
जुम्ला । सुर्खेतको रेडियो नेपाल नजिकै हिमा गाउँपालिका–४, तलिकडू निवासी ५५ वर्षीय कालिबहादुर बुढाको सवारी दुर्घटनामा मृत्यु भएपछि स्थानीयले शान्तिपूर्ण आन्दोलन सुरु गरेका छन्।
मिति २०८२ वैशाख ७ गते आइतबार बिहान करिब ६ बजे ठर्णाली प्रदेश ००१ ख ९१५ नम्बरको गाडीले सुनियोजित रूपमा ठक्कर दिँदा बुढाको घटनास्थलमै मृत्यु भएको पीडित पक्षको आरोप छ।
स्थानीयका अनुसार, गाडी सञ्चालक समितिले पीडित परिवारलाई बेवास्ता गर्दै अटेरी गरेको छ। यसैको विरोधमा हिमा, जुम्ला र कालिकोटका बासिन्दाहरूले हिमा गाउँपालिका–१ निवासी छत्र शाहीको संयोजकत्वमा शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । मंगलबार जुम्ला-नाग्मकाे सिमा क्षेत्रकाे पुलमा आन्दाेलन गरेका छन् ।
आन्दोलनकारीहरूले पीडित परिवारलाई राहत र न्याय नपाएसम्म उणोली राजमार्गको नाममा सडक खण्ड अवरुद्ध गर्ने निर्णय गरेको हिमा गाउँपालिका १ का वडा अध्यक्ष रतन बहादुर शाहीले बताए।
आन्दोलनकै क्रममा जिल्ला प्रशासन कार्यालय सुर्खेतले पीडित परिवारका सदस्यसहित अन्य आन्दोलनकारीहरूलाई गिरफ्तार गरेको भन्दै स्थानीयले घोर भर्त्सना गरेका छन्।
आन्दोलनलाई व्यवस्थित गर्न एक आन्दोलन समिति गठन गरिएको छ, जसले पीडितलाई न्याय दिलाउन र राहत प्रदान गर्न दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।
स्थानीयले प्रशासनसँग दोषीमाथि कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहतको व्यवस्था गर्न माग गरेका छन्। आन्दोलनले सडक अवरुद्ध हुँदा उक्त क्षेत्रमा आवागमन प्रभावित भएको छ।
यस विषयमा थप जानकारीका लागि सम्बन्धित पक्षहरूसँग सम्पर्क गरी स्थिति सामान्य बनाउन स्थानीय नेतृत्व र प्रशासनबीच वार्ता भइरहेको बताइएको छ।