जुम्लामा ३८ सय मेट्रिक टन कोदो उत्पादन

काटेर भण्डारणका लागि सुकाइएको कोदो । तस्बिरः सागर परियार

जुम्ला । कर्णाली समृद्धिको प्रमुख आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यकतामुखी राष्ट्रिय कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने सम्भावना छ ।उत्पादन बढाउने नीति उत्पादित वस्तुको बजार अभावले कर्णालीका खाद्यान्नबाली निर्यात हुन सकेको छैन । आफ्नै उत्पादनले ५÷६ महिना नपुग्ने कर्णाली आयातमै निर्भर छ ।

कृषिमा निर्भर कर्णालीको जुम्ला जिल्ला रैथानेबाली उत्पादनको केन्द्र हो । जुम्लामा थुप्रै किसिमका रैथानेबाली उत्पादन हुन्छन् । त्यसमा पनि हामी कोदोको उत्पादनको अबस्था,उत्पादन क्षेत्र लगायतका विषयमा बढी चर्चा गछौ ।

जुम्लाको रैथाने बाली भन्ने वित्तिकै मार्सी चामल,स्याउ सिमि ओखर भन्ने सबैको मुखमा झुण्डीन्छ । तर रैथाने बाली मध्य स्वादिष्ट र निकै स्वास्थ्यप्रर्बद्ध मानिने कोदोको बारेमा भने कमै परिचर्चा हुन्छ । यदपी ग्रामिण भेगमा पुग्दा कोदोको महिमा र महत्व उत्तिकै छ ।

खेती गर्ने आर्कषण घटेको हो,विगतको तुलनामा उत्पादन घटेको हो । तर महत्व अहिले पनि कायमै छ । किन की,जुम्लाका हरेक घरका किसानले अरु जेसुकै बालीनाली खेतीपाती गरेपनि एउटा खेतबारी भने कोदो रोप्न छुटाइएकै हुन्छन् ।
जसका कारण अपेक्षाकृत नभएपनि कोदो खेतीको निरन्तरता भने कायमै रहेको देखिन्छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांक अनुसार २०८१ म जुम्लामा २४ हजार मेट्रिक टन खाद्यान्न बाली उत्पादन भएको छ ।

जसमा कोदो मात्रै ३ हजार ८ सय ५० मेट्रिक टन उत्पादन भएको कृृषि विकास कार्यालय जुम्लाका प्रमुख राभक्त अधिकारीले बताए । उनका अनुसार ३८ सय ५० मेट्रिक टन कोदो उत्पादनको ठुलो हिस्सा जिल्लाको पातारासी गाउँपालिका र तिला गाउँपालिकाले ओगटेका छन् । त्यस क्षेत्रमा खेताली जग्गा धेरै नभएकाले लेकाली जग्गामा कोदोको खेती धेरै हुने गरेको छ ।

जिल्लामा सबै अन्नबालीको पकेट क्षेत्र निर्धारण गरिएको छ । कार्यालय प्रमुख अधिकारी भन्छन,‘अन्यबाली जस्तै कोदो खेतीको उत्पादन बढाउनका लागि ‘कोदो पकेट’ क्षेत्र निर्धारण गर्न आबश्यक छ । हामीले पटक पटक कोदो पकेट क्षेत्र विकासका लागि प्रदेशमा लेखेर पठाउने गरेपनि प्रथामिकतामा छैन् । यदपी स्थानीय सरकारहरुले त्यता तर्फ ध्यान दिएर कोदोको व्यवसायीक खेती गर्न जरुरी छ ।’

बिडम्बनाको कुरा, स्थानीयतहको प्रथामिकता कृषि उत्पादन बढाउने र आयात प्रतिस्थापन भन्दा पनि वाताबरणको बिनास हुने गरी जथाभावी सडक निर्माण गर्ने पक्षतिर बढी केन्द्रित भएका छन् । जसका कारण जुम्लामा प्रयाप्त मात्रामा उत्पादन हुने कोदो लगायतका रैथानेबालीको उत्पादन घट्दै गएको छ ।

कार्यालयका सूचना अधिकारी दिपक सिंह धामीका अनुसार २०८१ म यस वर्ष जुम्लामा पाँच हजार ९८७ मेट्रिक टनमात्रै धान उत्पादन भएको छ । जबकि गत आर्थिक वर्ष जुम्लामा ६ हजार ९३० मेट्रिक टन धान फलेको थियो । आव २०७९÷०८० मा ६ हजार ६७० मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी धामीले बताए ।

मकै १० हजार पाँच सय मेट्रिक टन, कोदो तीन हजार ८५० मेट्रिक टन, जौ तीन हजार ५१५ मेट्रिक टन, फापर ११० मेट्रिक टन, उवा १५ मेट्रिक टन, चिनो २४० मेट्रिक टन र कागुनो १४ मेट्रिक टन उत्पादन भएको छ । त्यस्तै दलहन बालीतर्फ सिमी, भटमास, गहततर्फ चार हजार ६० मेट्रिक टन उत्पादन भएको छ ।

विगतका वर्षको तुलनामा फापर, कोदो, मकै, उवा, चिनो, कागुनो लगायतका रैथानेबालीको उत्पादन घटेको छ । यद्यपि, माग भने बढेको बढ्यै छ । बजारको मागलाई मध्यनजर गर्दै जुम्लाका आठै पालिकाले उत्पादन सम्भावनालाई अध्ययन गरी कोदो खेतीको विस्तारमा ध्यान दिन आबश्यक छ । पकेट क्षेत्रका रुपमा लगानी गरेर मकै,कोदो लगायतका अन्न बालीको खेती विस्तारमा सरकारी लगानी बढाउन जरुरी रहेको अगुवा कृर्षकको माग छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस