खडेरीले रोप्न पाएनन् जुम्लाका किसानले हिउँदे बाली

जुम्ला – लामो समयसम्म खडेरी पर्दा किसानले हिउँदे बाली रोप्न पाएका छैन । यहाँ विशेषगरी मंसिरदेखि माघसम्म हिउँदे बाली जौँ, गहँु आलु रोप्ने गरिन्छ । तर माघ महिनाको दोस्रो सातासम्म पनि पानी र हिउँ नपरेर लामो समयसम्म खडेरी पर्दा यहाँका किसानले हिउँदे बाली रोप्न नपाएका हुन् । कृषि क्यालेन्डरअनुसार हिउँदे सिजनका गहुँ, जौ मंसिरमा रोपिन्छ । हिउँदे बाली राम्रो उत्पादन हुन पुस–माघमा हिमपात हुनुपर्छ । पुसमा परेको हिउँले कृषि उत्पादन बढ्ने तथा स्याउ बगैँचालाई पर्याप्त सिँचाइ पुग्छ । तर यस पटक हिँउ नै पर्न सकेको छैन ।


जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार यहाँको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार चार सय ८६ हेक्टर जमिन खेतीयोग्य छ । खेतीयोग्य भूमिमा पनि सिञ्चित तीन हजार तीन सय ६४ हेक्टर र असिञ्चित (पाखो) २३ हजार ७१ हेक्टर रहेकोे छ । तर, अहिले २६ हजार चार सय ३५ हेक्टरमा मात्रै खेती भएको छ । जिल्लामा खेतीका लागि सिँचाइ सुविधा पुगेको भन्दा नहुने जमिन धेरै छ । सिँचाइ नहुने जमिनमा विशेष गरी कोदो, मकै, जौ, गहुँ, फापर, आलु, सिमी, चिनो र फलफूलतर्फ स्याउ, ओखर रोप्ने गर्द छन् ।
सिंजा गाउँपालिका – ४ माथिल्लो गोठीका किसान हरिबहादुर बुढाका अनुसार अहिले जुम्लामा हिउँ पर्ने सिजन हो । तर पानी पनि आएको छैन । हिउँ पनि पर्न सकेको छैन । भदौँ असोज महिनादेखि हिउँ पानी नपरेर लामो समयदेखि खडेरी परेको छ । उनले भने, यहाँका किसानले खडेरीका कारण हिउँ बाली पनि लगाउन पाएका छैनन् । सुख्ख खडेरीले यहाँका किसान निकै मर्कामा परेका छन् । लामो समयदेखिको सुख्ख खडेरीले यहाँको अन्नबाली र फलफुल उत्पादनमा कमि आउने देखिएको छ ।
खडेरीले एकातिर किसानले हिउँदे बाली लगाउन पाएका छैनन् । अर्काेतिर किसानले फलफुल स्याउ ओखरमा पनि मलजल पु¥याउन सकेको अवस्था छैन ।


पातारासी गाउँपालिका–७, रिनी गाउँका शेर बुढाले दुई–तीन वर्षयता समयमै हिउँ नपरेका कारण बाली नसप्रिएको बताए । उनले भने, ‘दुई–तीन वर्षपहिलेसम्म १०–१२ बोराका दरले आलु, मकै, जौ, गहुँ उत्पादन हुन्थ्यो । त्यसले चार–पाँच महिना परिवार पालिन्थ्यो । तर, पछिल्ला वर्षमा समयमै हिउँ नपर्नाले उत्पादन घटेको छ । ५–६ बोराभन्दा बढी उत्पादन बढ्दैन ।’ यस्तै, तातोपानी गाउँपालिका–२ का किसान दत्त बुढाले १४–१५ बोरा उत्पादन हुने मार्सी धान अहिले घटेर पाँच–सात बोरामा झरेको गुनासो गरे । राष्ट्रिय जनगणना ०७८ अनुसार जुम्लाको एक लाख १८ हजार तीन सय ४९ जनसंख्याका लागि २३ हजार दुई मेट्रिकटन खाद्यान्न आवश्यक भए पनि उपलब्धता भने ११ हजार पाँच सय ९१ मेट्रिकटन छ । ११ हजार चार सय ११ मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ ।


यस्तै जुम्लामा ४२ सय ५० हेक्टरमा स्याउखेती हुने गरेको छ । लामो समयदेखिको सुख्ख खडेरीले फलफुल खेतीमा पनि क्षति पुगेको प्रधानमन्त्री आधुनिकिकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका प्रमुख खेमराज शाहीले बताए । उनले भने, ६–७ वर्षअघिसम्म बर्सेनि पुसमा भारी हिमपात हुने कर्णालीमा पछिल्लो तीन–चार वर्षयता निकै कम हिमपात हुन लागेको छ । सामान्य परेको हिउँले बालीनालीलाई सिँचाइ नपुग्ने भएकोले पाखो असिञ्चित जमिनमा बालीनाली र फुलफुलका विरुवामा असर पर्ने गरेको छ । खडेरी र सिँचाइ नभएका कारण स्याउ उत्पानदनमा हरेक वर्ष ५० प्रतिशतसम्म कमी आएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस