दुर्गमका दुख्ख : हुम्लामा बाटोमै सुत्केरी

सुत्केरी व्यथा लागेपछि गाउँकै स्वास्थ्यचौकीमा पु¥याइयो तर थप उपकरण र संसाधनको अभावले अस्पताल रिफर गरेकी भण्डारी बाटोमै सुत्केरी भइन्



हुम्ला – हुम्लामा एक गर्भवती महिलाले अस्पताल लैजाने क्रममा बीच बाटोमै सुत्केरी भइन् । सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षीया भन भण्डारीले आइतबार बिहान बाटोमै बच्चा जन्माएकी हुन् ।
सुत्केरी व्यथा लागेपछि भण्डारीलाई गाउँकै स्वास्थ्यचौकीमा पु¥याइएको थियो । तर, स्वास्थ्य चौकीले थप उपकरण र संसाधनको अभावका कारण उनलाई जिल्ला अस्पतालमा रिफर गरेको थियो ।
सदरमुकामको जिल्ला अस्पतालसम्म पु¥याउनको लागि उनलाई स्टेचरमा बोकेर लैजाने क्रममा उनले बाटोमै छोरीलाई जन्म दिइन् ।
ठेहे गाउँबाट सदरमुकाम सिमकोट पुग्न पैदल तीन घण्टा लाग्छ भने गाडीमा एक घण्टा समय लाग्छ । तर, केही दिनअघिको हिमपातले सिमकोट गाउँपालिका–३ स्थित मन्की खोलामा बरफ जमेपछि गाडी जान नसक्ने अवस्था सिर्जना भएको थियो । यसले गर्दा भण्डारीलाई स्टेचरमा बोकेर अस्पताल लैजानुपरेको थियो ।
“हामीले उनलाई स्टेचरमा बोकेर साढे एक घण्टा हिँड्यौं । तर, बीच बाटोको चुकेडी भन्ने स्थानमा बच्चा जन्मियो,” उनका आफन्त कृष्ण बोहराले भने, “अप्ठेरो बाटोमा साधारण मानिसले हिँड्न पनि गाह्रो हुने अवस्था छ । यस्तोमा स्टेचरमा सुत्केरी महिला बोक्नु हाम्रो लागि ठूलो चुनौती थियो ।”
सुत्केरी महिलालाई बीच बाटोमै बच्चा जन्माएपछि तत्काल स्थानीय स्वास्थ्यकर्मीले आवश्यक प्राथमिक उपचार गरेका थिए । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूलाई घर फर्काइएको छ ।
सदरमुकाम सिमकोटकै स्थानीयले समेत यस्ता समस्या भोग्नुपरेको गुनासो गरेका छन् । “गाउँमा स्वास्थ्य चौकी छ तर समयमै सेवा उपलब्ध हुँदैन । प्रसूति सेवा भनिए पनि उपकरण छैनन्, औषधि पाउन गाह्रो छ,” बोहराले भने ।
यसरी विकटमा अझै पनि आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुनु दुखद रहेको उनीहरूको भनाइ छ । हुम्लाका महिलाले सुत्केरी व्यथा लागेका बेला समयमा उचित उपचार नपाएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१ माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस