरकारको पर्यटकीय गन्तव्यहरुको सुचिमा पनि सुचिकृत हुन नसकेको दुखद परिस्थितीलाई अवगत गराउदै मुख्यमन्त्रीलाई प्रदेश तथा संघको पर्यटन सम्पदा सूचिमा राख्न माग गरिएको वढाध्यक्ष रोकायाले कर्णाली मिसनलाई जानकारी दिए ।