किसानलाई भेडापालन गोठालो भत्ता

यहाँका २३० जना किसानलाई १८ हजारको दरले भत्ता वितरण

जुम्ला- भेडा–बाख्रापालन यहाँको आयस्रोतको प्रमुख पेसा हो । ५० वटाभन्दा बढी भेडापालन गर्ने जुम्लामा ३१५ जना किसान पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सूचीकृत रहेका छन् । ५० भन्दा कम भेडा–बाख्रापालन गर्ने किसान पनि छन् । तर, सूचीकृत नभए पनि जुम्लामा भेडा मात्रै पाल्ने १७ सय किसान रहेका छन् । ८८ हजार तीन सय भेडाको तथ्यांक रहेको छ ।  

गुठीचौर गाउँपालिका– १ का किसान दलबहादुर बस्नेतको आम्दानीको प्रमुख पेसा नै भेडापालन हो । उनीसँग अहिले १५० वटा भेडा रहेका छन् । उनले भेडा बेचेरै घरखर्च चलाउने गरेका छन् । उनले पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले भेडापालक किसानलाई गोठालो भत्ता प्रोत्साहन भत्ता उपलब्ध गराउने थाहा पाएपछि निवेदन दिएका थिए । उनले अहिले १८ हजार प्रोत्साहन भत्ता (गोठालो भत्ता) प्राप्त गरेका छन् । उनले भने, ‘यो रकमले थप भेडापालन व्यवसायमा टेवा पुगेको छ । अहिले डेढ सय भेडा छन् । प्रोत्साहन भत्ताबापत पाउने रकमले भेडामा देखिने रोगको उपचार खर्चदेखि अन्य काममा सहयोग पुगेको छ ।’

आर्थिक अभावले व्यवसायलाई असर परेको थियो । सरकारको भेडापालक किसानका लागि भनेर आर्थिक सहयोग दिन थालेपछि थप व्यवसाय गर्न सहज भएको सिँजा गाउँपालिका– ६ का भेडापालक किसान सुवा रावतले बताए । सबैभन्दा बढी तातोपानी गाउँपालिका किसानले भेडा पालेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । 

जुम्लाका २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता वितरण गरिएको छ । यहाँका आठवटै स्थानीय तहका भेडापालक किसानलाई ५० भन्दा बढी भेडा पाल्ने किसानलाई प्रोत्साहन भत्ता प्रदान गरिने पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाल प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए । 

जिल्लाका भेडापालक किसानलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट यो चालू आर्थिक वर्षका लागि ४५ लाख रुपैयाँ प्रोत्साहन भत्ता कार्यक्रमका लागि बजेट विनियोजन भएको छ । मन्त्रालयको कार्यविधिअनुसार फर्म दर्ताको प्रमाणपत्रसहित करचुक्तासम्बन्धी वडाको सिफारिस, कार्यालयबाट भएको अनुगमनको आधारमा यहाँका करिब २३० जना भेडापालक किसानलाई १८ हजारका दरले प्रोत्साहनस्वरूप भत्ता वितरण गरिएको कार्यालय प्रमुख बुढथापाले बताए । 

भेडापालक किसानलाई प्रोत्साहन भत्ता कार्यक्रमले जिल्लाका किसानलाई निकै राहत मिलेको छ । कार्यक्रम लागू भएदेखि भेडापालक किसानसमेत बढेका छन् । जिल्लामा भेडा मात्र पाल्ने किसान करिब १७ सयभन्दा बढी रहेका छन् । यहाँका आठवटै स्थानीय तहमा ८८ हजार तीन सयभन्दा धेरै भेडा पालिएका छन् । कार्यालय प्रमुख बुढथापाले भने, ‘भत्ता पाएपछि किसानलाई थप हौसला मिलेको छ ।’

भौतिक संरचना निर्माणदेखि खर्क सुधार कार्यक्रम र चरन क्षेत्र विस्तारमा समेत कार्यालयको विशेष प्राथमिकतामा परेको छ । अहिले भेडालाई चरन क्षेत्र अभाव र रोगको संक्रमण फैलिने डर छ । स्थानीय तहले पशु तथा पन्छी क्षेत्रमा बजेटको व्यवस्थापन गर्न नसकेको कार्यालय प्रमुख बुढथापाको भनाइ छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस