
जुम्ला – चन्दननाथ नगरपालिकाले फोहोर जन्यबस्तुलाई पुनः प्रयोगमा ल्याएर मोहोरमा बदल्ने काम सुचारु गरेको छ । नगरभित्र संकलित प्लास्टिक र सिसाजन्य फोहोर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी मोहोरमा बदल्ने काम गरेको हो ।
नगरपालिकाले सिसा र प्लास्टिक जन्य फोहोरको वास्तविक अवस्था अध्ययन गर्न ०८१ पुस १४–१८ गतेसम्म सर्वेक्षण सञ्चालन गरेको थियो । प्रारम्भिक प्रतिवेदनका आधारमा नगरका होटल, कार्यालय, स्वास्थ्य संस्था, व्यवसायिक स्थल, धार्मिक स्थल, विद्यालय र घरधुरी गरी १६० वटा स्थानबाट फोहोर संकलन गरिएको थियो । तथ्यांक अनुसार, नगरका कुल फोहोर मध्ये ७९ प्रतिशत घरधुरीबाट, ९ प्रतिशत स्वास्थ्य संस्थाबाट, ७ प्रतिशत धार्मिक स्थलबाट र ५ प्रतिशत व्यापारिक क्षेत्रबाट फोहोर निस्कने गरेको देखिएको छ ।
्नगरपालिकाको शहरी क्षेत्रमा रहेका घरधुरीबाट दैनिक औसत १ केजी फोहोर उत्पादन हुने तथ्य फेला परेको छ । दैनिक ६ देखि ८ टन फोहोर उत्पादन हुने नगरपालिकामा १६ प्रतिशत फोहोर प्लास्टिकजन्य रहेको छ ।
नगरपालिकाले बैज्ञानिक महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्लास्टिक र सिसाजन्य बस्तु पुनः प्रयोग गर्नका लागि ८ लाख ९८ हजार ३५० रुपियाँ लागतमा उपकरण खरिद गरेको हो । गएको पुस पहिलो साता अपरेटर तालिम प्रदान गरिएको थियो । तालिम पश्चात दुई जना अपरेटरले नियमित रूपमा उपकरण सञ्चालन ल्याएका छन् ।
नगरभित्रको फोहोर व्यवस्थापन गर्न निकै कठिनाइ भोग्नु परेको थियो । नगरमा बढ्दै गएको फोहोरको उचित व्यवस्थापन गर्न विभिन्न ठाउँमा धाउनु परेको अवस्थामा महावीर पुनसँगको परामर्शपछि प्लास्टिक टुक्र्याउने मेसिन जुम्लामा ल्याउन सफल भएको नगर प्रमुख राजुसिंह कठायतले बताए । उनले भने, नगरवासीलाई फोहोरलाई वर्गीकरण गरी व्यवस्थापन गर्न आग्रह गर्दै घरभित्रका फोहोरलाई बाहिर निकाल्न र नगरपालिकाले त्यसलाई उपयोग गर्ने योजना बनाएको छ ।
प्लास्टिकजन्य फोहोरलाई कम्प्याक्ट बीम बनाएर थोरै ठाउँमा राख्न सकिने छ भने फर्निचर तथा अन्य पुनः प्रयोग योग्य सामग्री बनाउन सकिनेछ । प्लास्टिकजन्य फोहोरबाट हुने वातावरणीय प्रदुषणका विषयमा नगरवासीलाई सचेत बनाउने लक्ष्य रहेको नगर उपप्रमुख रामदेवि खड्काले बताइन् ।
उपकरण सञ्चालनमा केही चुनौती पनि देखिएका छन् । उपकरण सञ्चालन तथा मर्मत खर्चिलो छ । मर्मतका आवश्यक सामग्री जिल्ला बाहिरबाट ल्याउनु पर्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए । उनले भने, जनशक्ति र आधारभूत पूर्वाधारको अभाव रहेको छ ।
फोहोरमैला व्यवस्थापन शाखा प्रमुख लक्ष्मी चन्द्र न्यौपानेले नगरपालिकाले फोहोर व्यवस्थापनमा ठूलो लगानी गरे पनि राजस्व संकलनमा चुनौती रहेको बताए । उनले भने नगरपालिकाले लगानी र सेवा प्रभावकारी बनाइरहे पनि उठ्नुपर्ने राजस्व संकलन गर्न कठिनाइ भइरहेको छ । प्लास्टिक र सिसाजन्य फोहोरको संकलन र व्यवस्थापनलाई व्यवस्थित गर्न विशेष कार्यविधि आवश्यक रहेको बताए । फोहोर व्यवस्थापनमा हालसम्म, चन्दननाथ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ को फागुन २७ गतेसम्म २ लाख ५१ हजार ६ सय राजस्व संकलन गरेको छ ।
नगरपालिकाले प्लास्टिकजन्य फोहोर न्यूनिकरण गर्न विभिन्न उपाय अवलम्बन गर्ने योजना बनाएको छ । प्लास्टिक प्रयोग नगर्ने, गरेपनि कम गर्ने परिवारको तथ्यांक संकलन गरी तिनलाई प्रोत्साहन गर्ने, विद्यार्थीलाई प्लास्टिक संकलन गर्न प्रेरित गर्दै प्रति ५ केजी प्लास्टिकको विनिमयमा कापी तथा कलम उपलब्ध गराउने, अन्य नागरिकलाई प्रति केजी १० रुपैयाँ नगद वा नगरपालिका चिन्हयुक्त उपहार दिने योजना रहेको शाखा प्रमखु न्यौपानेले बताए ।
फोहोर पुनः प्रयोग प्लास्टिकबाट बेन्च र डेक्स निर्माण गरी सार्वजनिक स्थानमा राख्ने, प्लास्टिक न्यूनिकरण गर्न सचेतना अभियान सञ्चालन गर्ने, प्लास्टिक संकलन कार्यक्रम सञ्चालन गर्ने, ४० माइक्रोनभन्दा कम प्लास्टिकको बिक्रीवितरण र प्रयोगमा पूर्ण रोक लगाउने योजना रहेको छ ।